३० आश्विन २०८१, बुधबार | October 16, 2024

पशुपति गौशाला धर्मशालामा कोषको संदिग्ध भूमिका र महानगरको कार्यशैलीको विरोध


October 15, 2024
581
Shares

काठमाडौं, २९ असोज । पशुपति क्षेत्र विकास कोषले पशुपति गौशाला धर्मशालाको संचालनमा मारवाड़ी सेवा समितिबाट खोसेर महानगरपालिकालाई दिने कार्यको विभिन्न सामाजिक तथा धार्मिक संघ संस्थाहरुले विरोध गरेका छन्। साथै महानगरपालिकाले गुण्डागर्दी शैलीमा पशुपति गौशाला धर्मशालामा कब्जा गर्न गएको भन्दै घोर भर्त्सना गरेका छन्।

हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियान द्वारा मारवाड़ी सेवा समिति र विभिन्न धार्मिक तथा सामाजिक संघ संस्थाहरुबीच आयोजित विमर्श कार्यक्रममा उपस्थित प्रतिनिधिहरुले पशुपति गौशाला धर्मशाला माथिको आक्रमण मारवाड़ी समुदाय माथि मात्रै नभएको अपितु यो हिन्दूहरुको आराध्य देव भगवान् पशुपतिनाथ संग संबंधित पवित्र भूमि माथिको आक्रमण भएको ठहर गरेको छ।

विश्वभरि बाट आउने हिन्दू श्रद्धालुहरुको बसोबास र भोजनको व्यवस्थापन संगै गौशालामा गो पालन हुँदै गरेको र झण्डै एक सय जना मृगौला रोगी को निशुल्क डाइलेसिस भई रहेको अवस्थामा उक्त भवनलाई प्रचलित कानून तथा विभिन्न समयमा भएको समझौता विपरित महानगरपालिकालाई संचालनको जिम्मा दिएर कोषका सदस्य सचिवले भूमाफियाबाट ठूलो आर्थिक लाभ प्राप्त गरेको आरोप विभिन्न संस्थका प्रतिनिधिहरुले लगाएका छन्।

विमर्शमा पूर्व प्रधान न्यायाधीश गोपाल पराजुलीले पशुपति गौशाला धर्मशाला माथिको आक्रमण सामान्य कुरा नभएको र यसको पछाड़ि हिन्दू धर्ममा आस्था राख्ने माथि ठूलो षड्यन्त्रको एउटा सानो शुरुआत भएको बताए । पशुपति क्षेत्र विकास कोष पछिल्ला केही वर्ष देखि इसाई मिशनरीहरुको भर्ती केन्द्र बनेको पराजुलिको भनाई रहेको छ। उनले कोषको जग्गामा चर्च र मस्जिद चलाउन दिने तर हिन्दूहरुले गौशाला चलाउँदा अवरोध गर्ने कुरा सह्य नहुने चेतावनी दिए ।

पशुपति क्षेत्र विकास कोषका पूर्व कोषाध्यक्ष नरोत्तम वैद्यले पनि कोषका अहिलेका पदाधिकारीहरुले मारवाड़ी सेवा समितिलाई अनाहकमा दुख दिएको बताए । वैद्यले भने यदि मारवाडी सेवा समितिले चाहेको भए उनीहरुसंग कइयों अवसर थिए जब त्यो जग्गा आफ्नो नाममा गराउन सक्थे तर यो जग्गा मारवाड़ी सेवा समितिले आफ्नो नाममा कहिले गराएन। उनले भने महा नगरपालिकालाई जबरदस्ती यस विषयमा प्रवेश गराएर कोषले ठूलो गल्ती गर्यो। कोषले संस्कृति मन्त्रालयको जग्गालाई महानगरपासिकाको जिम्मा लगाउनुनै गलत भएको वैद्यले बताए।

विश्व हिन्दू परिषद नेपाल, विश्व हिन्दू महासंघ लगायत एक दर्जन संघ संस्थाका प्रतिनिधिहरु सहभागी थिए । हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियानका महासचिव देवेश झाले बाहिरबाट यो घटना सामान्य देखिंदा पनि भित्र बाट ठूलै षड्यन्त्र भएको बताए । उनले कोषका सदस्य सचिव मिलन थापाको भूमिका शंकास्पद रहेको बताउँदै मेयर बालेनको धर्मशाला कब्जा गर्ने कार्यशैली गुण्डा नाइके जस्तै रहेको बताए। यस विषयमा उपस्थित संघ संस्थाका प्रतिनिधिहरु ले मारवाड़ी सेवा समितिले नै यस धर्मशाला को संचालन गर्न पाउने मांग प्रति एक्यबद्धता जनाए ।

प्रतिक्रिया