३१ भाद्र २०८१, सोमबार | September 17, 2024

मोदीसँग आरजुको के के कुरा भयो


August 20, 2024
1.1k
Shares

काठमाडौं, ४ भाद्र । परराष्ट्रमन्त्री बनेपछि आरजु राणाले पहिलो भ्रमण भारतको गरिन् । उनले भ्रमणको दोस्रो दिन ३ भाद्रमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटको अवसर पाइन् । साँझ भएको भेटमा राणाले मोदीलाई नेपाल भ्रमणको निम्तो दिइन् ।

मोदीले युक्रेन भ्रमण गर्ने भएकाले राणालाई सोमबार नै भेटको अवसर दिए । राणाले मोदीसँग भेट्दा भारतका सुरक्षा सल्लाहकार अजित दोभाल, विदेशसचिव विक्रम मिस्री, नेपालका लागि भारतका राजदूत नविन श्रीवास्तव पनि थिए ।

भेटपछि जारी गरिएको विज्ञप्तिमा आपसी हितका विविध क्षेत्रमा भारत–नेपाल सहकार्यलाई थप सुदृढ बनाउने तरिकाबारे छलफल भएको जनाइएको छ ।
सोमबार नै राणाले भारतका विदेशमन्त्री एस जयशंकरसँग दिवाभोजसहितको भेट गरेकी थिइन् ।

भारतका विदेशमन्त्रीको निमन्त्रणामा भाद्र २–६ गतेसम्म भारतको औपचारिक भ्रमणमा गएकी हुन् परराष्ट्रमन्त्री राणा । भारतका विदेशमन्त्रीसँगको भेटमा विभिन्न द्विपक्षीय पहल र विकास परियोजनाहरुमा भएको प्रगतिको समीक्षा गर्नुका साथै पारस्परिक लाभदायी सहकार्यका विद्यमान र नयाँ क्षेत्रमा थप सहयोगका अवसरहरुबारे पनि छलफल भएको उल्लेख छ ।

विज्ञप्तिमा गहिरो ऐतिहासिक, सभ्यतागत, साँस्कृतिक र जनता–जनताबीचको सम्बन्ध रहेको भारत र नेपाल घनिष्ठ र हितैषी छिमेकीहरु हुन् । हालैका वर्षहरुमा भारतको सहयोगमा नेपालमा सञ्चालित परियोजनाहरुले गति हासिल गरेको र विशेष गरी पूर्वाधार, अन्तरदेशीय रेलमार्ग, सडक र पुलसँग सम्बन्धित अन्य परियोजना, एकीकृत जाँच चौकी, पेट्रोलियम पाइपलाइन र डिजिटल वित्तीय कनेक्टिभिटी लगायत कनेक्टिभिटीका क्षेत्र जस्तैं भौतिक, डिजिटल साथसाथै जनता–जनताबीचको सम्बन्धमा प्रकट भएको उल्लेख छ ।

नेपालले अब करिब १००० मेगावाट विद्युत निर्यात गर्न सक्ने र यसले नेपालका लागि आम्दानी र भारतका लागि स्वच्छ ऊर्जाका थप स्रोतहरुको सिर्जना गर्नेबारे चर्चा गर्दै दुवै पक्षले ऊर्जा सहकार्यको क्षेत्रमा पारस्परिक लाभदायी साझेदारीमा भएको प्रगतिका बारे कुरा भएको जनाइएको छ । दीर्घकालीन ऊर्जा व्यापार सम्झौताको कार्यान्वयनका कारण ऊर्जा सहकार्यको क्षेत्रमा उपलब्ध अभूतपूर्व अवसरहरु उपर छलफल भएको छ ।

नेपाल र भारतबीच सहकार्यको अर्को क्षेत्रका रुपमा खेलकुद उदाइरहेको उल्लेख गर्दै नेपाली क्रिकेट टोलीका लागि हालै बैंगलोरस्थित नेशनल क्रिकेट एकेडेमीमा व्यवस्था गरिएको प्रशिक्षण कार्यक्रमको पनि सराहना गरिएको छ ।

प्रतिक्रिया