१८ मंसिर २०८१, मंगलबार | December 3, 2024

बुटवलमा पनि लामिछानेले दिए इन्कारी बयान


November 13, 2024
996
Shares

बुटवल,२८ कात्तिक। सहकारी ठगीलगायत मुद्दामा विगत २५ दिनदेखि अनुसन्धानका लागि कास्की प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई मंगलबार रूपन्देही लगेर बयान थालिएको छ ।

आज पनि बयान लिइने

जिल्ला सरकारी वकिलको उपस्थितिमा बुटवलस्थित सुप्रिम ऋण तथा बचत सहकारी संस्थाको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर अपचलन गरेको अभियोगमा प्रहरीले उनको मंगलबारदेखि बयान लिन थालेको हो ।

गत २ कात्तिकमा काठमाडौंको वनस्थलीबाट पक्राउ परेका पूर्वउपप्रधान एवं गृहमन्त्रीसमेत रहेका लामिछानेको सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान भइरहेको छ । लामिछानेलाई चारपटक अदालतमा उपस्थित गराई अनुसन्धानका लागि पटकपटक म्याद थप भएको छ । पछिल्लो समय २५ कात्तिकमा थप १३ दिनको म्याद थप भएको छ । यसरी आगामी ७ मंसिरसम्म उनी कास्की प्रहरी हिरासतमै रहनेछन् ।

बुटवलको सुप्रिम ऋण तथा बचत सहकारी संस्थाको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर अपचलन गरेको अभियोगमा रूपन्देही जिल्ला अदालतले पनि यसअघि लामिछानेसहित १२ जनालाई पक्राउ पुर्जी जारी गरेको थियो । संसदीय छानबिन विशेष समिति र प्रहरीको प्रतिवेदनमा बुटवलस्थित सुप्रिम सहकारीबाट १ करोड ९६ लाख लामिछानेकै नाममा र १४ करोड २९ लाख रुपैयाँ विभिन्न व्यक्तिमार्फत गोर्खा मिडिया नेटवर्कमा पुगेको उल्लेख छ ।

सोहीबमोजिम बयानका लागि बिहान ७ बजेर ४५ मिनेटमा बुद्ध एयरबाट भैरहवा ल्याउने तयारी थियो । बिहानै ५ बजेर ४० मिनेटमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पु¥याइएका लामिछानेलाई भिजिविलिटी कम हुँदा करिब ५ घण्टासम्म विमानस्थलमै रोकिएको थियो । मध्याह्न १२ बजेपछि मात्र बुद्ध एयरको विमानमार्फत उनलाई गौतमबुद्ध विमानस्थल उतारिएको थियो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलियाका अनुसार रूपन्देहीमा बयानपछि सकेसम्म सोही दिन पोखरा फर्काउने तयारी भए पनि उडान ढिलो हुँदा लामिछानेको बयान सकिएको छैन । उनीसँग आज ९बुधबार० पनि बयान लिइनेछ ।

यसैबीच, सुप्रिमबाट गोर्खा मिडियामा उनको नाममा प्रवाह भएको भनिएको रकमका विषयमा लामिछानेले इन्कारी बयान दिएका छन् । जिल्ला प्रहरी कार्यालय रूपन्देहीका एक प्रहरी अधिकारीका अनुसार लामिछानेले आफ्नो नाम लेखेर कसले पैसा जम्मा गरिदियो भन्ने थाहा नभएको जिकिर गरेका छन् । लामिछानेको भनाइ उद्धृत गर्दै ती प्रहरी अधिकारीले भने, ‘म सुप्रिमको सदस्य पनि होइन, ऋणी पनि होइन, कसले मेरो नाम लेखेर बैंकमा रकम जम्मा गरिदियो, मलाई थाहा भएन ।’

उनले सहकारी ठगीमा आफ्नो कुनै संलग्नता नरहेको र सरकारले दुःख दिने नियतले हिरासतमा राखेको पनि बताएका छन् । रास्वपाका कार्यकर्ताले भने राजनीतिक प्रतिशोधका आधारमा आफ्ना सभापतिलाई पक्राउ गरेको भन्दै देशका विभिन्न ठाउँमा दिनहुँ प्रदर्शन गरिरहेका छन् । मंगलबार रास्वपा कार्यकर्ताले भैरहवामा विरोध प्रदर्शन गरे । लामिछाने समर्थकहरूले विमानस्थलबाहिर, सरकारी वकिल कार्यालय र जिल्ला अदालत रूपन्देहीमा नाराबाजीसहित प्रदर्शन गरेका थिए । लामिछानेका समर्थकहरूले ‘सहकारीपीडितलाई न्याय दे’, ‘८७ अर्बको हिसाब खोई’, ‘रवि दाइ नडराऊ’, ‘जनता तिम्रो साथमा छन्’लगायतका नारा लगाउँदै प्रदर्शन गरेका थिए ।

सरकारी वकिलको कार्यालयमा लामिछानेको बयान चलिरहँदा सुप्रिम सहकारीपीडितहरूले पनि विरोध प्रदर्शन गरे । यसअघि कास्कीमा जस्तो हुलहुज्जत हुने सम्भावना बढेपछि रूपन्देहीमा सुरक्षा व्यवस्था कडा पारिएको थियो । राजधानी दैनिकबाट

प्रतिक्रिया