७ कार्तिक २०८१, बुधबार | October 23, 2024

अनुहार पुरानो होस् वा नयाँ सबै भ्रस्ट दलालहरु हुन् : नेता गुरुङ्ग


October 23, 2024
1.8k
Shares

संजिब गुरुङ्ग । विगत लामो समयदेखि नै नेपाली राजनीति र समाजमाथि विभिन्न विदेशी राष्ट्रहरूको प्रत्यक्ष र अप्रत्यक्ष संलग्न भई देशलाई अस्थिरतातिर धकेलिएको देखिन्छ । नेपालमा देखिएका विभिन्न दलहरू पनि आफ्नो स्वार्थ पूरा गर्न आफ्ना आसेपासेहरूको इच्छापूर्ति गर्नको लागि तल्लिन छन् । ठुला नारा र ठूला–ठूला गफ गरी सोझा साझा जनताहरूलाई विदेशी भूमिमा आफ्नो रगत पसिना बगाउन बाध्य बनाइन्छ ।

कलिला कलिला नानीबाबुहरूलाई उज्ज्वल भविष्यको सपना देखाई अर्काकै शिक्षा नीतिलाई बलियो देखाई पढाइको बहानामा विदेशिन बाध्य पारिएको छ सचेत र आम नागरिकमा राजनीतिक चेतना नहुँदा आज समाज अझ तल लागेको देखिन्छ । पछिल्लो समयमा नयाँ पार्टी र नयाँ अनुहारहरुले देशमा विभिन्न बहाना प्रपञ्च अपनाई लुटतन्त्र नै मच्चाइरहेका छन् ।

प्रत्येक नीति निर्माण होस् या विकास निर्माणलाई राजनीतिसँग जोडेर विकास र नीतिका संरचनाहरूलाई राजनीतिक भर्तिकेन्द्र बनाई सोझा साझा जनतालाई लुटिरहेको सहजै अनुमान लगाउन सकिन्छ ।
यसैको फलस्वरूप केही वर्ष अगाडि उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी पनि खोक्रो आदर्शको खोल ओडेर लुट्नै व्यस्त देखिन्छ । र अन्य दलहरू पनि अंहमताले भरिएको राजनीति गर्दै मौका पर्ना साथ लुट्नमै व्यस्त देखिन्छन् । प्रत्यक्ष होस् या अप्रत्यक्ष आफै संलग्न भई अर्थात अरुलाई संलग्न गराई लुट्नमा तल्लिन नेपाली राजनीतिले समाजमा विकराल स्थिति पैदा गरिरहेको छ ।

राजनीतिक दलमा आबद्ध नेता बन्ने दलालहरू र अन्धभक्त कार्यकर्ताहरू राजनीतिक रूपले चेतनशील नहुँदा भ्रष्टाचारले चरम सीमा नागेको देखिन्छ । यसैको फलस्वरूप आज पोखरामा देखिएको आन्दोलनले विश्व बजारमा पर्यटकीय रूपले चिनिने पोखरा नगरी आज अराजक भीडहरूले अस्तव्यस्त बनाएको देखिन्छ । यसलाई नै उदाहरणको रुपमा हेर्ने हो भने पुरानो होस् या नयाँ पार्टी सत्तापक्ष होस् वा प्रतिपक्ष आम नागरिक व्यवसायको हितमा नरहेको देखिन्छ । आज कोरोना महामारीपछि बल्ल बामे सर्न लागेको पर्यटन व्यवसाय यसरी नै अराजक भीडहरूले ठाउँ–ठाउँमा नारा र जुलुस गर्दै हिँड्ने हो भने आज देशमा भएका विदेशी पाहुनाहरूले विदेशी भूमिमा के सन्देश पठाउने हो र आउने पाहुनाहरूमा कस्तो असर पर्ने हो र व्यवसायीहरूले फेरि हात धोएर बैंकको ऋण तिर्नै नसक्ने अवस्थामा पुग्ने पो हो कि यो चिन्ताको विषय हो । यसबारे न त सरकार न विपक्षी कसैले पनि ध्यान दिएको देखिदैन् । र कसैले बुझ्ने कोसिस नगरेको देख्दा आज देशमा साँच्चिकै दलालहरूको राज रहेछ र आफ्नै लागि मात्रै लड्दा रहेछन् भन्ने प्रष्ट बुझिन्छ ।

हरेक विकास निर्माणलाई राजनीतिक रूपमा प्रयोग गराई विकासका संरचनाहरू माथि मेरो आफ्नो भन्ने नारा लगाएर प्रत्येक संरचनाहरूमा कर्मचारी भर्ती केन्द्र बनाएर देशमा लुटतन्त्र नै मच्चाइरहेका छन् । मिल्दा लुटी खाने नमिल्दा फुटी जानेको भिड बाक्लै देखिन्छ ।

राजनीतिमा उदाएकाहरू पात्रहरु प्रत्यक्ष/अप्रत्यक्ष सबै भ्रष्टाचारमा लिप्त देखिन्छन् । आफू अनुकूल नीति निर्माण गरी आफ्नो अनुकूलतामा नीतिका तहहरूमा कर्मचारी भर्ती गरी लुट्न, अरुलाई दबाब र प्रभावमा पार्नको लागि प्रयोग गरिने राजनीतिक पृष्ठभूमिका दलालहरू कहाँसम्म पुग्ने हो यो चिन्ताको विषय हो।

नागरिक स्तरमा राजनीतिक चेतना हुनु अपरिहार्य आवश्यकता हो । स्वार्थ लिप्त राजनीति तछाडमछाडको राजनीति ढोके राजनीति र गुटबन्दीको राजनीतिले देश गरिबीको रेखामुनि पक्कै धकेलिदै गइरहेको छ । जातीय रूपमा वर्गीकरण होस् या धर्मको नाममा वर्गीकरण गराएर धनी र गरिबको नाममा विभेद गराई राजनीतिक खोल आढेकाहरू लुट्नमै व्यस्त देखिन्छन् ।

अब देश र विदेशमा छरिएर रहेका सम्पूर्ण आम नेपाली नागरिकहरू एक ठाउँमा उभिने बेला भएको छ र आफ्नो क्षमता प्रस्तुत गर्ने समय पनि भएको छ । देश र समाजले आज परिवर्तन खोजेको छ । परिवर्तन गर्ने हातहरू विदेशी भूमिमा पसिना बगाउँदै गर्दा आज देशमा रहनेहरू पीडाले छटपटाइरहँदा मलम लाउने हातहरू विदेशमै रगत पसिना बगाउन तल्लिन्छन् । समय फेरियो वर्ष फेरियो अनुहारका रूपहरु फेरिए तर नेपाली समाजमा भएका राजनीतिक चेतना राजनीतिक शक्तिहरू कहिल्यै परिवर्तन भएनन्, आज परिवर्तनको आवश्यकता छ आम नेपाली एक ठाउँमा उभिएर राष्ट्र निर्माणमा योगदान दिऔं ।
(गुरुङ्ग नेपाल तरुण दलका केन्द्रीय सदस्य हुन् ।)

प्रतिक्रिया