शोभाकलीको वात्सल्यमा उपहारकली
इनरुवा, मङ्सिर २९ गते । कोशीटप्पु वन्यजन्तु आरक्षमा फेलापरेको छावालाई आरक्षकै हात्तीसारमा रहेको शोभाकली (माउ हात्ती) ले आफ्नै सन्तान जसरी माया दर्साउन थालेको छन् । शोभाकलीको मायाले छावा पनि खुसीसाथ बस्न थालेको छ । यो दृश्यले आरक्ष प्रशासन पनि खुसी भएको छ ।
केही दिनअघि आएका २१ वटा जङ्गली हात्तीमध्ये एउटाले छावालाई छोडेको थियो । यो पोथी छावाको नाम ‘उपहारकली’ राखिएको आरक्षका वरिष्ठ संरक्षण अधिकृत रामदेव चौधरीले जानकारी दिनुभयो । पोथी छावाको नाममा ‘कली’ र भालेमा ‘राज’ जोड्ने चलन छ । छावाको उमेर करिब ५० दिनको भएको अनुमान गरिएको छ ।
मङ्सिर २३ गते बिहान उदयपुरको बेलका नगरपालिका–३, बुधबारेस्थित धान खेतमा छावा फेला परेको थियो । स्थानीयका अनुसार पूर्वबाट केही महिनाअघि आएको हात्तीको बथानमा रहेको छावा छुटेको देखेर आरक्षलाई जानकारी गराइएको र आरक्षले उद्धार गरेको थियो । उद्धारपछि छावालाई मान्छेको बच्चालाई खुवाउने पाउडर दुध खुवाइएको थियो । आरक्षमा यसअघि १८ वटा सानाठुला हात्ती रहेका थिए । उद्धार गरिएको छावालाई अहिले आरक्षको सप्तरी खण्डको भागलपुर पोस्टमा राखिएको छ । पुस १ गते आरक्ष कार्यालयसँगै रहेको हात्तीसारमा ल्याउने तयारी गरिएको छ । जङ्गली हात्तीको छावा फेला परेकाले हेर्न आउने र सेल्फी लिनेहरूको भिड बढेको छ ।
आरक्षमा खरखडाई सम्पन्न
यसैबिच मधेश प्रदेशका सुनसरी, उदयपुर र सप्तरीका तीन जिल्लामा फैलिएर रहेको कोशीटप्पु वन्यजन्तु आरक्षमा खरखडाई कार्य सकिएको छ । तीन दिनका लागि खुलेको खरखडाईमा कुल चार हजार ४१९ जनाले पुर्जी लिएर खर काटेको आरक्ष कार्यालयले जनाएको छ ।
कोशी गाउँपालिका–२, पश्चिम कुशाहाका देवराज उराँवको परिवार तीन दिन खरखडाईमा व्यस्त भयो । घर र गाईगोठका छाना छाउन उहाँको परिवार हरेक वर्ष खरखडाईकै पर्खाइमा हुन्छ । आरक्षले खरखडाई खोलेपछि उनीहरू खर भिœयाउने काममा जुट्ने गर्छन् । उहाँको परिवारका लागि यो परम्परा जस्तै बनेको छ । आरक्षले मङ्सिर २४ देखि २६ गतेसम्म खरखडाई खोलेको थियो ।
तीन दिन बिहानदेखि साँझसम्म खर काटेर भित्र्याउने काम भएको उराँवले बताउनुभयो । उहाँले भन्नुभयो, “गाईगोठको छानो फेर्न, गोठमा बार लगाउन पनि खरकै प्रयोग हुन्छ ।” खरखडाई खुलेका बेला आरक्ष आसपासका बस्तीमा खर बोक्नेको भिड लाग्छ । बिहानदेखि साँझसम्मै खर काट्ने र बोक्ने काम चलिरहन्छ । आरक्ष कार्यालयले आसपासका बासिन्दालाई लक्षित गरेर खरखडाई खोल्ने गर्छ । हिउँदमा खरखडाई खुलेपछि स्थानीयलाई राहात हुने गरेको स्थानीयवासी पार्वती उराँवले बताउनुभयो ।
कोशीटप्पु वन्यजन्तु आरक्षका वरिष्ठ प्रमुख संरक्षण अधिकृत चौधरीले गत वर्ष आठ हजारले खर काट्ने पुर्जी लिएकोमा यस वर्ष चार हजार ४१९ जनाले यो पुर्जी काटेका जानकारी दिनुभयो । प्रमुख संरक्षण अधिकृत चौधरीले भन्नुभयो, “ठुलो सङ्ख्यामा एकै पटक आरक्षभित्र भिड बढ्दा वन्यजन्तुको बासस्थान प्रभावित हुनुका साथै उनीहरूको विचरणसमेत खलबलिने हुँदा यसलाई विस्तारै घटाउँदै लगेका छौँ ।” उहाँका अनुसार आरक्षभित्र पस्नेले खाजा तथा खानेकुराका लागि बोक्ने प्लास्टिक तथा अन्य सामग्रीका कारण प्रदूषणसमेत बढ्ने भएकाले त्यसमा नियन्त्रण गरिएको छ ।
खर खडाईका नाममा काठ गोलियाको तस्करी र हरिया रुख काट्ने जोखिम कम गर्न पनि यसका लागि कम समय दिइएको उहाँको भनाइ छ । यस पटक भने खरखडाईको समयमा जङ्गली जनावरको आक्रमणमा परेर कुनै घटना भने हुन पाएन । प्रवेश पुर्जीबापत प्रति व्यक्ति ५० रुपियाँका दरले दुई लाख २० हजार ९५० रुपियाँ राजस्व सङ्कलन भएको समेत चौधरीले जानकारी दिनुभयो । गोप