४ माघ २०८१, शुक्रबार | January 17, 2025

धनराजसँग सीआईबीले सहकारीको रकम अपलचनबारे लियो बयान


November 13, 2024
664
Shares

काठमाडौं, २८ कात्तिक । सहकारी ठगी प्रकरणमा लहरो तान्दा पहरो खसेको छ । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङसँग प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सहकारीको रकम अपलचनबारे बयान लिएको छ । सीआईबीले गुरुङलाई बुधबार मितेरी सहकारीको १४ करोड हिनामिनाको आरोप सम्बन्धी बयानमा कागज गराएको हो ।

गुरुङसँग उनकी पूर्व पत्नि ज्योति गुरुङले अपचलन गरेको रकम , सहकारीबाट लिएको ऋण र उनले भुक्तान गरेको भनिएको ९२ लाख सम्बन्धी सीआईबीले सोधपुछ गरेको बुझिएको छ ।

रवि लामिछानेमाथि सहकारी ठगी प्रकरणमा संसदीय छानविन समिति नै बनाएर बयान लिइएको छ । लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएको तथ्यहरु बाहिर आइसकेका छन् । रवि यतिबेला अनुसन्धानका लागि प्रहरीको नियन्त्रणमा छन् ।

सहकारी ठगीमा काँग्रेसका उपसभापति समेत रहेका पूर्वमन्त्री गुरुङ पनि तानिएका छन् । उनी मितेरी सहकारी ठगी प्रकरणमा मुछिएका छन् । पत्नी ज्योति गुरुङलाई सहकारीमा संलग्न गराएका थिए । उक्त सहकारीमा महाप्रबन्धक रहेकी ज्योति करोडौं अपचलनमा संलग्न पाइएपछि अमेरिका पलायन भइन् । त्यसपछि धनराजले ज्योतिसँग नाटकीय पारपाचुके गरे । १४ करोड रकम हिनामिनामा धनराज समेतमाथि उजूरी छ ।

धनराजले नाटकीय रुपमा जोगिन खोजेपछि धेरै तथ्य उदांगिएका छन् । यसले सहकारी ठगीको छानविनले धनराजलाई तान्ला कि नतान्ला रु चासो बनेको छ । छानविनमा उनको नाम हटाएर बढाउन खोजिएपछि प्रश्न उठेको छ ।

एमाले सांसद समेत रहेका सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेल पनि सहकारी ठगीमा मुछिएका छने । उनकी पत्नी अन्जना कोइराला त उमागौरी कृषि सहकारी ठगी प्रकरणमा मुछिएकी छिन् । सहकारीबाट कर्जा लिएका ऋषिको कागजपत्र बैंक तथा वित्तिय संस्थामा राखेर ऋण लिएर ११ करोड हिनामिना गरेपछि अन्जना कोइरालासहित सञ्चालक समिति नै कालोसूचीमा परेका छन् । उनीमाथि छानविन रोक्न खोजिएको छ । अन्जनाको नाम हटाएर प्रहरीले फाइल बढाएको बुझिएको छ ।

सहकारी ठगी प्रकरणमा काँग्रेस र एमालेका नेताहरु धमाधम मुछिन थालेपछि यो अनुसन्धान अगाडि बढ्नेमा आशंका बढ्न थालेको छ । आफ्ना नेता तथा कार्यकर्ता जोगाउन एमाले र काँग्रेस नेताहरु सक्रिय भइसकेका छन् ।

प्रतिक्रिया