२ कार्तिक २०८१, शुक्रबार | October 18, 2024

प्रधानमन्त्री ओलीका यी विश्वासपात्रले पाए सल्लाहकार र सचिवालयको जिम्मेवारी


1.3k
Shares

काठमाडौं, ३ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना विश्वासपात्रहरुलाई सचिवालयमा जिम्मेवारीहरु दिएका छन् । ओलीले अधिकांश विश्वासपात्रहरुलाई मन्त्री बनाएपछि क्याबिनेटबाट बिहिबार नियुक्तिहरु गरे ।

ओलीले राजनीतिक सल्लाहकारमा विष्णु रिमाललाई नियुक्त गरेका छन् । रिमाल नुवाकोटका हुन् । ओली प्रधानमन्त्री हुँदा रिमालले महत्वपूर्ण जिम्मेवारी पाउँदै आएका छन् । एमालेको मजदूर क्षेत्रको नेतृत्व गरेर आएका रिमाल ओलीलाई दुई दशकभन्दा बढी समययता साथ दिदै आएका छन् ।

ओलीले राजेश बज्राचार्यलाई प्रमुख स्वकीय सचिव बनाए । उनी ओलीको ससुरालीतर्फका नातेदार हुन् । ओलीले लिने कतिपय निर्णयमा राजेश हावी हुने गरेका छन् । उनी बेला बेलामा विवादमा आइरहन्छन् ।

पूर्व अर्थमन्त्री तथा पूर्व गभर्नर डा. युवराज खतिवडा आर्थिक सल्लाहकार नियुक्त भएका छन् । उनी ओलीका विश्वासपात्र मानिन्छन् । झापाका खतिवडाले ओलीले निरन्तर साथ दिदै आएका छन् ।

प्रतिक्रिया