३१ भाद्र २०८१, सोमबार | September 17, 2024

आरजुलाई बोक्दा देउवाको कुर्सी धरापमा


September 1, 2024
1.2k
Shares

काठमाडौं, १६ भाद्र । देशमा एकातर्फ महिला प्रधानमन्त्री बन्ने चर्चा चलिरहेको छ भने अर्कोतर्फ नेपाली काँग्रेसभित्र देउवा दम्पत्ति कडा दबाब थेग्न थालेका छन् । खासगरी आरजु देउवालाई परराष्ट्रमन्त्री बनाइएपछि काँग्रेसमा लामो संघर्ष गरेका नेताहरु सतर्क भइसकेका छन् ।

आरजुको सक्रियता झन् बढेको छ । भारत भ्रमणमा उनले निकै महत्व पाइन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेटिन् । काँग्रेसभित्र र सरकारमा उनकै हालीमुहाली देखिन्छ । झन् प्रधानमन्त्री केपी शर्मा ओलीले महिला प्रधानमन्त्री बन्ने बताइदिए । यसले काँग्रेसभित्र तरंग नै आयो ।

आरजुलाई देउवा क्याम्पकै नेताहरुले रुचाउँदैनन् । उनीहरु सभापति शेरबहादुर देउवालाई स्वीकारेपनि आरजुलाई स्वीकार्दैनन् । पूर्णबहादुर खड्का, बालकृष्ण खाँड मात्र नभई एनपी साउद पनि आरजुप्रति सकारात्मक छैनन् ।

आरजुको सक्रियता र प्रभाव बढ्दै जाँदा काँग्रेसभित्र देउवाको विकल्प खोज्ने प्रयास चलिसकेको छ । महामन्त्रीहरु गगन थापा र विश्वप्रकाश शर्मा एकजुट भइसके देउवाको विकल्प खोज्न । केन्द्रीय कमिटी बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले देउवालाई अब प्रधानमन्त्री नबन्न र त्याग गर्न सुझाव दिए । उनले पार्टीका छ जना नेताहरुको नामै लिएर प्रधानमन्त्री बनाउन भने । जसमा प्रकाशमान सिंह, डा. शेखर कोइराला, विमलेन्दै निधि, डा. सशांक कोइराला, पूर्णबहादुर खड्का र अर्जुननरसिंह केसीको नाम थियो ।

देउवालाई अबको प्रधानमन्त्री बन्न नदिने कसरतका रुपमा यसलाई हेरिएको छ । आरजु देउवालाई भावी प्रधानमन्त्रीमा अस्वीकार गर्ने सन्देशका रुपमा पनि यसलाई हेरिएको छ । आरजुलाई बढाउन खोज्दा देउवालाई ठूलै झड्का लाग्ने संकेत मिलिसकेको छ । आरजुलाई राजनीतिमा अगाडि बढाउन बोक्दा देउवाको कुर्सी समेत धरापमा परेको देखिदैछ ।

प्रतिक्रिया