३१ भाद्र २०८१, सोमबार | September 17, 2024

चर्चित ‘पर्पला’का लेखक मिलन सङ्ग्रौलाको उपन्यास ‘बावऋ’ सार्वजनिक


1.1k
Shares

काठमाडौं । चर्चित उपन्यास ‘पर्पला’ का लेखक मिलन सङ्ग्रौलाद्धारा लिखित दोस्रो उपन्यास ‘बावऋ’ लोकार्पण गरिएको छ । काठमाडौंमा जारी किताब जात्रा साहित्यिक महोत्सवमा शुक्रबार लेखकद्वय प्रवीण खतिवडा र सगुना शाहले पुस्तक लोकार्पण गरे ।

कार्यक्रममा ‘बावऋ’माथि अन्तरसंवादसमेत गरिएको थियो । बादल, वर्षा र ऋतुको त्रिकोणात्मक प्रेमकथा मात्र नभई बाबु–छोराको सम्बन्ध, द्वन्द्वकालीन समयको भोगाइ, होस्टेल जीवन, गीत र खेल अनि सपना आदिको मीठो प्रस्तुति ‘बावऋ’ रहेको लेखक सगुना शाहले बताइन् ।

सबै किसिमका पाठकका लागि उपयोगी उपन्यास आएको भन्दै उनले भनिन्, ‘उपन्यासको भाषाशैली आकर्षक छ, यसले पाठकलाई बाँधेर राखिरहन्छ ।’ उपन्यास आदर्श प्रेमको कथ्यमा आधारित रहे पनि यसले समाजका धेरै तहलाई उधिनेको अर्का वक्ता एवम् लेखक प्रवीण खतिवडाको भनाइ छ । ‘मुख्य पात्रको यात्रासँगै आउने सहायक पात्रहरूको कथाले पनि उपन्यासलाई निकै ओजिलो बनाएको छ,’

उपन्यासको फर्म र कथ्य शैली आफूलाई मन परेको खतिवडाले जनाए । ‘उपन्यासले हालको राज्यसत्ता र यसका सरोकारवालालाई एउटा ठूलो प्रश्न पनि गरेको छ,’ उनले भने ।

आफूले साढे पाँच वर्ष उपन्यासका कथा र पात्रहरूसँगै बाँचेर ‘बावऋ’ लेखन पूरा गरेको लेखक मिलन सङ्ग्रौलाले बताए । ‘मैले किशोर अवस्थामा भोगेको एक कालखण्डको भोगाइसँग उपन्यास नजिक छ,’ उनले थपे, ‘एउटा कालखण्डको भोगाइसँगै हुर्किएको एउटा प्रेमकथा हो— ‘बावऋ’ । मनैदेखि भन्न मन लागेको यो कथा अब पाठकका हातमा पुगेको कुराले म एकदम पुलकित छु ।’

कथासङ्ग्रह ‘च्याट गर्ल’ र उपन्यास ‘पर्पला’ लेखिसकेका सङ्ग्रौलाको ‘बावऋ’ तेस्रो कृति हो । फाइनप्रिन्टले प्रकाशन गरेको यस कृतिको मूल्य ५६० रुपैयाँ छ ।

 

प्रतिक्रिया