३ आश्विन २०८१, बिहिबार | September 19, 2024

बंगलादेशमा हिन्दू, बौद्धमाथिको आक्रमणको निन्दा, शनिवार काठमाडौंमा श्रद्धाञ्जली सभाको घोषणा


5.6k
Shares

काठमाडौं, २४ साउन । बंगलादेशमा निहत्था हिन्दू, बौद्ध र अल्पसंख्यकहरुप्रति भईरहेको आक्रमण, लुटपाट र हत्याको  कडा निन्दा र भत्सर्ना गरिएको छ । आज काठमाडौंमा हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियानले आयोजना गरेको विमर्श वैठकमा निहत्था गैरमुस्लिमहरुमाथि गरिएको आक्रमण, हत्या लगायतका अमानवीय व्यवहारको भत्सर्ना गरिएको हो ।

आज अभियानले बंगलादेशको घटनालाई लिएर विविध संघसंस्था र पत्रकारहरुको बिचमा विमर्श बैठक आयोजना गरेको थियो ।

पूर्व प्रधानन्यायाधिश गोपाल पराजुलीले बंगलादेशमा गैरमुस्लिम समुदायमाथिको आक्रमण मानवता विरोधी कार्य भएकोले जति भत्सर्ना गरे पनि कम हुने बताउनु भयो । पराजुलीले सार्क राष्ट्रको अध्यक्षको हैसियतले नेपाल सरकारले दिएको प्रतिक्रिया निरिह भएको बताउनु भयो ।

हिन्दू स्वयंसेवक संघका राष्ट्रिय संघचालक कल्याणकुमार तिम्सिनाले बंगलादेशमा भइरहेको हिन्दू र अल्पसंख्यक माथिको अत्याचार विरुद्ध सशक्त आवाज उठाउन आवश्यक रहेको बताउनु भयो । पिडितको आवाज अन्तराष्ट्रिय गर्न सशक्त दबाबको आवश्यकता रहेको तिम्सिनाले औंल्याउनु भयो ।

परामर्श वैठकले नेपाल सरकार, सरकारका निकाय र अन्तराष्ट्रिय दातृ निकायको ध्यानाकर्षण र विरोध अभियानका लागि दस्तावेज तयार गर्न ३ सदस्यीय मस्यौदा समिति गठन गरेको छ । मस्यौदा समितिमा केशव प्रसाद चौंलागाई, सन्तोष आचार्य र रेणुका खरेल रहनु भएको छ ।

परामर्श वैठकले हिन्दू, बौद्ध लगायतका धार्मिक सांस्कृतिक संघसंस्थाले शनिवार संयुक्त रुपमा बंगलादेशमा आक्रमणमा मारिएका हिन्दू, बौद्ध लगायतका अल्पसंख्यकको सम्झनामा श्रद्धाञ्जली सभा गर्ने भएको छ । शनिवार अपरान्ह ४ बजे माइतिघरमा श्रद्धाञ्जली सभा गर्ने भएको हो ।

वैठकमा स्वागत मन्तव्य राख्नु हुँदै अभियानका महासचिव देवेश झाले सशक्त प्रतिरोध नभए अतिवादीहरुको अत्याचार बढ्ने बताउनु हुँदै बंगलादेशका अल्पसंख्यकको न्यायका लागि सशक्त प्रतिरोध हुनु पर्ने बताउनु भयो ।

वैठकमा बंगलादेशको हिंशामा मारिएका हिन्दू लगायतका अल्पसंख्यकको सम्झनामा मौन धारण गरि शान्ति पाठ समेत गरिएको थियो ।

प्रतिक्रिया