५ कार्तिक २०८१, सोमबार | October 21, 2024

ओलीले रवि र माधवको दल फुटाउन खोजेपछि…


October 21, 2024
1.1k
Shares

काठमाडौं, ५ कात्तिक । नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन ठिक्क परेका छन् । संसद नबसेको समय पारेर उनले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने तयारी गरेका हुन् ।

काँग्रेस सभापति शेरबहादुर देउवासँग छलफलपछि ओली अध्यादेश ल्याउने तयारीमा पुगेका हुन् । ओलीले देउवा, गगन थापा र रमेश लेखकलाई राखेर यसबारे छलफल गरेका थिए । उनले तीनैजनालाई आश्वस्त पारेको बुझिएको छ ।

संसदीय दल र केन्द्रीय समितिमा २० प्रतिशत भए पुग्ने गरी ओलीले अध्यादेश ल्याउन लागेका हुन् । उनले अध्यादेशमार्फत् रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी र माधव नेपाल नेतृत्वको नेकपा एसलाई तारो बनाएका हुन् । उपेन्द्र यादव नेतृत्वको जसपा पनि फुटेको तर अदालतमा उपेन्द्र यादव गएकाले त्यो चुनौती पनि पन्छाउन ओलीले तीर हान्न खोजेका छन् ।

लामिछानेलाई पक्राउ गर्न लगाएर ओलीले उक्त दलमा खेल्न खोजेका छन् । उक्त दलका केही सांसदलाई एमालेका केही नेताले उक्साइरहेको बुझिएको छ ।

माधव नेपालको दलका प्रेम आलेलगायत उक्त दल छाड्न ठिक्क परेका छन् । दल विभाजनसम्बन्धी अध्यादेश आएमा नेकपा एस पनि फुट्न सक्छ ।

यसैगरी, ओलीले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएमा नयाँ राजनीतिक घटना विकास हुन सक्छ । उनको यो अध्यादेशको तीर चुकेमा सरकार नै ढल्न सक्ने अवस्था आउन सक्छ । विगतमा पनि ओलीले दल विभाजन गर्न खोज्दा असफल भएपछि प्रधानमन्त्री पद नै जाने अवस्था विकास भएको थियो ।

प्रतिक्रिया