२३ पुस २०८१, मंगलबार | January 7, 2025

चिनियाँ कम्युनिष्ट पार्टीले नेपालका दलहरुमार्फत राहत वितरण थालेकोमा आलोचना


October 4, 2024
1.2k
Shares

काठमाडौं, १८ असोज । चिनियाँ कम्युनिस्ट पार्टीले नेपालका राजनीतिक दलहरुलाई बाढीपहिरो पीडितका लागि भन्दै राहत सामाग्री दिन थालेको छ । २ करोड नेपाली रुपैयाँ बराबरको सामाग्री मुख्य दलहरुलाई चिनियाँ राजदूत चेन सङले हस्तान्तरण गरेका छन् । यसलाई लिएर चौतर्फी आलोचना सुरु भएको छ ।

नेपाली काँग्रेसका नेता समेत रहेका योजना आयोगका पूर्व उपाध्यक्ष डा. गोविन्द राज पोखरेलले विपत्तिको समयमा सहयोगको स्वागत गरिने तर पार्टी विशेषको हातमा राहत सामाग्री दिनु उचित नभएको बताएका छन् । उनले एक्समा लेख्दै सिधै दलहरुलाई राहत सामाग्री दिने चिनियाँ कम्युनिस्ट पार्टीको कदममा पुनः विचार गरिनुपर्ने बताए ।

वरिष्ठ पत्रकार ध्रुवहरि अधिकारीले एक्समा लेख्दै चिनियाँ कम्युनिस्ट पार्टीले दलहरुलाई राहत सामाग्री दिएर वितरण गर्न लगाउनु उचित नभएको लेखेका छन् । यसलाई खतरनाक अभ्यास भन्दै सरकारको तर्फबाट राहत उपलब्ध गराउनुपर्नेमा जोड दिए ।

पूर्वराजदूत विजयकान्त कर्णले पनि यस्तो अभ्यासलाई खतरनाक भनेका छन् । चिनियाँ कम्युनिस्ट पार्टीले नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्रलगायतका दललाई राहत सामाग्री दिएर वितरण गर्न लगाएको छ । विगतमा पश्चिम नेपालमा भूकम्प जाँदा पनि चिनियाँ कम्युनिस्ट पार्टीले यस्तै अभ्यास गरेको थियो । यसको निकै आलोचना भएको थियो ।

प्रतिक्रिया