८ मंसिर २०८१, शनिबार | November 23, 2024

१ करोड बढि मुल्यका सुनका गरगहना चोरी गर्ने २ जना पक्राउ


830
Shares

कास्की,२९ जेठ । १ करोड भन्दा बढि मुल्यका सामानहरू चोरी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका–२२ घर भएका २१ वर्षीय नविन नेपाली र गोरखा घर भएका २९ वर्षीय सुवास थापा मगर रहेका छन् ।

पोखरा महानगरपालिका–१७ घारिपाटन बस्ने लक्ष्मी कान्त शर्मा र शर्माकै घरमा डेरा गरी बस्ने कृष्णजी पौडेल समेतको कोठाबाट विभिन्न सुनका गरगहना ४२ तोला, मोवाइल, ल्याप्टप, क्यामेरा तथा अन्य सामान र नगद ३ लाख ८० हजार रूपैयाँ जेठ ११ गते राति चोरी भएको घटनाको अनुसन्धानको क्रममा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा, नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा, जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदाम समेतबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको हो । दुवै जना अभियुक्त पेशेवर चोर रहेको र यसअघि समेत चोरी मुद्दामा पक्राउ तथा कारवाही भएको खुल्न आएको छ ।

प्रहरीले उनीहरूको साथबाट २४ तोला ८४ लाल बराबरको सुनका विभिन्न गरगहना, मोबाइल २२ थान, क्यामरा ९ थान, ल्यापटप १५ थान, टिभी २ थान, भाँडावर्तन ४६ थान, कफी मेसिन २ थान, नगद ११ हजार ५ सय ६८ रूपैयाँ, घडी ११ थान, ड्रोन क्यामरा २ थान, रेडियो सेट वाकीटकी २ थान, चार्जर २ थान, चोरीमा प्रयोग भएको फलामको रड ३ थान, पेन्चिस २ थान, हेक्सा ब्लेड १ थान, पिलास २ थान, तार काट्ने कटर १ थान र फलामको कुटो १ थान बरामद गरेको छ ।

उनीहरूलाई चोरी तथा डाँका मुद्दामा जिल्ला अदालत कास्कीबाट ७ दिन म्याद थप अनुमति लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया