१४ माघ २०८१, सोमबार | January 27, 2025

हिन्दुत्व विचारका मोदीले भारतलाई दिलाएको उचाई


January 26, 2025
2.1k
Shares

डा. दीपेश केसीः भारतवर्षको सबैभन्दा बढी क्षेत्रफल र जनसंख्या रहेको भारत स्वतन्त्रताको ७८ वर्ष पुग्दा जमिनबाट उचाईतर्फ तिव्र गतिमा बढिरहेको देखिन्छ । ७६औं गणतन्त्र दिवस मनाइरहँदा भारत यो बीच आर्थिक, राजनीतिक र सामाजिक सामथ्र्य विश्लेषण गर्दा प्रगतिको गति बुझ्न सकिन्छ । बेलायती उपनिवेशमा रहँदाले भारतीय जनताले निकै सास्ती व्यहोर्नुपरेको थियो । उसका स्रोत र साधनमा दोहन नै भयो । ताजमहलका भित्ताका बहुमूल्य रत्नहरु लुटको शैलीमा लगिए । किल्लाहरुका धनसम्पत्ति त कति लुटिए लेखाजोखा नै छैन । भारतवर्ष अन्तर्गत वर्तमान भारतमा रहेका विभिन्न क्षेत्रहरु यूरोपका विभिन्न देशको उपनिवेश थिए । स्वतन्त्रतापछि भारतले निकै कसरतपछि संविधान निर्माण ग¥यो । तर, त्यही दौरान विभाजनको पीडा भोग्न वाध्य भयो । पाकिस्तानको निर्माण हुँदा दुई देशको सीमांकन त्यस्ता व्यक्तिले गरे जो कहिले भारत पुगेका पनि थिएनन् ।

१९औं शताब्दीको मध्यतिरै विश्वकै दोस्रो ठूलो जनसंख्या रहेको भारत विश्वकै बढी गरिबको संख्या रहेको देशमा दर्ज थियो । शिक्षा, स्वास्थ्य, रोजगारीका अवसरहरुबाट ठूलो संख्याका जनता बञ्चित थिए । विश्वकै बढी उर्वर भूमि र बढी युवा जनशक्ति रहेपनि सैन्य शक्तिका दृष्टिले निकै कमजोर थियो । विश्वले उसलाई बेलायतको उपनिवेशकै रुपमा देखिरह्यो । भारतको हिन्दू संस्कृति निकै कमजोर पारिएको थियो । उसले आफ्नो पहिचान गुमाइरहेको अवस्था थियो । चाणक्य जस्ता महान् विचारक गुमनाम थिए । महान ऋषि र उनीहरुका कृत्ति बेवास्तामा परेका थिए । योग संस्कृति विश्वका लागि खासै जानकारीमा थिए । सिंगो भारत पश्चिमा संस्कृति र शैलीमा रमाएर आफ्नोपन नै बिर्सिरहेको थियो ।

भारतले १९५० पछि आर्थिक वृद्धिमा बामे सर्ने प्रयास गर्न थाल्यो । तर, अर्थतन्त्र नै सबथोक हो भन्ने अभिप्रायले स्वः धर्म र स्वः संस्कृतिलाई बिर्सदा भारतको शक्तिमा अपेक्षाकृत वृद्धि हुन सकेन । जवाहरलाल नेहरुको काल भारतलाई विभाजन हुनबाट रोक्ने संघर्षमै बित्यो । तर, विभाजन रोकिएन । इन्दिरा गान्धीसम्मको काल पनि बाह्य शक्तिको खतरासँग जुध्नमै बित्यो । कहिले चीन त कहिले पाकिस्तानसँग लडाईँ लड्यो भारतले । बङ्गलादेशको विभाजनका दौरान भारतले ठूलै मूल्य चुकाउनुपरेको थियो । छापामार शैलीमा तेस्रो शक्तिको हमला झन् खतरनाक थियो । खालिस्तानी पृथकतावादीसँग जुध्नुपरेको थियो गान्धीले । त्यस क्रममा उनको हत्या भयो । त्यसपछि सत्ताको केन्द्रमा पुगेका राजीव गान्धीले पनि बाह्य चलखेलसँग निकै जुधे । श्रीलंकामा तामिल पृथकतावादीसँग जोडिएको घटनाले उनको हत्या भयो । यी घटनाले भारतले आफ्ना बलिया नेताहरु त गुमायो तर शक्ति पनि आर्जन गरेको यथार्थ हो । इन्दिरा गान्धीले त आफ्नो हत्याको एक दिन अघि ओडिसामा भाषण गर्दा आफ्नो रगतले भारतमाताको भूमि सिंचित हुने अभिव्यक्ति दिएकी थिइन् ।

भारतका जनता र नेताको रगत र पसिनाले एक हदसम्म प्रगतिको पथमा पुगिरहेको थियो भारत । जनतालाई राष्ट्रभक्त बनाउने निष्ठा र प्रतिवद्ध कार्यकर्ताको संघ निर्माण गरिसकेका थिए डा. बलिराम हेडवेकरले । यसले राष्ट्रिय स्वयंसेवकको नाम पायो जो आयातित सिद्धान्तमा नभई भारतवर्षमा फलेफूलेको हिन्दुत्वको विचारमा आधारित रहेर अगाडि बढ्यो । हिन्दू एकता र राष्ट्र या समाजका लागि व्यक्ति निर्माणको उद्देश्यका साथ भारतभर सञ्जाल बनाउन सफल भयो संघ । संघमै प्रशिक्षित भएका अटलविहारी बाजपेयी, लालकृष्ण आडवाणी जस्ता व्यक्तित्व भारतको सत्ताको केन्द्रमा पुग्न सके । बाजपेयीको कार्यकालमा भारतले आणविक परीक्षण गरी विश्वमा बलियो शक्तिका रुपमा आफूलाई उभ्यायो । भारतमा राष्ट्रभक्तिको भावना बलियो बनाउन बाजपेयीको कार्यकाल सफल रह्यो । डा. मनमोहन सिंहले आर्थिक विकासलाई गति दिन सके । भौतिक विकासको काल पनि बन्यो सिंहको १० वर्षीय प्रधानमन्त्रीकाल । त्यसपछि भारतले स्वतन्त्रतापछि इतिहासकै सशक्त गति पक्रने गरी नरेन्द्र मोदीको नेतृत्व पायो ।

राष्ट्रिय स्वयंसेवकको कार्यकर्ताका रुपमा खारिएका मोदी हिन्दुत्व विचारका कार्यान्वयनकर्ता पनि देखिए । जस्तोसुकै चुनौतीको सामना गर्ने साहस र अठोट उनमा देखियो । मोदीले देशलाई सबैभन्दा माथि राखे । छिमेक प्रथमको नीति पनि लिए । हिन्दुत्व विचारमा निष्ठावान मोदीले जे बोले त्यही गरे । अयोध्यामा राम मन्दिर निर्माण गरेरै देखाए । योगलाई विश्वव्यापी बनाए । हिन्दू शक्तिको तेज विश्वभर व्यापक बनाए । गुजरातको मुख्यमन्त्री हुँदा अमेरिकाले भीसा समेत नदिने अवस्था बनाएका उनी अमेरिकाबाट नै रातो कार्पेट ओछ्याइए । हिन्दुत्व विचारबाट देशको समग्र विकास हुनसक्छ भन्ने प्रमाणित गरिदिए मोदीले । कहाँ थियो भारत कहाँ पुग्यो । २०१४ मा मोदी पहिलोपटक प्रधानमन्त्री हुँदा भारत विश्वको दशौं धनी देश थियो । १० वर्षमा मोदीले भारतलाई ५ फड्को माथि लगेर विश्वको पाँचौं धनी देश बनाए । गरिबको संख्या ह्वात्तै बढ्यो । भारतीयहरुको जीवनस्तर निकै सुधारियो । भारतले हरेक क्षेत्रमा आफूलाई अब्बल देखाउँदै लग्यो ।

चन्द्रमामा चन्द्रयान पु¥याउन सफल भयो भारत । उसको चन्द्रयात्राबाट पनि दूरको यात्रा सुरु भइसकेको छ । यसरी नै आर्थिक र सामाजिक विकासमा गति लिन सकेको छ । भारतमा विश्वविद्यालयको स्तर झन् बढ्यो । आइटीमा अभूतपूर्व सफलता हासिल गर्न सक्यो । उद्दोगधन्दा बढ्न थाले । रोजगारीका अवसर बढे । भारतमा एशियाकै धनी व्यक्तिहरुको उदय भयो । विश्वका अर्बपतिमा भारतीयको संख्या बढ्यो । भारतको चलचित्र क्षेत्र विश्वकै बलियो बन्न पुग्यो । मोदीकालमा हिन्दु धर्मको कान्ति झन् फैलियो । हिन्दु दर्शनबाट भारतवर्ष बाहिरको समाज पनि प्रभावित हुन थाल्यो । योगको अभ्यास विश्वव्यापी हुनसक्यो । कुनैपनि देश र समाज धर्मनिरपेक्ष हुनसक्दैन र धर्मविना देश र समाज दरिलो हुनसक्दैन भन्ने सन्देश मोदीले दिए । उनको नेतृत्वमा भारत यति बलियो हुन पुगेको छ कि अमेरिका होस् या रुस भारतको साथ अनिवार्य बनेको छ अहिले । चीन पनि भारतसँग सम्बन्ध सुधार्ने अवस्थामा पुगेको छ ।

मोदीले सबको साथ सबको विकास नारा छिमेक प्रथमको नीतिमा पनि लिए । उनले छिमेकमा भ्रमणलाई प्राथमिकतामा राखे । नेपालमा उनको पटक पटकको भ्रमण अविस्मरणीय रह्यो । मोदीको प्रधानमन्त्रीकालमा महत्वपूर्ण विकास सम्झौताहरु भए । सडक, पेट्रोलियम पाइपलाइन जस्ता परियोजना बने । धेरैभन्दा धेरै विद्यालय भवनहरु बने नेपालमा । सहयोगमा व्यापक वृद्धि भयो । नेपालसँग सीमा जोडिएका भारतको उत्तर प्रदेश, विहार, उत्तराखण्ड र पश्चिम बँगाल जस्ता क्षेत्रमा कायापलट नै भयो । त्यसको असर नेपालका तराई क्षेत्रमा पनि परेको छ । तराई क्षेत्रमा विकासका मूल फुट्न थालेका छन् । अयोध्यामा राम मन्दिर निर्माणपछि जनकपुरमा चासो बढेको छ । सीता माताको जन्मस्थान भएकाले जनकपुरमा पर्यटक बढेका छन् । गढीमाईको मेलामा यसपटक अहिलेसम्मकै बढी तीर्थालु आएका छन् । पशुपतिनाथ र मुक्तिनाथको भारतीय पर्यटक बढेका छन् । मोदीले पशुपतिनाथ, मुक्तिनाथ, जनकपुरधाम र लुम्बिनीको यात्रा गरेपछि झन् प्रचार बढेको छ । धर्म संस्कृतिको प्रभाव बढेकाले सम्बन्ध अझ प्रगाढ भएको छ । भारत तिव्र विकासको गति समाइरहँदा नेपालले पनि लाभ लिइरहेको छ । यसको महशुश नेपाली जनताले गरिरहेका छन् । निहित राजनीतिक स्वार्थका लागि सम्बन्ध बिगार्नेहरु आफै नांगिएका छन् । जसरी अध्यारो हटाउन वत्ति बालिदिए पुग्छ ।

प्रतिक्रिया