प्रधानमन्त्री प्रचण्डले कति सांसदको साथ पाउलान् ?

काठमाडौं, २८ असार । प्रधानमन्त्री प्रचण्डले शुक्रबार प्रतिनिधिसभाबाट विश्वासको मत लिदैछन् । सरकार अल्पमतमा परेपछि उनले विश्वासको मत लिन लागेका हुन् ।
प्रचण्डलाई नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा एसका सांसदको मात्र साथ हुने देखिएको छ । यी दलले मात्र विश्वासको मतको पक्षमा मतदान गर्ने निर्णय लिएका छन् ।
प्रचण्डलाई साथ दिने तीन दलसँग ६३ सांसदको मत छ । जसमध्ये माओवादीको ३२, रास्वपाको २१ र नेकपा एसको १० सांसद संख्या छ । रास्वपा र नेकपा एसका केही सांसद तटस्थ बसेमा या विपक्षमा मतदान गरे आश्चर्य नमाने हुन्छ ।
प्रचण्डले विश्वासको मत नपाउने भएपछि नयाँ सरकार गठनको नयाँ प्रक्रिया सुरु हुन्छ । काँग्रेस र एमालेबीचको सहमति अनुसार बाँकी कार्यकाल आधा आधा सरकारको नेतृत्व लिने तय भएको छ । सहमति पालना भएमा केपी शर्मा ओली प्रधानमन्त्री बन्नेछन् ।