सभापति कपको फाइनल आज, उपाधिका लागि सङ्कटा र बागमती भिड्दै
काठमाडौँ,१७ माघ । नेपाली काँग्रेस लोकतान्त्रिक खेलकुद सङ्घ महाधिवेशन निर्देशन समितिको आयोजनामा राजधानीमा जारी पहिलो संस्करणको सभापति कप फुटबलको फाइनल खेल आज हुँदै छ ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा साँझ साढे ५ बजे सुरु हुने खेलमा ए डिभिजन क्लब सङ्कटा र आयोजकले बनाएको लोकतान्त्रिक खेलकुद सङ्घ बागमती प्रदेश (बागमती)बिच प्रतिस्पर्धा हुने छ । माघ १० गतेदेखि सुरु भएको प्रतियोगितामा ८ टिमले सहभागिता जनाएका थिए । पहिलो संस्करणको उपाधि विजेताले २६ लाख र उप विजेताले १३ लाख रुपैयाँ नगदै पाउने छ । यो नेपाली नकआउट फुटबलको सर्वाधिक पुरस्कार राशि हो ।
बुधवार आयोजित पत्रकार सम्मेलनमा दुवै टोलीका प्रशिक्षक र कप्तानले फाइनल खेल प्रतिस्पर्धात्मक हुने बताउँदै उपाधि जित्ने दाबी गरेका छन् । आयोजक नेपाली काँग्रेस लोकतान्त्रिक खेलकुद सङ्घ महाधिवेशन निर्देशन समितिले बुधवार नै सहिद दिवसको अवसरमा सहिद गेटमै ट्रफी सार्वजनिक गरेको थियो ।
नकआउट प्रतियोगिताको सेमिफाइनलमा सङ्कटाले मच्छिन्द्र फुटबल क्लबलाई सडनडेथमा ८–७ गोल र बागमतीले एनआरटीलाई टाई ब्रेकरमा ४–२ गोलले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो ।
यस्तै प्रत्येक खेलको प्लेयर अफ दि म्याचलाई १५ हजार, सर्वोत्कृष्ट खेलाडीलाई ७५ हजार, उत्कृष्ट गोलरक्षकलाई ५० हजार, सर्वाधिक गोलकर्तालाई ५० हजार र उदीयमान खेलाडीलाई २५ हजार रुपियाँ प्रदान गरिने महाधिवेशन निर्देशन समितिका संयोजक मोहन बहादुर बस्नेतले जानकारी दिए । फाइनल खेलका विजेता र उप विजेतालाई नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पुरस्कार वितरण गर्ने छन् भने फाइनल अघि झाँकी पनि प्रस्तुत गरिने तयारी छ ।