२ कार्तिक २०८१, शुक्रबार | October 18, 2024

विद्युतको अरबौं महशुल बक्यौतामा चलखेल गर्ने को को


996
Shares

काठमाडौं, ८ साउन । डेडिकेटेड र ट्रंक लाइनमार्फत्को महशुल नतिर्ने उद्दोगीलाई ठेगान लगाउने र बचाउने खेलहरु चल्दै आएको छ । लाइन काट्ने प्रक्रिया बढेलगत्तै त्यस्ता उद्दोगीको दौडधूप चल्छ । उनीहरुले करोडौं घूस दिएर फेरि लाइन जोड्न वाध्य बनाउने गर्दै आएको विश्वस्त स्रोतले बताएको छ ।

केपी शर्मा ओली विगतमा प्रधानमन्त्री हुँदा पनि महशुल नतिर्नेको लाइन काट्ने विषय चलेको थियो । तर, ठाडो आदेशमा लाइन काट्न रोकियो । प्रचण्ड प्रधानमन्त्री हुँदा त लाइन नै काटियो । तर, महशुल नतिर्न उद्दोगीले अनेकन चलखेल गरे । घूस दिने देखि कानूनको लुपहोल खोज्न थाले ।

कुलमान घिसिङले लाइन काटिदिए । तर, प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो आदेशमा लाइन जोड्न लगाइयो । यो विषय संसदमा उठेको छ अहिले । निवर्तमान ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतले ठाडो आदेशमा विद्युतको महशुल नतिर्नेको लाइन जोड्न लगाइएकोमा प्रश्न गरे ।

ओली सरकार आएलगत्तै महशुल नतिर्ने उद्दोगीलाई हाइसञ्चो भएको छ । यसले तरंग नै ल्याएको छ । बरु कुलमानलाई नै प्राधिकरणको प्रबन्ध निर्देशकबाट हटाउने खेल भएको छ ।
महालेखा परीक्षकको प्रतिवेदनमै २० अर्ब भन्दा बढी डेडिकेटेड र ट्रंक लाइनमार्फत्को महशुल उठ्न बाँकी उल्लेख छ । तर अनेकन हर्कत देखाएपछि छुट दिने निर्णयपछि रकम १३ अर्बमा झरेको छ ।

ब्याजबापत् नै ठूलो लाभ लिइसकेका छन् महशुल नतिर्ने उद्दोगीले । त्यसलाई उठाउन खोज्दा कुलमानलाई पदबाटै हटाउने योजना बुनिएको छ । महशुल नतिरेर अरबौं पचाउन खोज्ने व्यापारीमा शंकर ग्रुपका दुई भाई साहिल अग्रवाल र सुलभ अग्रवाल छन् । गोल्यान ग्रुपका पवन गोल्यानलगायत उद्दोगीको पनि बक्यौता बाँकी छ । उनीहरु अरबौं पचाउन मरिमेटेर लागेका छन् । शंकर ग्रुपका मात्र झण्डै २ अर्ब तिर्न बाँकी छ । यो रकम नतिर्ने दाउमा अग्रवाल दाजुभाई नेता रिझाउने र दबाब दिने गर्दै आएका छन् ।

महशुल नतिर्नेमा बाबा जुट मिल, निगाले सिमेन्ट, त्रिवेणी सिन्थेटिक, हिमाल आइरन, जगदम्बा इन्टरप्राइजेज, हामा आइरन, एभरेष्ट पेपर मिल, कसमस सिमेन्ट, शुभश्री अग्नि सिमेन्ट, जगदम्बा सिन्थेटिक, घराना फुड्स, सिद्धार्थ पेटप्लास्ट, बुटवल सिमेन्ट, नारायणी स्पात रहेका छन् ।

जगदम्बा स्टिल, घोराही सिमेन्ट, रिलायन्स स्पिनिङ मिल्स, अर्घाखाँची सिमेन्ट, सर्वोत्तम सिमेन्ट, लक्ष्मी स्टिल, अशोक स्टिल, सोनापुर मिनरल्स एण्ड आयल प्रालि र त्रिवेणी स्पिनिङ मिल्स पनि नतिर्नेमा पर्छन् ।

प्रतिक्रिया