३१ भाद्र २०८१, सोमबार | September 17, 2024

भारतका विदेश सचिव मिस्रीले क कस्लाई भेटे


August 12, 2024
249
Shares

काठमाडौं, २८ साउन । भारतका विदेश सचिव विक्रम मिस्रीले दुई दिने नेपाल भ्रमणमा महत्वपूर्ण भेटवार्ता गरेका छन् । उनले विकास परियोजनाको उद्घाटन गर्नुका साथै पशुपतिनाथको दर्शन पनि गरे साउनको अन्तिम सोमबार आज ।

मिस्री भारतीय वायुसेनाको विमानबाट आइतबार काठमाडौं उत्रिएका थिए । उनी लैनचौरस्थित भारतीय राजदूतावास गई विरुवा रोपेका थिए । त्यसपछि शहरी विकास मन्त्रालयका सचिव मणिराम गेलालसँगै काठमाडौंको रक्तकालीमा प्रख्यात नेपाली कवि केशरी चित्तधर ‘हृदय’सँग सम्बद्ध ऐतिहासिक आवासीय भवन ‘नेपाल भाषा परिषद्’को पनि संयुक्त रुपमा उद्घाटन गरे । २०७२ सालको विनाशकारी भूकम्पपछि भारत सरकारको सहयोगमा अघि बढाइएका २८ वटा सांस्कृतिक क्षेत्र पुनर्निर्माण परियोजनामध्ये उक्त भवन एक हो ।

उनले आइतबार भारतका विदेश सचिव श्री विक्रम मिस्रीले नेपालका परराष्ट्र सचिव श्री सेवा लम्सालको निमन्त्रणामा मिति २०८१ श्रावण २७ गतेदेखि २८ गतेसम्म नेपालको औपचारिक भ्रमण गर्नुभयो । गत महिना विदेश सचिवको रुपमा कार्यभार सम्हालेपछि यो वहाँको पहिलो नेपाल भ्रमण हो ।

मिस्रीले सोमबार आफ्ना नेपाली समकक्षी सेवा लम्साललाई भेटे । भेटमा बृहत छलफलले भारत र नेपालबीचको बहुआयामिक सहकार्यका विभिन्न पक्षलाई समेटेको जनाइएको छ । दुवै सचिवले विभिन्न द्विपक्षीय पहल र विकास परियोजनाहरुमा भएको प्रगतिको समीक्षा गर्नुका साथै थप सहकार्यका लागि अवसरहरुबारे छलफल गरेका थिए । परराष्ट्र सचिव लम्सालले भ्रमणमा रहेका भारतीय प्रतिनिधिमण्डलका लागि दिवाभोजको पनि आयोजना गरिन् ।

उनले आइतबार राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेटवार्ता गरे । दुवै राष्ट्रपति तथा प्रधानमन्त्रीलाई भारतका नेतृत्वको तर्फबाट शुभकामना व्यक्त गर्दै दुई देशबीचको द्विपक्षीय सहकार्यका विविध पक्षहरुमा भइरहेको प्रगतिका बारेमा पनि जानकारी गराएको उल्लेख छ ।
आइतबार नै काँग्रेस सभापति शेरबहादुर देउवालाई बुढानिलकण्ठ र माओवादी अध्यक्ष प्रचण्डलाई खुमलटार पुगेर भेटे । उनले नागरिक समाजका विभिन्न व्यक्तिहरुलाई पनि भेटेका थिए ।

सोमबार उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंह, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक र परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग शिष्टाचार भेटवार्ता गरे । भेटहरुमा विविध पारस्परिक लाभदायी क्षेत्रमा भारत–नेपाल सहकार्यलाई थप सुदृढ गर्ने तरिकाबारे छलफल भएको जनाइएको छ ।

भेटघाटका क्रममा दुवै पक्षले ऐतिहासिक, साँस्कृतिक, सभ्यतागत तथा जनता–जनताबीचको सम्बन्धमा गाँसिएको भारत र नेपालबीचको गहिरो र मैत्रीपूर्ण सम्बन्धमाथि जोड दिए । दुवै पक्षले हालैको वर्ष द्विपक्षीय सहकार्य विशेष गरी कनेक्टिभिटीका विभिन्न क्षेत्र जस्तैं भौतिक, डिजिटल, ऊर्जा र जनता–जनताबीचको सम्बन्धमा हासिल उल्लेखनीय प्रगतिमा सन्तोष व्यक्त गरे जुन सडक, पुल, एकीकृत जाँच चौकी, अन्तरदेशीय रेलवे साथसाथै पेट्रोलियम पाइपलाइन सम्बन्धी पूर्वाधार परियोजनाको निरन्तर कार्यान्वयनमा प्रकट भएको जनाइएको छ ।

दुवै पक्षले ऊर्जा सहकार्यको क्षेत्रमा पारस्परिक लाभदायी साझेदारीमा भएको प्रगतिको प्रशंसा गरे । पछिल्ला वर्षहरुमा ऊर्जा सहकार्यको क्षेत्रमा उल्लेख्य प्रगति भएको छ । यस सन्दर्भमा पछिल्लो २–३ वर्षमा नेपालबाट भारततर्फ हुने विद्युत निर्यातमा भएको बढोत्तरीले नेपालका लागि आम्दानी र भारतका लागि स्वच्छ ऊर्जाका थप स्रोतहरुको सिर्जना गरेकोमा दुवै पक्षले खुशी व्यक्त गरे । सन् २०२६ मा नेपाललाई अतिकम विकसित राष्ट्र (एलडीसी) को हैसियतबाट स्तरोन्नति गर्नमा ऊर्जा क्षेत्र सहकार्यले खेलेको भूमिका उपर पनि छलफल भयो ।

सोमबार साँझ मिस्री नयाँ दिल्ली फर्किएका छन् । उनले विदेश सचिव भएपछि भुटानपछि नेपाल भ्रमण गरे ।

प्रतिक्रिया