पुस्तक प्रर्दशनीले असल मार्गमा डोर्याउँछ
काठमाडौं, पुस १७ गते । संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले पुस्तक नीति बनाउने कार्यमा आफ्नो सक्रिय रूपमा योगदान रहने बताउनुभएको छ ।
मंगलबार काठमाडौंको भृकुटीमण्डपमा नेपाल नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघको आयोजनामा सुरू भएको दोस्रो अन्तर्राष्ट्रिय किताव प्रदर्शनी मेलाको उद्घाटन गर्दै उक्त कुरा बताउनु भएको हो ।
मन्त्री पाण्डेले भन्नुभयो,पुस्तक प्रर्दशनीले असल मार्गमा डोर्याउँछ । यसले सकारात्मक प्रेरणा प्रदान गर्नुका साथै ज्ञानको मार्गलाई अगाडि बढाउने गर्दछ । नेपालमा हालसम्म पुस्तक नीति समेत बनेको छैन । पुस्तक नीति बनाउने सन्दर्भमा मेरो यथोचित सहयोग रहने छ।
उहाँले असल पुस्तकले मस्तिष्कलाई स्वस्थ बनाउने भएकाले पनि पुस्ततकको महत्व रहेको उल्लेख गर्नुभयो । उहाँले कोभिड महामारी र डिजिटल प्रविधिका कारण पुस्तक पठनमा मा केही असर परेको भए पनि विस्तारै लयमा फर्किएको समेत बताउनु भयो।
मन्त्री पाण्डेले सकारात्मक दिशा पक्रन र ज्ञान लिनका लागि पुस्तकको महत्व दिनानुदिन बढेको स्मरण गर्दै पुस्तक अध्ययनकै कारण संसारका विद्वान् दार्शनिकहरूले विचार प्रतिपादन गरेको बताउनु भयो ।
उहाँले नयाँ पुस्तालाई पठन संस्कृतिको विकास गर्ने धेयका साथ सुरू भएको पुस्तक प्रर्दशनीले संस्कृति र पर्यटनका क्षेत्रमा समेत योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो। उहाँले पुस्तक बोकेर हिँड्ने मानिसले एउटा विचार बोकेको बताउँदै पुस्तक मार्फत समाजलाई सुसूचित मार्गमा समेत डोर्याउने बताउन भयो। पुस्तक प्रदर्शनी मेलामा नेपाल,भातर,चीन लगायतका दक्षिण एसियाका विभिन्न देशहरूको स्टलहरू रहेका छन्ण्