७ आश्विन २०८१, सोमबार | September 24, 2024

पढाइ मेला देशैभरीका विद्यालयमा आवश्यक : सांसद विक


747
Shares

काठमाडौं,७ असार । प्रतिनिधि सभा सदस्य रुपा विकले पढाइ मेलाले विद्यार्थी र अभिभावक शिक्षामा थप टेवा पुग्ने बताएकी छिन् । जुम्लाको हिमा गाउँपालिकाले सामुदायिक विद्यालय,सुधार, बालबालिकाको प्रतिभा पहिचान तथा व्यवहारिक शिक्षाका लागि आयोजना गरेको पढाइ मेलामा सहभागी भएकी विकले त्यस्ता मेला देशभरी नै हुनुपर्ने बताइन् ।

हिमा गाउँपालिकाले शिक्षा क्षेत्रमा गरेको काम सबैका लागि अनुसरण योग्य रहेको सांसद विकको भनाइ थियो । “आर्थिक,सांस्कृतिक मेला धेरै आयोजना हुदैं आएका थिए तर पढाइ मेला भने कतै देखिएको थिएन । यो पढाइ मेलाले विद्यार्थी– अभिभावक शिक्षामा जागरण थपिएको देखियो ।”–उनले भनिन्,“यस्तो मेला निरन्तर र सबै पालिकाले गर्न जरुरी छ ।”

सांसद विकले सामुदायिक विद्यालयको खस्किँदो शैक्षिक शिक्षाको अवस्था सुधार गर्न र बालबालिकाको पहुँच वृद्धिका लागि पढाइ मेला कार्यक्रम थप प्रभावकारी हुने बताइन् । पाठ्यपुस्तकको ज्ञानसँगै विद्यार्थीलाई बाहिरी ज्ञानमा पनि पोख्त बनाई भविष्यमा दक्ष जनशक्ति बनाउन रचनात्मक, प्रयोगात्मक कार्यक्रममा पनि महत्वपुर्ण भूमिका खेल्ने मेलाको उद्देश्य रहेको छ ।

नेपाली कांग्रेस केन्द्रीय सदस्य समेत रहेकी विकले अन्य सामुदायिक विद्यालय सुधारका लागि हिमा गाउँपालिकाले गरेजस्तै रचनात्मक काम गर्नुपर्नेमा जोड दिइन् । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जय कुमार घिमिरे,नेपाली काँग्रेसका पूर्व पार्टी सभापति दिप बहादुर शाही,नेकपा एमालेका नेता जया बहादुर खत्री,नेकपा माओबादी केन्द्रका केन्द्रीय सदस्य लक्ष्मीकन्या बुढा,पत्रकार महासंघका अध्यक्ष नेत्र बहादुर शाही लगायतले धारणा राखेका थिए ।

विद्यालय सुधार देखि बालबालिकाको प्रतिभा पहिचान,क्षामता विकासमा जोड दिंदै कर्णालीका ७९ वटा पालिका मध्य पहिलो पालिकाका रुपमा हिमाले हरेक वर्ष पढाइ मेला गर्दै आएको छ ।

 

प्रतिक्रिया