३ आश्विन २०८१, बिहिबार | September 19, 2024

प्रचण्डले कति मत पाउलान्, यस्तो छ संसदको अंकगणित


2.5k
Shares

काठमाडौं, ७ जेठ । जनता समाजवादी पार्टी नेपालको विभाजनसम्बन्धी मुद्दाको पेशी ८ जेठका लागि तोकिएको छ । त्यसको ठिक एक दिनअघि प्रधानमन्त्री प्रचण्डले सदनबाट विश्वासको मत लिदैछन् ।

जसपा नेपाल विभाजनसम्बन्धी कुनै आदेश आइहाल्ने र त्यसले सत्ताका लागि चाहिने सांसद सदस्यको अंकगणितमा बदलाव आएर समस्या पर्ने देखेर प्रचण्डले हतार हतार विश्वासको मत लिन खोजेको देखिन्छ ।

सरकारका सहभागी दलहरुको सांसद सदस्य संख्या हेर्दा यथास्थितिमा प्रचण्डलाई विश्वासको मत प्राप्त हुने देखिन्छ । बहुमतका लागि आवश्यक १३८ मतमा प्रचण्डको पक्षमा बहुमत पुग्ने अवस्था छ ।

सरकारमा रहेका दलमध्ये नेकपा एमालेको ७७, नेकपा माओवादी केन्द्रको ३२, रास्वपाको २१, नेकपा एसको १०, अशोक राई नेतृत्वको जसपाको ७ गरी १४७ मत छ । प्रचण्डलाई स्वतन्त्र सांसद अमरेश सिंह र आम जनता पार्टीका प्रभु शाहले पनि मत दिएमा १४९ पुग्छ ।

विपक्षमा रहेका काँग्रेको ८८, राप्रपाको १४, जसपा नेपालको ५, नेमकिपा र राष्ट्रिय जनमोर्चाको ११ मत छ ।

नागरिक उन्मुक्ति पार्टीको ४, जनमत पार्टीको ६ सांसद संख्या छ । यी दुवै दलले मत दिने कि नदिने टुंगो छैन ।

सरकार बाहिर रहेका सबै दलले मत नदिने र जसपा नेपालका अलावा नेकपा एसले पनि मत नदिने हो भने चाहिं प्रचण्ड विश्वासको मत लिन असफल हुनसक्छन् । त्यस्तो खेल भइहाल्ने देखिदैन ।

जसपा नेपालका ७ सांसदको विषयले भने भविष्यमा प्रचण्डलाई असजिलो पार्न सक्छ । ८ जेठपछि भने उनलाई ठूलै चुनौती आउन सक्छ ।

प्रतिक्रिया