७ आश्विन २०८१, सोमबार | September 24, 2024

राजनितिक अस्तब्यस्तले युवाहरुको भविष्य अन्योलः तरुण दल केन्द्रीय सदस्य गुरुङ


17.6k
Shares

काठमाडौं,१८ जेठ । नेपाल तरुणदलका केन्द्रीय सदस्य सन्जिब गुरुङले पछिल्लो समय नेपाली राजनीतिमा देखिएको अस्थिरताले युवाहरुको भविष्य अन्यौल हुँदै गएको टिप्पणी गरेका छन् । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै गुरुङले यस्तो बताएका हुन् ।

उनले भने,“नेताहरुको खिचातानीले गर्दा आज युवाहरुमा फ्रस्टेशन बढ्दै गएको छ,देशमा एक किसिमको राजनीतिक व्यवस्था पनि बन्न नसकेको र त्यही कारण आम नागरिकले धेरै समस्या भोग्न परेको छ, जसमध्ये प्रमुख समस्या नेपाल छाडेर विदेशिनु पर्ने हो । परदेशी भूमिमा सपना किन्नको लागि हरियो पासपोर्ट बोकेर विद्यार्थी होस् वा भिजिट भिसा होस् वा श्रम गर्न, जुनसुकै उद्देश्य भएपनि नेपालीहरुले विदेशमा भोग्नु परेको पीडा एकदमै पीडादायी छ ।”

देशका आम जनता विदेशीनु बाध्य पार्नुमा पनि राज्य नै दोषी भएको उनको भनाइ थियो । विदेश जाने सबैको रहर नभइ धेरैको बाध्यता भएको भन्दै गुरुङले विदेशमा पुगेपछिको नेपालीले भोग्नु पर्ने पीडामा नेपाल सरकार मौन रहने तितो यथार्थ सुनाउँदै आपक्ति जनाए । “यो अवस्था सिर्जना हुनुमा ठुला दलहरुको खिचातानी नै हो, यसलाई न्युनिकरण गर्ने र यसको विषयमा आवाज उठाउने सबै निकायहरु मौन रहे ।”

नेपाल सरकारले खटाएर पठाएका कर्मचारीहरुबाट नेपालीहरुलाई विदेशमा सहयोग नहुने पनि उनले बताए । “नेपाल सरकारले पठाएका कर्मचारीहरु तलब र सुविधा मात्र लिएर बस्ने,आफैलाई सर्वेसर्वा ठान्ने गर्दा विभिन्न देशमा जिवनयापन गरीरहेका आम नागरिकले पाउनुपर्ने सेवा सुविधा पाउन सकेका छैनन् ।”–नेता गुरुङले भने,“एउटा पासपोर्ट बनाउँन महिनौ दिनसम्म धाउनुपर्छ,अनावश्यक समस्या सिर्जना गर्दै गर्दा, हामीले धेरै समय खर्चिदा पनि पासपोर्ट नबन्ने अवस्था छ । हरेक श्रमिकहरुले कामको शिलशिलामा कम्पनीले भनेको जस्तो काम दिन नसक्दा, उनीहरुले भनेको जस्तो नहुँदा खेप्न परेको दुख, पटक–पटक सम्बन्धित निकायमा भन्न गएपनि समस्या समाधान हुँदैन् ।  सम्बन्धित निकायका कर्मचारीहरु हाम्रो समस्या सुन्दैनन्, आफ्नै मनोमानी गरेर तलब र भत्तामात्रै पचाइरहेको देखिन्छ ।”

लामो समय विदेशमा बिताएर हाल नेपालमा रहेका गुरुङले भने,“यो हुनुमा सरकार पक्षको एकदमै कमजोरी देखिन्छ,राजनीतिक नियुक्तिहरुमा दलको भागवण्डा, दलमा आवद्ध भएका दलालहरुको आफ्नो मान्छे बनाउनुपर्छ भन्ने भावनाले गर्दा विदेशिएका नेपाली श्रमिकहरुले पाउनुपर्ने सेवा सुविधा पाउन नसकेको हो ।”

विदेशिएका नेपालीहरुलाई राज्यले हेर्ने दृष्टिकोण नै फरक भएको उनले दाबी गरे । “आफ्नो सपना बोकेर,सपना किन्न हिडेकाहरुलाई राज्यको दृष्टिकोण एकदम फरक देखिन्छ । न त राज्यले केही व्यवस्था गर्न सकेको अवस्था छ,न त कुनै संरचनामा अडाएर सेवा सुविधा दिने राज्यले हिम्मत गरेको छ, राज्य मात्र सत्ताको खिचातानीमा व्यस्त छ ।” उनले भने,“त्यही पीडामा नेपाली चेलीहरु पनि परेका छन् । नेपाली चेलीहरु विद्यार्थीको रुपमा होस् वा श्रमिकको रुपमा जुनसुकै उद्देश्यले गएपनि उनीहरुले भोग्नु परेको अन्य देशमा पीडा धेरै डरलाग्दो छ ।” यस्ता डरलाग्दा कयौं समस्यालाई सम्बधित निकायहरुले सम्बोधन गर्न नसकेको उनले बताए । उनले सरकारले ती विषयमा मौन बस्दा पीडितहरु झन् पीडित भएको सुनाए ।

यी सबै कुरा राजनीतिक खिचातानी कै कारण भएको उनले दाबी गरे । युवा नेता गुरुङले अब आम युवाहरुमा राजनीतिक चेतनाको साथसाथै नीतिगत रुपमा पनि यस्ता समस्याहरुको बारेमा चेतना हुनु अपरिहार्य रहेको बताए ।

 

प्रतिक्रिया