३१ भाद्र २०८१, सोमबार | September 17, 2024

प्रधानसेनापति प्रभुराम शर्माको कार्यकालमा के के भयो


September 4, 2024
830
Shares

काठमाडौं, १९ भाद्र । प्रधानसेनापति प्रभुराम शर्मा बिदामा बसिसकेका छन् । उनी २५ भाद्रबाट सेवानिवृत्त हुनेछन् । त्यसअघि उनको बिदाई कार्यक्रम हुँदैछ बुधबार ।

शर्मा नेपाली सेनाको प्रधानसेनापति हुने पहिलो बाहुन जातिका हुन् । काठमाडौंका स्थायी बासिन्दा शर्मा शालिन स्वभावका छन् । उनले तीन वर्षे कार्यकालमा सार्वजनिक रुपमा पनि सालिनता प्रदर्शन गरे । तर, शालिनताका साथ कडा चेतावनीसहितका अभिव्यक्ति पनि दिए ।

शर्माले सुरक्षा क्षेत्रमा चलेका एनजीओ आइएनजीओको गतिविधिको सार्वजनिक आलोचना गरे । सेनाको संख्या घटाउने अभिव्यक्ति दिने र रिपोर्ट बनाउनेहरुलाई चेतावनी समेत दिए ।

शर्माको कार्यकालमा पूर्णचन्द्र थापाले सुरु गरेका केही नीति खारेज गरिदिए । थापा र त्यसअघिका प्रधानसेनापतिले सुरु गरेका तीन जोड एक कमाण्ड संरचना, सम्पत्ति विरण सार्वजनिक गर्ने नीतिलगायत खारेज भए ।

उनले फाष्ट ट्रयाकको रोकिएका ठेक्का बढाउन लगाए । तर, त्यो विवादमुक्त भने भएन । फाष्ट ट्रयाकमा भ्रष्टाचारको विषय उठ्ने गरेको छ ।

शर्माको कार्यकालमा सेनाको भावी नेतृत्वबारे भने निकै विवाद भयो । नागरिकता प्रकरणमा ताराध्वज पाण्डेले राजीनामा दिए । उनलाई सेनापति शर्माले नै राजीनामा दिन वाध्य पारे । त्यसपछि सेनाको नेतृत्वको अवसर जर्नेल अशोकराज सिग्देललाई आइलाग्यो । उनको नागरिकता प्रकरण पनि विवादमा पर्यो । तर, शर्मा उनको पक्षमा उभिए ।

नेपाली सेनाको गौरवशाली इतिहासलाई कायमै राख्न प्रधानसेनापति भएकाहरुको व्यवहारले केही असर भने गर्दै आयो । तर, शर्माले सेनालाई बदनाम गराउने र बिगार्ने काम गरेनन् । उनी सफल सेनापतिका रुपमा बिदा हुने भए ।

प्रतिक्रिया