सेयर खरिदविक्रीपूर्व स्वीकृति नलिएको एनसेलको के होला ?
काठमाडौं, २२ पौष । एनसेलले सेयर विक्री गर्दा पूर्व स्वीकृति लिएको छैन । नियमनकारी निकाय नेपाल दूरसञ्चार प्राधिकरणसँग स्वीकृति नलिई बेलायतमा कम्पनी खडा गरी सेयर खरिद विक्रीको नाटकीय प्रक्रिया एनसेलले पूरा गरेको हो ।
रोचक त यो छ कि नेपाल दूरसञ्चार प्राधिकरणले सेयर खरिदविक्री गर्नुपूर्व अनिवार्य रुपमा स्वीकृति लिन दूरसञ्चार सेवाप्रदायकलाई निर्देशन दिएको छ । चुक्तापूँजीको पाँच प्रतिशतभन्दा बढी सेयर खरिद विक्री गर्नुपूर्व स्वीकृति लिनुपर्ने कानूनी व्यवस्थाबारे समेत उल्लेख गरेको छ । तर, ८० प्रतिशत सेयर खरिद विक्री गर्दा एनसेलले पूर्वस्वीकृति नै लिएन । यो प्रक्रियामा दशौं अर्बको कर छली भयो ।
नेपालमा अहिलेसम्मकै ठूलो भ्रष्टाचार र कर छलीमा एनसेलको सेयर खरिद विक्री चर्चित छ । तर, राज्यको जिम्मेवार निकायमा रहेकाहरुले नै मिलेमतो गरी यो घटनालाई सामसुम पार्न खोजेका छन् । दूरसञ्चार नियमावलीको कानूनी व्यवस्थाको उल्लंघन भएपनि यसको खिल्ली उडाइएको छ ।
एनसेलले शेयर खरिद विक्री गर्दा प्रमाणित कागजात पनि पेश नगरेको सरकारी प्रतिवेदनमा उल्लेख छ । कानूनसम्मत रुपमा शेयर खरिदविक्री पुष्टि हुन सकेको छैन ।
एनसेल आजियाटाको ८० प्रतिशत शेयर ६ अर्बमा विक्री गरेको विषय नै अविश्सनीय देखिन्छ । जबकि यति शेयर खरिदविक्री गर्दा कम्तिमा ६० अर्ब त कर नै तिर्नुपर्छ । एनसेलको खरिदविक्रीको खेल खेल्न बेलायतमा स्प्रेक्ट्रलाइट यूके नामको कम्पनी केही महिना अघि मात्र खोलिएको थियो ।
एनसेल खरिदविक्रीमा संगठित गिरोहको संलग्नता पाइएको छ । तर, त्यसलाई लुकाउने खेल चलिरहेको छ ।