२ आश्विन २०८१, बुधबार | September 19, 2024

पौडीमा जगतमानको ‘हात्ति आतंक’ कायमै, संघ बन्यो व्यापारको अखडा


September 15, 2024
1.1k
Shares

काठमाडौं, ३० भाद्र । नेपाल पौडी संघभित्र पौडीको विकासभन्दा विदेश शयर र व्यक्तिगत लाभ लिन खोज्ने प्रवृत्ति चल्दै आएकै हो । संघमा विदेशबाट आउने अनुदानका कारणले पनि कतिपय पदाधिकारीले र्याल चुहाउँदै आएका हुन् । यसकारण पनि संघमा पदाधिकारी बन्ने हानथाप हुने गरेको छ ।

संघमा अशोक बज्राचार्यले आफूलाई अध्यक्षकै रुपमा प्रस्तुत गर्दै आएका छन् । तर, जगतमान श्रेष्ठ आफूलाई आधिकारिक अध्यक्ष दाबी गर्छन् । प्रहरीमा जागिरबाट अवकाश लिएका जगतमान पछिल्लो समय बालेन साहसँग नजिक पनि छन् । उनले पौडी संघ कब्जा गरेर के के नै गरौंला जस्तो त गरे तर महँगीको मारमा खेलाडी र अभिभावकलाई पारिरहेका छन् ।

विगतमा पाँच सय दर्ता शुल्क लिएर वार्षिक पौडी प्रतियोगिता गर्दै आएकोमा असारमा प्रतियोगिता गर्दा हजार पुर्याए । तीन महिनापछि त उनले तीन स्पर्धाभन्दा बढी खेल्नेलाई स्पर्धापिच्छे अर्को हजार थप्न वाध्य बनाए ।

जगतमान श्रेष्ठको चौतर्फी विवाद भएपछि शुल्कबारे निर्णय उल्टाउने चर्चा पनि चल्यो । अभिभावक देखि खेलाडी र खेलप्रेमीले समेत आवाज उठाए । तर, जगतमानले हठ छाडेनन् । उनले प्रतिस्पर्धा हजार असुल्ने निर्णयलाई निरन्तरता दिने निर्णय लिए ।

यसपटक पौडी प्रतियोगितामा धेरै खेलाडी ५ भन्दा बढी स्पर्धामा भाग लिदैछन् । त्यस्ता खेलाडीले अब विगतमा जस्तो पाँच सयमा प्रतिष्पर्धा गर्न पाउँदैनन् । उनीहरुले ५ देखि १० हजारसम्म शुल्क तिर्नुपर्ने वाध्यता भएको छ ।

पौंडी खेल्ने र खेलाउनेसँग बेस्सरी पैसा हुन्छ भन्ने सोचका साथ जगतमान र पौडी संघका पदाधिकारीले पछिल्लो निर्णय लिएका हुन् । तर, पौडी खेलाउने अधिकांश अभिभावक गरिखाने वर्गका हुन् । खेल पदाधिकारीलाई खेलाडी उत्पादनमा भन्दा खेलका नाममा व्यापार र विदेश शयर गर्ने धन्दा नै रहेको पछिल्लो कदमबाट प्रष्ट हुन्छ ।

नेपालमा कुनैपनि खेलसँग सम्बन्धित संघले व्यापार गर्न मिल्दैन । तर, पौडी संघले चर्को दर्ता शुल्क बनाएर व्यापार गर्न थालेको छ । यसबारे राष्ट्रिय खेलकूद परिषद्का सूचना अधिकारी खुशराज दाहाललाई सोध्दा उनले आफूहरुलाई कुनै जानकारी नआएको बताए । उनले शुल्कबारे गुनासा आएकाले बुझ्ने समेत बताए ।

पौडी संघमा बालेनका जगतमानबाट ‘हात्ति आतंक’

 

प्रतिक्रिया