३१ भाद्र २०८१, सोमबार | September 16, 2024

छायाँ सेन्टर भत्काउने आदेश रोक्न पृथ्वीबहादुर पाण्डे समूहको दौडधूप


September 4, 2024
30.5k
Shares

काठमाडौं, १९ भाद्र । ऐतिहासिक कमलपोखरी हडपेर बनाइएको छायाँ सेन्टरबारे निर्णय लिने गरी सर्वोच्च अदालतले प्रमाणहरु जुटाइरहेको छ । एकपछि अर्को प्रमाणहरु सरकारी निकायबाट आदेशसहित निकालेपछि अदालत अन्तिम फैसलाको तयारीमा पुगेको हो । त्यसअघि विगतमा पोखरीको जग्गा सरकारको नाममा दर्ता भएको मिसिल झिकाउन आदेश आएको छ ।

१७ भाद्रमा सर्वोच्चका न्यायाधीशद्वय अब्दुल अजीज मुसलमान र बालकृष्ण ढकालको इजलाशले २३ मंसिर २०४४ मा छायाँ सेन्टर बनाइएको कित्ता नं १६७ र १०४० को जग्गा नेपाल सरकारको नाममा २३ मंसिर २०४४ मा दर्ता गर्ने भनी निर्णय भएकाले मिसिल झिकाउने २०८० चैत्र २० को आदेश अनुसार नभएकाले झिकाउन भनिएको छ । अब उक्त मिसिल अध्ययन गर्ने र सर्वोच्चले प्रमाणका आधारमा निर्णय लिने भएको छ ।

छायाँ सेन्टर ऐतिहासिक पोखरीमा बनेको तथ्य प्रमाणहरु सबै अदालतमा जुटिसकेको छ । अब सरकारको नाममा दर्ता भएको जग्गाको मिसिल हेरेपछि ऐतिहासिक फैसला आउने बुझिएको छ । छायाँ सेन्टरमा अरबौं लगानी गर्ने पृथ्वीबहादुर पाण्डे र उनको समूह फैसला रोक्न मरिमेटेर लागेको छ ।

विश्वस्त स्रोतका अनुसार विचौलियामार्फत् पाण्डे समूह सर्वोच्च अदालतका प्रधानन्यायाधीश र न्यायाधीशहरुसम्म पुग्न खोजेका छन् । उनीहरु साम, दाम, दण्ड भेद लगाएर भएपनि छायाँ सेन्टर जोगाउने दाउमा छन् । तर, अदालतमा मुद्दा दायर गर्ने भागवतनरसिंह प्रधानले सार्वजनिक पोखरीमा छायाँ सेन्टर ठडिएको प्रमाण प्रस्तुत गरेका छन् । यसले सर्वोच्चले फैसलामा पृथ्वीबहादुर पाण्डे समूहको पक्षमा जाने अवस्था देखिदैन ।

छायाँ सेन्टरमा पोखरीमा ठड्याउन पाण्डेले ठूलै शक्ति लगाएका थिए । सरकारको उच्च पदमा रहेका देखि सुरक्षा निकायका तत्कालीन प्रभावशाली व्यक्तिहरुलाई समेत गोल्डेन शेयर दिएका थिए । उनले बल प्रयोग गरेर छायाँ सेन्टर ठड्याएपनि भत्कने अवस्था बनेको छ । त्यहाँ बनेको पाँच तारे होटल देखि व्यापारिक सटरहरुको भविष्य संकटमा परेको छ ।

प्रतिक्रिया