३ माघ २०८१, बिहिबार | January 16, 2025

पार्टीभित्र जिम्मेवारी खोज्दै विद्यादेवी–नन्दकिशोर


November 14, 2024
1.6k
Shares

काठमाडौं,२९ कात्तिक । पूर्वराष्ट्रपति र उपराष्ट्रपति दुवै जना सक्रिय राजनीतिमा फर्कनका लागि पार्टीको जिम्मेवारी खोज्दै भौंतारिन थालेका छन्। नेकपा एमालेकी पूर्वउपाध्यक्षसमेत रहेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पार्टी राजनीतिमा फर्कने बहस चलिरहँदा जनमुक्ति सेनाका पूर्वकमान्डार एवं पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन ‘पासाङ’ले पनि राजनीतिमा सक्रिय हुने बाटो खोज्न थाल्नुभएको हो।

दुई कार्यकाल गरी साढे सात वर्ष राष्ट्रपतिको जिम्मेवारीमा रहनुभएकी भण्डारी २०७९ फागुन २९ गतेबाट जिम्मेवारीविहीन भएर निजी निवासमा बस्दै आउनुभएको छ। त्यस्तै, पूर्वउपराष्ट्रपति ‘पासाङ’ नेकपा माओवादी केन्द्रको आन्तरिक बैठकमै सहभागी हुन थाल्नुभएको छ।

कात्तिक २६ गते बिहान अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा बसेको बैठकमा उहाँको उपस्थिति रहेको नेकपा माओवादी केन्द्रका नेताहरूले पुष्टि गरेका छन् । एमालेका तत्कालीन महासचिव मदन भण्डारीपत्नी विद्यासमेत पछिल्ला दिनमा एमालेको राजनीतिक कार्यक्रममा सहभागी हुँदै आउनुभएको छ ।

नेकपा एमालेको महिला संगठन ९अनेमसंघ० ले जेठ १६ मा गरेको राजनीतिक कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी भएर भण्डारीले राजनीतिक भाषण गर्नुभएको थियो । पार्टीका अन्य सार्वजनिक राजनीतिक कार्यक्रममा सक्रिय हुन थालेपछि उहाँको पार्टी राजनीतिक मोह पुष्टि भइसकेको र त्यसलाई पार्टीले स्वाभाविक रूपमा लिने नेकपा एमालेका पोलिटब्युरो सदस्य विशाल भट्टराईले बताउनुभयो । भण्डारी पार्टीको आगामी नेतृत्वमै आउने गरी राजनीतिमा सक्रिय हुन थाल्नुभएको एमालेका कतिपय नेताहरूले बताएका छन् । तर, केही नेताहरू भने पार्टीमा उहाँको सक्रियताप्रति सन्तुष्ट छैनन्।

एमालेभित्रको एउटा पक्षले भण्डारी सक्रिय राजनीतिमा फर्कने चर्चालाई स्वाभाविक रूपमा लिएर उत्साहित देखिएको छ भने अर्को पक्षले भण्डारीको पार्टी पुनरागमनलाई सहज रूपमा लिएको छैन। भण्डारीको राजनीतिक सक्रियताको चर्चासँगै उहाँले राज्यबाट लिँदै आएको सेवासुविधाको विषयमा पनि बहस शुरू भएको छ । पूर्वराष्ट्रपति भण्डारी एमाले राजनीतिमा आउने हो भने उहाँले खाइपाई आएको सेवासुविधा फिर्ता गर्नुपर्ने आमरूपमा बहसको विषय बनेको एमालेकै एकाथरी नेताहरूले बताएका छन् । उहाँ एमालेको हीरक महोत्सवमा सहभागी हुनुभएको थियो।

त्यस्तै, गत असार ३ मा मदन भण्डारी फाउन्डेसनको स्थलगत अवलोकन गर्दै राजनीतिक कूटनीतिप्रति सक्रियताप्रति नेताकार्यकर्ताले केही समयभित्रै सक्रिय राजनीतिमा फर्कने विश्वास व्यक्त गरेका छन् । एमालेमा उहाँको पुरानो पार्टी सदस्यतासमेत नवीकरण भइसकेको छ ।

तर, एमालेका एक पदाधिकारीले भने– ‘राष्ट्रपति भइसकेको मानिस अध्यक्ष वा संरक्षकभन्दा तल बस्ने कुरा भएन। केपी ओलीले अझै अर्को कार्यकाल पनि अध्यक्ष नछाड्ने अवस्थामा विद्या भण्डारी पार्टीमा आएर पनि अर्थ हुन्न।’ अझै तीन वर्ष केपी ओलीकै कार्यकाल रहने र अर्को ५ वर्षे कार्यकालका लागि पनि ओली नै निर्वाचित हुने सम्भावनालाई हेरेर उहाँको पुनरागमन हुने ती नेताले नेपाल समाचारपत्रलाई बताए।

त्यस्तै, पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन पनि माओवादी केन्द्रको बैठकमा अतिथिका रूपमा सहभागी हुनुभएको नेताहरूले बताएका छन्। ‘अतिथि’ कै रूपमा बैठकमा सहभागी भए पनि उहाँले पार्टीमा आफ्नो भूमिकाबारे चासो राखेको एक पदाधिकारीले जानकारी दिए।

‘पासाङजी अतिथिका रूपमा बैठकमा सहभागी भए पनि पार्टीमा आफ्नो हैसियत के हुन्छ रु भनेर प्रश्न गर्नुभएको थियो’ –ती पदाधिकारीले नेपाल समाचारपत्रसँग भने । बैठकमा पासाङले राज्यबाट कुनै सुविधा नलिएको समेत दाबी गर्नुभएको छ।

तत्कालीन माओवादी जनयुद्धकालका डेपुटी कमान्डर पुन माओवादी शान्ति प्रक्रियामा आएपछि सेना समायोजनमा नगएर राजनीतिमा लाग्नुभएको थियो। २०७२ सालमा उपराष्ट्रपतिमा निर्वाचित भएसँगै माओवादीबाट अलग हुनुभएका उहाँ २०७९ को निर्वाचनपछि उपराष्ट्रपतिबाट बाहिरिएसँगै पुनः पार्टी राजनीतिमा मोह देखाउनुभएको हो । समाचारपत्र

प्रतिक्रिया