नेविसंघ केन्द्रीय सदस्यबाट बानियाँले दिए राजीनामा,अध्यक्ष स्वेच्छाचारी ढंगले चलेको आरोप

काठमाडौं,१४ असार । नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य विवेक बानियाँले पदबाट राजीनामा दिएका छन् । बानियाँलाई कांग्रेस सभापति शेरबहादुर देउवाले नेविसंघको केन्द्रीय समिति विस्तार गर्दा गत साउन २२ गते केन्द्रीय सदस्यमा मनोनित गरेका थिए ।
कांग्रेस केन्द्रीय कार्यलय र नेविसंघ केन्द्रीय कार्यालयलाई राजीनामा पत्र लेख्दै बानियाँले लेखेका छन्,‘लोकतान्त्रीक संगठनमा रहेर केन्द्रीय अध्यक्षको अवैधानिक, अलोकतान्त्रिक र स्वेच्छाचारी कार्यको भारी बोक्न मेरो नैतिकताले दिदैन्, त्यसैले आजबाट नेपाल विद्यार्थी संघको केन्द्रीय सदस्यबाट राजीनामा दिएको छु ।’
नेपाली कांग्रेसको पछिल्लो महासमितिको बैठकमा प्रस्तुत सांगठनिक प्रस्तावअनुसार नेविसंघ कार्यसमितिको अवधि आगामी असार १५ गते सम्ममात्र रहेको छ ।
‘कार्यकाल सकिन केही दिन बाँकी रहँदासम्म मातृ पार्टी कांग्रेसले दिएको मुख्य जिम्मेवारी संघको १२औं अधिवेशनको कुनै पनि प्रक्रिया प्रारम्भ नभएको र संघका सम्पुर्ण इकाईहरु थप विवादित हुँदै गएकोले सो समयभित्र यो कार्यसमितिले अधिवेशन सम्भव नरहेको ले पदमा बस्नु औचित्यहीन भएको ठहर गर्दै केन्द्रीय सदस्यबाट राजीनामा दिएको जानकारी गराउदछु ।’–बानियाँले लेखेका छन् ।
विधान सम्वत नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले संगठन चलाउन नसकेको भन्दै नेविसंघका पछिल्ला गतिविधिहरूप्रति केही केन्द्रीय सदस्यहरुले नै असन्तुष्टि जनाउँदै आएका छन् ।