२३ भाद्र २०८१, आइतबार | September 8, 2024

प्रचण्डको हालतः चोक्टा खान जाँदा झोलमा डुबान


1.6k
Shares

काठमाडौं, २० असार । प्रधानमन्त्री प्रचण्डले ३२ सिटले जादू खुबै देखाए । कहिले काँग्रेससँग मिलेर एमालेलाई सत्ताबाहिर राख्ने त कहिले एमालेसँग मिलेर काँग्रेसलाई सत्ता बाहिर राख्ने गरिरहे । डेढ वर्षबीच उनले उथलपुथल ल्याइरहे तीनपटक गठबन्धन फेरेर ।

प्रचण्डले पछिल्लोपटक काँग्रेससँगको गठबन्धन तोडेर एमालेसँग हातेमालो गरे । एमाले अध्यक्ष केपी शर्मा ओलीसँग फेरि नयाँ गठबन्धन बनाए । तर, ओलीले चार महिनामा प्रचण्डलाई धोका दिए ।

काँग्रेस सभापति शेरबहादुर देउवासँग असन्तुष्ट भई प्रचण्ड ओलीसँग हात मिलाउँदै गर्दा कम्युनिष्ट एकताको सपना पनि देख्न पुगे । २०८४ को चुनावमा कम्युनिष्टहरु एक भएर वा गठबन्धन गरेर जाने सम्मको योजना बुने । तर, प्रचण्डको सपना चकनाचुर भयो ।

चोक्टा खान जाँदा झोलमा डुबेको जस्तो भएको छ प्रचण्डलाई अहिले । उनलाई एमालेले मात्र साथ छाडेन रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले पनि साथ छाडेको छ ।

प्रचण्ड अहिले अल्पमतमा परिसकेका छन् । उनीसँग राजीनामाबाहेक विकल्प छैन अब । प्रचण्डको अबको बाटो प्रमुख प्रतिपक्षी दलको नेता बन्ने नै हो । उनी फेरि शक्ति सञ्चयमा लाग्न वाध्य हुने परिस्थिति बनेको छ ।

 

प्रतिक्रिया