३१ भाद्र २०८१, सोमबार | September 17, 2024

प्रचण्डलाई प्रधानमन्त्रीबाट हटाउने योजना सफल होला ?


2.2k
Shares

काठमाडौं, १७ असार । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड यतिबेला छटपटीमा छन् । उनलाई प्रधानमन्त्रीबाट हटाउन नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा नयाँ योजना साथ लागेपछि छटपटिएका हुन् ।

देउवाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको प्रस्ताव गरे शनिबार । आधा आधा कार्यकाल प्रधानमन्त्रीको प्रस्ताव ओलीसामु लगेपछि नयाँ तरंग आएको छ । ओली र देउवालाई लडाएर प्रचण्ड पाँच वर्ष प्रधानमन्त्री बन्ने दाउमा लागेपछि नयाँ घटना विकास भएको हो ।

प्रचण्डले यसअघि देउवासँग गरेको भद्र सहमति तोडेर ओलीसँग हात मिलाएका थिए । उनले एक वर्ष माधव नेपाललाई प्रधानमन्त्रीमा साथ दिने भद्र सहमति पनि तोडे । यसकारण माधव नेपाल पनि प्रचण्डसँग रुष्ट छन् ।

प्रचण्डमा सहमति तोड्ने गरेको र राजनीतिक विश्वसनीयता नरहेको निष्कर्षमा देउवा र नेपाल पुगेको बुझिएको छ । यसकारण पनि देउवाले ओलीलाई प्रधानमन्त्रीको प्रस्ताव राखेका छन् ।
देउवा र ओलीबीचको भेटपछि प्रचण्डले ओलीसँग लगातार दुईपटक भेटघाट गरिसकेका छन् । भेट सत्ता जोगाउन र राजनीतिक लेनदेनकै विषयमा केन्द्रित रहेको बुझिएको छ ।

देउवा अबको डेढ देखि २ वर्ष ओलीलाई प्रधानमन्त्रीमा समर्थन गर्न तयार रहेको र बाँकी समय प्रधानमन्त्री बनेर चुनाव गर्ने गरी प्रस्तावसहित बढेका छन् । यो योजना अनुसार माओवादी र रास्वपालाई सरकार बाहिरै राख्ने तयारी छ ।

राजनीतिक अस्थिरताको फाइदा साना दलहरुले लिइरहेको, मुख्य दुई ठूला दलको टकरावको फाइदा उठाएर सत्ताको अभ्यास गरिरहेको बुझाई देउवा र ओलीको छ । यही मौका पारेर प्रचण्डले काँग्रेस र एमालेका नेतालाई खुइल्याउने उद्देश्यले विभिन्न काण्डहरु ल्याइरहेको विषयले पनि चासो बनाइरहेको छ । यसप्रति देउवा र ओली दुवै सतर्क बनेको बुझिएको छ ।

प्रतिक्रिया