२२ भाद्र २०८१, शनिबार | September 8, 2024

भारतको केएल युनिभर्सिटीले नेपाली विद्यार्थीलाई ५० प्रतिशत छात्रवृत्ति दिने


830
Shares

काठमाडौं,४ साउन । दक्षिण भारतको ख्याती प्राप्त केएल युनिभर्सिटीले नेपाली विद्यार्थीहरुलाई ५० प्रतिशत छात्रवृत्तिसहितको अध्ययन अवसर दिने बताएको छ । इनफरम्याटिक्स कन्सल्टेन्सीको समन्वयमा शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरेर केएल युनिभर्सिटीका प्रतिनिधिहरुले सो कुरा बताएका हुन् ।

उक्त युनिभर्सिटीका प्रतिनिधिहरुले शैक्षिक उत्कृष्टता र विश्वव्यापी सहकार्यमा संस्थाको समर्पणलाई जोड दिँदै नेपाली विद्यार्थीहरुको लागि अवसर सिर्जना गरिएको बताए ।

इनफरम्याटिक्स कन्सल्टेन्सीका सीईओ ज्ञानेन्द्र मान जोशीले नेपाली विद्यार्थीलका लागि केएल युनिभर्सिटीले एउटा सुनौलो अवसर लिएर आएको बताए । उनले विद्यार्थीहरुको उज्वल भविष्य निर्माणको लागि उक्त युनिभर्सिटी एउटा उपयुक्त गन्तव्य बन्न सक्ने जानकारी दिए ।

यस्तै युनिभर्सिटीका एड्मिसन डाइरेक्टर डा. जे श्रीनिवास रावले युनिभर्सिटीको पछिल्ला उपलब्धि, भर्ना प्रक्रिया र अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि उपलब्ध रहेका अवसरहरूको जानकारी दिए । उनले विद्यार्थीहरुलाई भौतिक र अनलाईन दुबै माध्यबाट अध्ययन गर्न सक्ने व्यवस्था गरिएको बताए । अहिलेसम्म थुप्रै नेपाली विद्यार्थीले केएलबाट अन्तराष्ट्रिय स्तरको डिग्री हासिल गरिसकेको रावले बताए ।

यस्तै युनिभर्सिटीका अन्तर्राष्ट्रिय सम्बन्ध र मेडिकल हेल्थ साइन्सेज (IR&MHS) का डीन डा. किशोर बाबू एमले अन्तर्राष्ट्रिय शिक्षा प्रति विश्वविद्यालयको दृष्टिकोण, शैक्षिक कार्यक्रमहरूको विस्तार, र केएललाई उच्च शिक्षाका लागि छनोट गर्ने विद्यार्थीहरूले प्राप्त गर्ने फाइदाहरूको बारेमा ब्याख्या गरे । उनले दुई अलग देश भए पनि भारतीय र नेपाली विद्यार्थीलाई समान शुल्क निर्धारण गरिएको जानकारी दिए ।

यसैगरी केएल युनिभर्सिटीका नेपाल कन्ट्री हेड शिव न्यौपाने दक्षिण भारतमा पहिलो नम्बरमा रहेको केएल युनिभर्सिटी भारतको शैक्षिक क्षेत्रमा २८औं स्थानमा रहेको बताए । हैदरावाद र विजयवडा रहेको युनिभर्सिटीमा सन् २००५ देखी नै नेपाली विद्यार्थी जाने गरेको र अहिले सम्म ५सय भन्दा बढी नेपाली विद्यार्थी पासआउट भइसकेको न्यौपानेको भनाई छ । सस्तो शुल्कमा गुणस्तरीय शिक्षाको लागि केएलले ख्याती कमाएको बताउँदै उनले ४ ५ लाख रुपैयाँमा इन्जिनियरिङको प्याकेज पढ्न पाइने बताए ।

यस्तै पत्रकार सम्मेलनको समापन गर्दै प्रोफेसर डा. शंमुक कुमारले छात्रवृत्ति कार्यक्रमहरूको माध्यमबाट विश्वविद्यालयको गुणस्तरीय शिक्षा प्रदान गर्ने प्रतिबद्धतामा जोड दिए । पहिलेदेखि नै नेपाली विद्यार्थीको रोजाइमा केएल युनिभर्सिटी परेको भन्दै उनले भोलीका दिनमा पनि त्यसलाई कायमै राखेर अझ बढी विद्यार्थी मैत्री सेवा प्रवाह गर्ने बताए ।

सन् १९८० इन्जिनियरिङ अध्ययनका लागि केएल युनिभर्सिटीको स्थापना गरिएको बताइन्छ । हाल यसले ईन्जिनियरिङका साथै व्यवस्थापन, कानुन, कला, विज्ञान, र प्रविधि लगायतका कोर्षहरु सञ्चालन गर्दछ, जसले बहुसांस्कृतिक वातावरण सृजना गर्दै विश्वभरका विद्यार्थीहरूलाई आकर्षित गरेको बताइएको छ ।

 

प्रतिक्रिया