१० फाल्गुन २०८१, शनिबार | February 22, 2025

देशैभर भाइरल ज्वरो र रुघाखोकीको प्रकोप उच्च


February 13, 2025
996
Shares

काठमाडौं,१ फाल्गुन । देशव्यापी रूपमा भाइरल ज्वरो र रुघाखोकीका बिरामी गत वर्षभन्दा २५ प्रतिशतले वृद्धि भएको स्वास्थ्य संस्थाहरूको तथ्यांकले देखाएको छ ।

गत वर्ष पुस महिनाको तेस्रो सातासम्म देखिने भाइरलका बिरामी र यो वर्ष देखिएका बिरामीको तथ्यांक हेर्दा २५ प्रतिशतले वृद्धि भएको कान्ति बाल अस्पतालका बालरोग विशेषज्ञ डा। रामहरि चापागाईंले बताउनुभयो । उहाँका अनुसार सिजन परिवर्तनमा रुघाखोकी, ज्वरो आउने हुन्छ । तर, यो वर्ष विगत वर्षहरूमा भन्दा धेरै बिरामी ओपीडीमा आएका छन् । यति बेला नेपालका अधिकांश अस्पतालमा भाइरल ज्वारो र रुघाखोकीका बिरामीको चाप बढेको छ ।

बिरामी हुनेमा विशेष गरी बालबालिकाहरू बढी रहेका छन् । बालबालिकासँगै अभिभावक र उच्च जोखिमा रहेको समूहमा पनि यो समस्या देखिएको छ । हरेक विद्यालयमा दिनकै विद्यार्थी बिरामी भएर घर फर्कने र अस्पतालमा ओपीडीमा जचाउन आउनेको संख्या दिनदिनै बढ्दो छ । कुन टाइपको भाइरल भन्ने विषयमा अहिलेसम्म अध्ययन अनुसन्धान भने भएको छैन ।

त्यस्तै, धुलिखेल अस्पतालका बाल रोग विशेषज्ञ डा। नारायण श्रेष्ठले धेरै बालबालिका ज्वरो र रुघाखोकीको समस्या लिएर अस्पताल आउने गरेको बताउनुभयो । उहाँले यसलाई कमी ल्याउन या सुधार गर्न सरकारले हाल देखिएको भाइरल कुन टाइपको हो भन्ने विषयमा अनुसन्धान गर्नुपर्ने र सोहीअनुरूपको उपचार विधि अपनाउनुपर्ने बताउनुभयो ।

उहाँका अनुसार महामारीको रूप लिएपछि मात्र सरकारको ध्यान जाँदा उपचारमा निकै ढिला हुनुका साथै स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाले धान्नै नसक्ने अवस्था आउन सक्छ । जसरी कोभिड–१९ मा सचेतना फैलाएर हरेक व्यक्तिले आफ्नो सुरक्षाका लागि के के अपनाउने भन्नेबारेमा जानकारी पाए त्यसरी नै हरेकखालका रोगमा नागरिकलाई सचेत गराउने दायित्व राज्यको हो ।

डा।चापागाईंका अनुसार बिरामी हुनेमा बालबालिका बढी रहेका छन् । यसको प्रमुख कारण बालबालिकाहरू विद्यालय जान्छन्, समूहमा बस्छन्, समूहमा खेल्छन् र एक जनालाई भाइरल ज्वरो, रुघा, खोकी लागेको छ भने एकैपटक ठूलो समूहमा फैलन सक्छ । यस्तो अवस्थामा बिरामी बालबालिकालाई विद्यालयमा छुट्टी दिने र अरूलाई स्वास्थ्य सुरक्षा अपनाउनुपर्छ । विद्यालयमा धेरै बालबालिका एकैपटक बिरामी भए भने विद्यालयले विकल्पको खोजी गर्नुपर्ने हुन्छ ।

यता इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका भाइरल रोग विशेषज्ञ डा। मुकेश पौडेल भन्नुहुन्छ– ‘भाइरलका बिरामी विद्यार्थीको चाप बढ्यो भने विद्यालय सञ्चालकहरूले पनि बालबालिकाको सरसफाइ, स्वास्थ्य सुरक्षाका लागि माक्स लगाउने, तातोपानी बारम्बार पिउने, सरसफाइमा ध्यान दिने र समूहमा भेला हुनबाट रोक्नेजस्ता काम गर्नुपर्छ ।’ पुसको तेस्रो साताबाट बढेको भाइरल ज्वरो, रुघाखोकी निकै छिटोछिटो बढ्दै गएको छ । रोकथामका लागि घरपरिवार, विद्यालय र सरकारले बालबालिकालाई सचेत गराउनुपर्ने देखिन्छ । नेपालको वातावरण परिवर्तनसँगै काठमाडौं, भक्तपुर, काभ्रे, पोखरा, चितवन, भैरहवालगायत सातै प्रदेशमा भाइरलका बिरामीको चाप बढेको छ ।

उहाँका अनुसार ह्यान्ड फुड एन्ड ¥यासजस्ता समस्या पनि देखिएकाले बालबालिकाको सुरक्षाका लागि विशेष ध्यान दिनुपर्छ । यसका साथै उच्च जोखिममा रहेको समूहमा रोग लागेका व्यक्ति सम्पर्कमा जानुहुन्न । कुनै पनि व्यक्तिलाई रोग लागेको छ भने अरूलाई अर्थात् उच्च जोखिममा रहेका बिरामी, बालबालिका, गर्भवती, दीर्घरोगीको छेउछाउमा नजाने, स्वास्थ्य सुरक्षा अपनाउनका लागि मास्क लगाउने, भीडभाडमा नजाने, ताजा र सफा खाना खाने ।

हातको सरसफाई राम्रोसँग गर्नेजस्ता कार्यहरू स्वास्थ्य सुरक्षाका उपाय अपनाउनुपर्छ । यसका साथै घरपालुवा जनावर, तथा पशुपक्षीलाई छोएपछि राम्रोसँग हात धुने, माछा मासु राम्ररी पकाएर खाने, फलफूल, सागसब्जी राम्रोसँग पखालेर मात्र खाने गर्नुपर्छ । देशव्यापी रूपमा समय परिवर्तनसँगै आउने भाइरल ज्वरो, रुघाखोकी, आँखा पाक्ने समस्या देखिएकाले नागरिकले अपनाउनुपर्ने सुरक्षा समयमै अपनाउन रोगको चाप बढेको बेला बालबालिकालाई निको नभएसम्म विद्यालय नपठाउने, चिकित्सकको सल्लाह र परामर्श लिनेजस्ता काम गर्नुपर्ने डा। पौडेल बताउनुहुन्छ ।

स्वास्थ्य सुरक्षाका उपायहरू

उच्च जोखिममा रहेका बिरामी, बालबालिका, गर्भवती, दीर्घरोगीको छेउछाउमा नजाने, स्वास्थ्य सुरक्षा अपनाउनका लागि मास्क लगाउने, भीडभाडमा नजाने, ताजा र सफा खाना खाने, हातको सरसफाइ राम्रोसँग गर्ने, घरपालुवा जनावर, तथा पशुपक्षीलाई छोएपछि राम्रोसँग हात धुने, माछा मासु राम्ररी पकाएर खाने, फलफूल, सागसब्जी राम्रोसँग पखालेरमात्र खाने गर्नुपर्छ । समाचारपत्र

प्रतिक्रिया