१२ आश्विन २०८१, शनिबार | September 29, 2024

यसरी बनाइयो यीनलाई न्यायाधीश, अचानक ४ नाममा ब्रेक किन


September 27, 2024
146.4k
Shares

काठमाडौं, ११ असोज । सर्वोच्च अदालतमा एकपछि अर्को विवादास्पद पात्रहरू धमाधम न्यायाधीश बनिरहेका छन् । प्रधानन्यायाधीश र परिषद पदाधिकारीहरूले न्यायाधीश पदलाई दलाली, मोलमोलाइ, खरिद बिक्री र लिलाम बढाबढको रद्दी बिकाउ माल बनाएको खुलिरहेको छ । न्यायाधीश नियुक्तिमा नातावाद, कृपावादका अलावा आर्थिक लेनदेन चलेको विषयहरु छताछुल्ल भइरहेका छन् । बार एशोशिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले त न्यायाधीश नियुक्तिमा मोलतोलको विषय नै उठाएका छन् । यहीबीच ११ असोजमा दुई न्यायाधीश नियुक्तिको सिफारिश भएको छ न्याय परिषदबाट । बाँकी ४ न्यायाधीशमा केही नामबारे गम्भीर प्रश्न उठेपछि सिफारिश हुन सकेन । नेपाली पेनले महाभियोग लागेका पूर्व प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको बिचौलिया आशिष अधिकारीलाई न्यायाधीश बनाउन खोजिएको खुलासा गरेको थियो । त्यसका लागि उनलाई वरिष्ठ अधिवक्ता बनाइने सूचीमा राखिएको खुलासा पुष्टि भइसकेको छ ।

त्यसो त पुनरावेदन अदालतमा आफ्ना दुई सहोदर भाइलाई नियुक्त गरी तत्कालीन प्रधानन्यायाधीश विश्वनाथ उपाध्यायाले नातावाद देखाएका थिए । उनले दलको सिफारिसमा निकम्मा कार्यकर्तालाई भित्र्याउने नजिर बसाले जुन उनका उत्तराधिकारीहरूले अप्नाए । सुरेन्द्र प्रसाद सिंहलाई जन्ममितिको मुद्दा हाली ब्ल्याकमेलिङमा चोलेन्द्र समशेरले न्यायाधीश पद हात पार्न सके । दामोदर प्रसाद शर्माले पुनरावेदन अदालतमा ८० जना नियुक्त गर्दा दलीय भागबन्डा, आफन्त, नेताका नातेदारलाई कोटा छुट्याइ आफ्नै सहोदर भतिजा मनोजकुमार शर्मालाई पनि न्यायाधीश बनाए । तीमध्ये १५ जना त हालका उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश रमेशकुमार राजभण्डारीको नेतृत्वमा शपथ ग्रहणकै औपचारिक पोशाकमा नेपाल बन्दको दिन एमाले मुख्यालय बल्खू गई धन्यवाद र आशिर्वाद आदानप्रदान गरेको समाचार फोटोसहित सार्वजनिक भएको थियो । टोली सदस्यमध्ये मनोजकुमार शर्मा अहिले सर्वोच्चमा छन् भने अन्य उच्चमा वरिष्ठ न्यायाधीश छन् ।

न्याय परिषद सदस्य नियुक्त हुँदा काठमाडौँमा डेरा खोजी छिरेका खेमनारायण ढुङ्गाना अहिले बालुवाटारको प्रधानन्यायाधीश निवासको पश्चिमपट्टि अलिसान बङ्गलाका मालिक बनेका छन् भने अर्का सदस्य पदम प्रसाद वैदिक बुढानीलकण्ठको भब्य महलमा रजगज गरेका भेटिन्छन् । कल्याण श्रेष्ठले सुरु गरेको जन्ममिति हिसाब गरी भागबन्डामा प्रधानन्यायाधीशको रोलक्रममा राखी नियुक्ति गर्ने डिजाइनलाई सुशीला कार्कीले निरन्तरता दिइन् । चोलेन्द्रले त्यसलाई झन् रसातलमै पुर्‍याए । दलको कोटा र आफन्तको भागबन्डामा नपर्ने धनाढ्य र बीचौलियाहरूको लागि न्यायाधीश पद बिक्री र लिलामीमा राखियो । खरिद गर्न सक्षम र धनाढ्य बाहेकले बीचौलिया र लगानीकर्तामार्फत, त्योपनि नभएकाले न्यायाधीश बन्नकै लागि घर घडेरी बिक्री गरेका समाचारहरू सार्वजनिक भए । तत्कालीन प्रधानन्यायाधीशका एकजना अयोग्य नातेदारलाई मुख्य रजिष्ट्रारबाट सिधै मुख्यन्यायाधीश बनाउँदा कबुल गरेको १ करोडमध्ये ५० लाख आफूले अझै नपाएको, पटक-पटक माग्दापनि नदिएको, सर्वोच्चमा आएपछि त झन् धम्क्याएको गुनासो लिई पोखरा तिरका तत्कालीन कानूनमन्त्री अझसम्म सुकेधारा र महाराजगञ्ज धाइरहेका भेटिन्छन् ।

मुद्दाको मोलमोलाइ र सेटिङमा खडा भएको केही बद्नाम वकिलहरूको सिन्डिकेटले न्यायाधीश नियुक्तिमा पनि कोटा पाउने हैसियत बनायो । सिण्डिकेटधारी वकीलको सिफारिस वा फर्मबाट पालैपालो उच्च र सर्वोच्चमा नियुक्ति गरिए । यस्तो बेथितिको कानून व्यवसायी, कर्मचारी र न्यायाधीश वृत्तबाटै नागरिक सर्वत्र विरोध भइरहँदा पनि प्रधानन्यायाधीश र परिषद सदस्यहरू झनझन नाङ्गिदै गइरहेका छन् ।

विश्वम्भरको कार्यकाल धनको राज
विश्वम्भर प्रसाद श्रेष्ठ प्रधानन्यायाधीश बनेपछि त केही हुन्छकि भन्ने झिनो आशा बोकेकालाई पनि उनले लोप्पा ख्वाइदिए । उनको टिमका वरिष्ठतम् न्यायाधीश ईश्वर खतिवडा र कानूनमन्त्री धनराज गुरुङ यतिसम्म गरे कि उनीहरूको स्वदेश र विदेशमा डिल गरे । देशभित्र भद्र देखिने र विदेशमा लेनदेन मिलाउने यो हदको गतिविधि नेपाली पेनले खुलासा गर्यो ।

छोरा अपूर्व र बिचौलिया आशिष अधिकारीले ईश्वरको र पिए प्रेम के।सी। र स्याङ्गजा ठेगाना भएका एकजना निकै ठूला न्यायाधीशले मन्त्रीको बीचौलियाको काम गरेको पोल खुल्यो । नियुक्ति थाँती राखी ईश्वर र धनराज विदेश गए । धनराज गुरुङ त अष्ट्रेलिया र अमेरिका पटक पटक धाए । धनराजका छोरा र बुहारीको खातामा निकै ठूलो रकम जम्मा भएकोमा अष्ट्रेलियामा ट्याक्सको इन्क्वायरीमा परेको समाचार पनि बाहिरियो । धनराजले त केही सहकारी ठग र दुई नम्बरी काम गर्नेहरूसँग पार्टनरसिप गरी सानफ्रान्सिस्कोमा रिसोर्ट र घर खरिद गरेको नेपाली पेनको समाचार अखण्डित रहे । ईश्वर र धनराजमार्फत प्राप्त भागबण्डामा विश्वम्भर रमाए । अहिलेको नयाँ टिम आएपछि भने पत्नी, छोरी ज्वाइँ र पिए मार्फत छुट्टै र प्रकाश राउतमार्फत् संस्थागत उठनीपुठनीमा विश्वम्भर लागे । साली मेरिना श्रेष्ठलाई उच्चमा न्यायाधीश बनाएपनि नाति मनिष श्रेष्ठलाई न्यायाधीश बनाउने विश्वम्भरको सपना सफल हुन पाएन । मेघराज पोखरेलसँगको सेटिङ विफल भयो । मेघराज स्वयंले नेपाली पेनलाई फोन गरी आफू न्यायाधीश नबन्ने नेपाली पेनलाई स्पष्ट पारे।

लेनदेन मिलेपछि सिफारिस
विद्या भण्डारीलाई सपथ खुवाउँदा खुवाउँदै जबरजस्ती अवकासको पत्र काटी गोपाल पराजुलीलाई पदच्यूत गराउन, भक्तपुर जिल्ला अदालत र सर्वोच्च अदालत भवन निर्माण ठेक्का अनियमिततामा मतियार बनेबापत चोलेन्द्रले निजामति सेवा ऐन, २०४९ को दफा २१९१०९ख० ले अनिवार्य गरेको न्यूनतम ५ वर्षको अवधि नपुग्दै सचिव बनेको मिति २०७३।१०।०६ को २ वर्ष ८ दिनमै अर्थात २०७५।१०।१४ मा मुख्य रजिष्ट्रार पुरस्कार दिएका नृपध्वज निरौलालाई उनै चोलेन्द्रले त्यसको २ वर्षपछि २०७७।१०।१२ मा पुनः मुख्य न्यायाधीश बनाए । त्यतिखेर अदालतका भवन निर्माण ठेक्कापट्टा र सर्वोच्चको बजेट अनियमिततामा भागबण्डा गर्दा निरौलाले आफूलाई हिस्सा नदिएको भनी असन्तुष्ट भएका दिपक कुमार कार्कीले निरौलालाई मुख्य न्यायाधीश बनाउने निर्णयमा नोट अफ डिसेन्ट लेखेका थिए । त्यतिमात्र नभई कामु प्रधानन्यायाधीश भएपछि निरौलालाई पाटनबाट सुर्खेत लखेटेका थिए ।

आफू सिनियरिटिको मुख्य न्यायाधीश भएकोले सर्वोच्च लानुपर्ने अडान नातेदार ईश्वर खतिवडासमक्ष राखेका निरौलाले लेनदेन नगर्दा अघिल्लोचोटी सर्वोच्च आउन सकेनन् । एमालेको कट्टर कार्यकर्ता भएकोले पैसा नखुवाउने तर ओलीको फोर्समा सित्तैमा सर्वोच्च छिर्ने उनको अडानलाई उनीभन्दा कनिष्ट ढुङ्गाना र पौडेलले ईश्वर राजीखुसी पारी अष्ट्रेलियामा धनराज पुत्र विभाषसमक्ष छुट्टै धन चढाएपछि निरौलालाई बाइपास गरी हिस्स बनाए । अहिले पाटनमा बसेको फाइदा निरौलाले राम्रैसँग उठाए, विश्वम्भरलाई ठूलै लेनदेन गरी जातेजाते आफ्नो नाम सिफारिस गर्न बाध्य बनाए ।

त्यस्तै गृहमन्त्री रमेश लेखकको साँढुभाइ नाताका नित्यानन्द पाण्डे दामोदर प्रसाद शर्माको पालामा ८० जनाको डफ्फामा काङ्ग्रेस कोटाबाट न्यायाधीश बनेपनि ३० नं। क्रमसंख्यामा रहेको बेला विश्वम्भरकै कार्यकालमा धनराज कानूनमन्त्री भएको बेला ईश्वर खुसी पारी २९ जना सिनियरलाई पन्छ्याइ मुख्य न्यायाधीश बनेका थिए । अहिले आफ्नै साँढु गृहमन्त्री हुँदाहुँदै पनि कन्चनपुरका पाण्डेले डोटीका विश्वम्भरलाई राम्रै लेनदेन गरेपछि मात्र उनलाई अवकासको मुखमा रहेकै बेलामा पनि सर्वोच्च ल्याउन विश्वम्भर राजी भएका थिए । विश्वस्त स्रोतका अनुसार छुट्टै भेटी नचढाइ गृहमन्त्री लेखकको सिफारिस र विश्वम्भरको जोडबलको आधारमा मात्र पाण्डेलाई सर्वोच्च ल्याउन मन्त्री अजय चौरासिया मानेनन् ।

बारको सशक्त विरोधको बाबजुद पनि निरौला र पाण्डेलाई जबरजस्ती सर्वोच्च सिफारिस नगरी नहुने बाध्यताको पछाडि लेनदेन नै भएको बार अध्यक्ष गोपालकृष्ण घिमिरेको आधिकारिक भनाइ मिडियामा सार्वजनिक भएको छ ।

आशिषको सर्वोच्च आउने सेटिङ स्थगित
नेपाली पेनले चोलेन्द्र कार्यकालका बीचौलिया आशिष अधिकारीको सर्वोच्चको न्यायाधीश बन्ने योजना छताछुल्ल पारिदिएपछि प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठले वरिष्ठ अधिवक्ता नभएको बहानामा अधिकारीलाई सर्वोच्च छिर्न अवरोध तेर्स्याए । भ्रष्टाचारको मुद्दा लाग्ने भयले सताएका ज्ञानेन्द्र बहादुर कार्की र मोहन बहादुर बस्नेतको टेरामेक्स भ्रष्ट्राचारको मुद्दामा अख्तियारका आयुक्त किशोर सिलवालमार्फत सेटिङ मिलाइ मुद्दा नचलाउने तारताम्य मिलाएवापत प्राप्त कमिसनबाट सर्वोच्च आउन लागेका आशिष अधिकारीको लेनदेन कानूनमन्त्रीमात्र नभई बुढानिलकण्डको शक्तिकेन्द्र पनि रहेको बुझिएको छ। यसको सुत्रधार ज्ञानेन्द्र बहादुर कार्की भएको सार्वजनिक भइसकेको छ । अवकासको मुखमा आएर विश्वम्भरले आशिषलाई वरिष्ठ अधिवक्ताको उपाधि दिएरै भएपनि सर्वोच्च ल्याउन विश्वम्भर कम्मर कसेर लागेका थिए । नेपाली पेनले यो योजना प्रकाशित गरिदिए पछि पनि वरिष्ठ अधिवक्ता दिएपनि आफूले भाग नपाएको झोँकमा परिषदका दुईजना वयोवृद्ध सदस्यले हिजो वरिष्ठ दिएर प्रमाणपत्र पनि नलिँदै आजै नियुक्ति गर्न हुन्न भनी टाङ्ग अड्याएको र बारको नाराबाजी चलिरकेको कारण अधिकारीको सर्वोच्च जाने योजना हाललाई स्थगित भएको छ ।

सिण्डिकेटको सेटिङ र पूर्ण बहादुरको भिटो
आफू वकील छँदा सिण्डिकेटकै सक्रिय सदस्य रहेपनि पूर्ण बहादुर खड्काको चाकरी गरेबापत कल्याणको पालामा सर्वोच्चको न्यायाधीश पड्काएका प्रकाशमान सिंह राउतले आफ्नो संयोजकत्वमा बनेको वरिष्ठ अधिवक्ता सिफारिस समितिलाई पूर्ण बहादुरको आदेश तामेल गर्ने अरौटेमा परिणत गरे । पूर्णबहादुरका दुईजना मुलाजिम प्र।प।नं।६०९६ भएमा २०५५।५।१४ मा अधिवक्ता भएका खम्म बहादुर खाती र प्र।प।नं।६३७० भएका २०५५।९।१ मा अधिवक्ता भएका अरुण पौड्याललाई निक्कै तलबाट तान्नुपर्दा १५९ जनाको जम्बो टोलीलाई वरिष्ठ बनाउनुपरेको पीडा सर्वोच्चकै एक न्यायाधीशले नेपाली पेनलाई बताए । अरुण पौड्याललाई १५९ नं। मा जबरजस्ती सिफारिस गरी २०५५ सालकै अन्यलाई छुटाउनुको पछाडिको प्रकाश राउतको रहस्य २०३१ साल जन्ममिति भएका पौड्याललाई आफ्नो कार्यकालमा प्रधानन्यायाधीशको रोलक्रममा राखी सर्वोच्च छिराउनु हो ।

अहिले काङ्ग्रेसको कोटामा सिण्डिकेटको सदाबहार उम्मेदवार डा। विजय प्रसाद मिश्रमाथि प्रतिनिधिसभा विघटनको मुद्दामा शेरबहादुर देउवाको विपक्ष र ओलीको पक्षमा बहस गरेको, बारको चुनावमा सुनिल पोखरेलको टिमलाई अन्तर्घात गरेको, बालमन्दिरको मुद्दामा रितासिंह वैद्यको विपक्षमा बहस गरेको जस्ता आरोप काङ्ग्रेस नेतृत्व तहबाटै लागेको छ । तरपनि उनलाई सिण्डिकेटका हरिरह दाहाल, खम्मबहादुर खाती, प्रेमबहादुर खड्का, शम्भु थापा, रमनकुमार श्रेष्ठ, चण्डेश्वर श्रेष्ठ, टिकाराम भट्टराई लगायतको ठूलो साथ र रमेश लेखकको समर्थन छ ।

टेक नारायणको सर्वोच्चको सपना
सपना मल्ल न्याय परिषदमा आएपछि सर्वोच्च छिर्ने सपनामा विशेष अदालतका न्यायाधीश टेकनारायण कुँवर छन् । विशेष अदालतमा ठूला भ्रष्ट्राचारका मुद्दामा सफाइ दिने र स(साना माछा फँसाउने उनी माहिर छन् । उनको विरुद्ध गम्भीर प्रकृतिका भ्रष्ट्रार मुद्दा न्याय परिषदमा विचाराधीन छन् । निष्पक्ष छानविन हुने हो भने उनी दोस्रो नवराज थपलिया बन्ने निष्चित छ । उनी पूर्व राष्ट्रपति विद्या भण्डारीदेखि काङ्ग्रेसका गगन थापा सम्मको ढोका चाहार्दै हिँडेको तथ्य सार्वजनिक भएको छ । आफू सपना मल्लको खास मान्छे भएकोले उनी परिषदमा भएको बेला कारबाही हुनु त परको कुरा सर्वोच्च छिर्ने सेटिङ मिलिसकेको कुरा टेकनारायण निकटस्थ हरूसँग बताउँदै हिँडेका छन् । आफ्नै जिल्लाका गिरी कानूनमन्त्री भएको बेला सर्वोच्च जान बुझाएको लक्की नं। को बिटो पूरा फिर्ता पाइनसकेकोले उनी अहिले पनि गिरी निवास धाइरहेका भेटिन्छन् ।

चोलेन्द्रका ‘बीचौलिया’ आशिषलाई सर्वोच्चको न्यायाधीश बनाउन के के भयो

सर्वोच्चको न्यायाधीश नियुक्तिमा कल्याणकै सेटिङ, यसरी चल्दैछ चलखेल

न्यायाधीश बनाउन करोडौंको डिल, विदेशसम्म दौडधूप

न्यायाधीश बनाउन पैसा, पावर र नातावादको नालीबेली

गोविन्दराज, धनराज र सूर्यनाथको त्रिकोणीय प्रतिशोधमा बालकृष्ण श्रीमान शिखण्डी

न्यायाधीश नियुक्तिमा कल्याण-विश्वम्भर साँठगाँठ

 

प्रतिक्रिया