३ माघ २०८१, बिहिबार | January 17, 2025

प्रकाशशरण र राधिकाको द्धन्द्धले २४ करोडको विकास बजेट अलपत्र


November 27, 2024
74.7k
Shares

काठमाडौं,१२ मंसिर । पुर्वअर्थ मन्त्री डा.प्रकाशशरण महत र बाग्मती प्रदेश सांसद राधिका तामाङ्गको राजनीतिक द्धन्द्धले नुवाकोटको २४ करोडको विकास बजेट अलपत्र परेको छ ।  नुवाकोटको उत्तरी भेगमा पर्ने शिवपुरी गाउपालिकाको ५ ओटा वडा जोड्ने मोटरबाटोको काम अघि बढ्न सकेको छैन् । पूर्व अर्थमन्त्री डा.महत र प्रदेश सांसद  तामाङ्गको राजनैतिक खिचातानीका कारण परेको विकास बजेट समेत अलपत्र परेको स्थानीयहरुको भनाइ छ ।

शिवपुरी–४ का पुर्व वडाध्यक्ष झमक गुरुङ्गले पूर्व अर्थमन्त्री डा.महत र प्रदेश सांसद तामाङ्गको राजनैतिक खिचातानीकै कारण परेको बजेट समेत अलपत्र परेको गुनासो पोखे । गुरुङ्गले तत्कालिन अर्थमन्त्री डा.प्रकाशशरण महत, तत्कालिन बागमती प्रदेशको अर्थ मन्त्री बहादुर सिंह लामा र मुख्यमन्त्री शालिकराम जमरकट्टेलको पालामा ‘आईतराम पाटी पुडीभन्ज्याङ सिक्रे मैदान छाप तलाखु’ शीर्षकमा प्रदेशबाट बहु बर्षिय योजनामा २४ करोड बजेट विनियोजन भएको बताए ।

“२४ करोड बजेट विनियोजन भएको भनिएकोमा भ्याट घटाएर १९ करोडमा टेण्डर आब्हान गरेको थियो । अन्तिम घटाघट १४ करोड २४ लाख ७४ हजार ९३० ( Excluding vat & ps ) मा कन्ट्रायकटर केबिएनएस–केबिके जेभि,काठमाडौं–९ सिनामंगल ठेगाना भएको राहुलजंङ्ग कार्कीले गत २०८१ जेष्ठ १७ गते ठेक्का सम्झौता गरि मुभिलाईज रकम निकासा गरेको देखिन्छ ।”–उनले भने,“ठेक्का २०८२ कार्तिक १७ सम्म कार्य सम्पन्न (१८ महिना) भित्र गरिसक्नु पर्ने छ ।”

उप–सभामुख समेत भएकी तामाङ्गले अरुले गरेको कामको जस लिन खोजेको स्थानियहरु बताउँछन् । उक्त शीर्षकमा बजेट पार्ने भन्दा पनि बजेट कसले पारेको, कुन पार्टीको सरकार हुदाँ बजेट पार्न पहल गरेको,कुन–को नेताले बजेट पार्न लगाएको भनेर रस्का कस्सी कै कारण काम अघि बढ्न नसक्दा जनतामा झन निराशा बढेको छ । कांग्रेस र माओवादी केन्द्रबिचको टसलले काम अघि बढ्न नसकेको प्रष्ट देखिन्छ ।

अर्का कांग्रेसका नेता अर्थात पुर्व अर्थमन्त्री डा.प्रकाशशरण महत गत कात्तिक १७ गते उक्त मोटर मार्गको शिलान्यास गर्न पुगेका थिए । सो शिलान्यास कार्यक्रमलाई माओवादीकी सांसद तामाङ्गले सर्कुलर जारी गरेर विरोध गर्न आफ्ना कार्यकर्तालाई उतारेकी थिइन् । “उहाँले आफ्ना सबै कार्यकर्तालाई विरोध गर्न सर्कुलर जारी गरेर, सम्पुर्ण स्थानीयहरुलाई रोक्ने, नुवाकोट पूर्वाधार विकास कार्यालयलाई समेत नआउन र आइहालेमा बीच बाटो मै कालोमोसो लगाउने, गाली गलौच गर्ने धम्की दिनुभएको थियो । र पनि डा.महतले शिलान्यास गरेरै छाड्नु भएको हो ।”–पुर्व वडाध्यक्ष गुरुङ्गले बताए ।

यसरी राजनीतिक दलहरुबिचको जस लिने लडाइले त्यहाँका जनता झन मारमा परेका छन् भने सम्झौता गरेकों ७ महीना बितिसक्दा पनि ठेकेदार सम्पर्क बिहिन छन् ।  नुवाकोट पुर्बाधार बिकास कार्यालयका प्रमुख सुजन थापाका अनुसार उक्त योजनाको सोही प्रदेश सांसद तामाङले प्रदेशको भौतिक पुर्बाधार मन्त्रीले शिलान्यास नगरी काम अगाड़ी नबढाउन भनेपछि काम अघि बढ्न सकेको छैन् । । थापाले दुई राजनीतिक दल र नेताहरुबीच समन्वय हुन नसक्दा यस्तो समस्या आएको बताए । “प्रदेश माननिय राधिका तामाङ्गले आफ्नो क्षेत्रमा शिलान्यास किन अरुले गर्ने भन्ने अडान लिनु भएको छ ।”–थापाले भने,“उहाँहरु बीच समन्वय हुन नसकेर यस्तो समस्या आएको हो ।” तर सोही दिन डा.महतले थोरै कार्यकर्ताको साथ लिएर भएपनि उक्त मोटरबाटोको शिलान्यास गरेर छाडेका छन् ।

२०७४ सालमा नुवाकोट क्षेत्र न १ बाट प्रतिनिधि सभा निर्वाचनमा बाम गठबन्धन तर्फ ने.क.पा.माओबादीबाट हितबहादुर तामाङ निर्वाचित भए भने प्रदेश ‘क’ बाट माओवादीकै तामाङ निर्वाचित भइन् ।  उनीहरु निर्वाचित भए लगतै कम्युनिष्ट बाम गठबन्धनले सो सडक मार्गको काम अर्थात अघिल्लो कार्यकालमा सम्पन्न हुन लागेका र नयाँ शिर्षक सबै काटिदिएको पूर्ववडाध्यक्ष गुरुङ्गको भनाई छ ।

गठबन्धनको फाइदा उठाउँदै प्रदेश सांसद तामाङ्ग ‘गुर्जे तलाखु’ शीर्षकलाई ब्रेक डाउन गरी ‘गुर्जे आइताराम पाटी खोलेगाउ’ शीर्षकमा मोटो रकÞम पार्न र ब्रेक डाउन गरेका शीर्षकलाई प्रदेशको प्राथमिक योजनामा पार्न सफल भइन् । तर, सोही मोटरमार्ग शिलान्यास कार्यक्रममा जाने स्थानीय जनताहरु,आफ्ना माओवादीका कार्यकर्तालाई नजान र विरोध गर्न निर्देशन दिएको र गएमा कालोमोसो दल्ने समेतको चेतावनी दिएको उनीमाथि गम्भिर आरोप लागेको छ ।

उक्त योजनाको काम अघि बढाउन किन रोक्नुभयो भन्ने नेपाली पेन डटकमको प्रश्नमा सांसद तामाङ्गले प्रदेशबाट आफ्नो पहलमा पारिएको बजेट कांग्रेसले एकलौटी जस लिन खाजेको बताइन् । “प्रकाशशरण महत आफु अर्थमन्त्री हुँदा त्यो मोटर बाटोमा एक रुपैयाँ पनि बजेट नहाल्ने,बल्ल बल्ल प्रदेशबाट छट्टाएकोे बजेटमा भने हामीसंग समन्वय नै नगरी कांग्रेस एक्लै छिटो–छिटो शिलान्यास गर्न जाने, यो त भएन नी ।”–तामाङ्गले भनिन् ।

आफुलाई गत कात्तिक १७ गते डा.महतले आयोजना गरेको शिलान्यास कार्यक्रमबारे आधिकारीक रुपमा कतैबाट पनि निमन्त्रणा नआएकै कारण उपस्थित हुन नसकेको दाबी गरिन् । “वडाध्यक्ष चन्द्र गुरुङ्गले फोन गरेको भरमा म प्रदेश सांसद कार्यक्रममा उपस्थित हुने कुरै भएन । मलाई जिल्ला पुर्वाधार विकासबाट खबर आउनु पर्थ्यो आएन अनि म गइन् ।” संघीय भौतिक तथा पूर्वाधार मन्त्री र बाग्मती प्रदेशका मुख्यमन्त्रीले नै शिलान्यास गर्नुपर्ने उनको भनाइ थियो ।

प्रदेशका तत्कालिन मुख्यमन्त्री माओवादी केन्द्रका नेता शालिकराम जमरकट्टेल, अर्थमन्त्री बहादुरसिं लामा र आफ्नो पहलमा उक्त बजेट पार्न सफल भएको उनले बताइन् ।  तामाङ्गले पूर्वाधार विकास कार्यालय नुवाकोट,स्थानीय जनताहरु र आफ्ना कार्यकर्तालाई पनि विरोध गर्न कुनै निर्देशन नदिएको जिकिर गरिन् । “कसैलाई दबाब मैले दिएको भए प्रमाण देखाउन आग्रह गर्छु ।”–उनले भनिन्,“मलाई लिगिंय हिसाबले पनि पक्षपात गरिएको छ, म सोझो र इमान्दार एउटी महिला हुँ, न त म संग गुण्डा छ न त अथाहा पैसा छ ।”

यसरी राजनीतिक दल र तिनका नेताहरुबिचको विवादास्पद शिलान्यासको कारणले बजेट कार्यान्वयनमा ढिलाइ हुँदा ५ ओटा वडाका जनताहरुलाई दिर्घकालिन रुपमा असर पर्ने देखिन्छ । डा.महत र तामाङ्गबिच कसले बजेट पारेको जस लिने होडले आफ्नो ठाउँमा परेको विकास बजेट अलपत्र पर्दा स्थानीय युवाहरु पनि आक्रोसित भएका छन् । अब युवा र स्थानिय जनता चुप लागेर बस्न नहुने भन्दै एक जुट भएर सर–सल्लाह भइरहेको बुझिएको छ । आफ्नो ठाउँमा बल्ल बल्ल हुन लागेको विकासलाई पछि धकेल्ने नेताहरुको अदुदर्शि कामलाई सहेर नबस्ने तरुणदलका केन्द्रीय सदस्य संजिब गुरुङ्गले चेतावनी दिएका छन् ।

प्रतिक्रिया