१९ मंसिर २०८१, बुधबार | December 4, 2024

अब कर तिर्न बन्द गरेर सशक्त प्रतिकार गरौं : प्रकाश रायमाझी


8.4k
Shares

प्रकाश रायमाझी । काठमाडौँ महानगरपालिकाले अनधिकृत घर टहरा भत्काउने सार्वजनिक जग्गा संरक्षण गर्ने कार्यमा पहल गरिरहेको छ । तर सार्वजनिक जग्गा संरक्षण गर्ने बहानामा पहिले बाटो विस्तारमा जग्गा छाडिसकेको र बाँकी जग्गाको हकमा क्षतिपूर्ति नपाएका जग्गाधनीहरूको घर टहरा जबरजस्ती भत्काउनु घोर अन्याय हो । क्षतिपूर्ति पाएको छ, छैन बाटो विस्तारमा पहिले छोडेको छ, छैन त्यसको छानबिन नगरी जबरजस्ती आतंकित पारेर सडक विस्तार गर्नु पार्क बनाउनु कति न्यायचित हो ?? विकासको नाउँमा एउटा व्यक्तिको श्रीसम्पत्ति नै सकिदिने सुकुम्बासी बनाउने त्यस्तो विकासको हामीले कल्पना गरेका होइन् ।

विधिको शासन खोलानाला संरक्षण स्थानीय जनताको हक अधिकारलाई पनि संरक्षण गर्ने स्थानीय सरकारबाट अपेक्षा नागरिकले राखेका हुन्छन्। सडक पेटी खाली गर्दा राम्रो भएको छ। तर त्यहाँ बस्ने विपन्न र गरिबहरूले दुई छाक टार्नको निमित्त गर्ने बन्द व्यापार अन्यत्र राम्रोसँग व्यवस्थित गरिदिनुपर्छ । राजधानी सबै नेपालीको हो । अवसरको खोजीमा आउनेहरूलाई महानगरले अभिभावकत्वको भूमिका खेल्नुपर्छ । देशको राजधानी कुनै व्यक्ति विशेष र समुदायको मात्र हुन सक्दैन् ‌। बसाईसराई विविध कारणले सागुरिएको महानगरलाई खुला चौर हरियाली पार्क आदि बनाउनु अत्यन्त आवश्यक छ । तर व्यक्ति विशेषको पीडा र कष्टलाई गहन रुपमा बुझ्नुपर्छ अनि महानगरले मलम लगाउनुपर्छ । विकासका नाउँमा हरेक वडालाई १७ करोडभन्दा बढी विनियोजन गरिएको छ । कृत्रिम उपभोक्ता समितिहरु बनाएर स्थानीय प्रतिनिधि महानगरका कर्मचारीले व्यापक आर्थिक अनियमितता गरिरहेका छन् । त्यसतर्फ मेयरको ध्यान जानुपर्छ कि पर्दैन ?? महानगरपालिकाका कर्मचारीहरूले बिना घुस कुनै पनि काम गर्दैनन् । यो सामान्य कुरा सबैलाई थाहा छ ।

महानगरपालिकाका कर्मचारी बहालवाला र निवृत्त भएका र जनप्रतिनिधिको पनि सम्पत्ति छानबिन गर्न मेयर बालेन शाहले अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग सहकार्य किन नगर्ने ?? भ्रष्ट कर्मचारीहरूको अकुत सम्पत्तिको छानबिन गर्ने स्वच्छ भ्रष्टाचार रहित महानगरपालिकाको हामीले कल्पना गरेका छौं । तर हरेक वडामा सामान्य काम पर्दा पनि त्यहाँ घुस नखुवाई कुनै काम हुँदैन् ‌। सिन्डिकेटमा चलेको महानगरपालिकालाई भ्रष्टाचारमुक्त बनाउन बालेन मेयरले खैत पहल गरेको ?? विकास निर्माणका नाममा हुने भ्रष्टाचार व्यावसायिक करका नाउँमा खुलेआम हुने भ्रष्टाचारबाट महानगरभित्र राज्य आतंक फैलिएको छ । महानगरीय प्रहरीहरूबाट हुने ज्यादति रुखो, अमर्यादित, अपाच्य वचन गरिब र विपन्नमाथि हुने हिंसाजन्य व्यवहारलाई महानगरपालिकाले गौरव ठानेको छ ?? सम्पदा संरक्षण सरसफाई खानेपानी स्वास्थ्य शिक्षा जस्ता आधारभूत कुरामा महानगरपालिका अझ धेरै पछाडी छ ।

दक्षिण एसियाको सबैभन्दा महगो काठमाडौँ सहर बनेको छ । अनुशासनहिन भ्रष्टाचार जन्य क्रियाकलापमा लागेका कर्मचारीलाई नगरवासीले सधैं तमासा हेरेर उनको अत्याचार सहि रहने ?? हामी दास हौ त ?? महानगरपालिका कर्मचारी र जनप्रतिनिधिहरूको ज्यादतीबाट काठमाडौँबासी अत्यन्त प्रताडित भएका छन् । मानव अधिकारको उल्लङ्घन भएको छ । स्वच्छ सहर बनाउने नाउमा ठूलो भ्रष्टाचार भइरहेको छ । त्यसको छानबिन गर्नैपर्छ, हामीले तिरेको कर हो । स्थायी सरकार भनिने कर्मचारीको व्यवहार आचरणमा व्यापक परिवर्तन ल्याउनुपर्छ महानगरपालिकाका प्रमुखप्रशासकीय अधिकदेखि कर्मचारीसम्मको आचरणमा सेवामैत्री भावनाको विकास गर्नुपर्छ । जो कोही कुर्सीमा बस्दा उसले पदिय मर्यादाको ख्याल गर्नुपर्छ की पर्दैन् ?? नागरिकहरूको समस्यालाई पहिलो प्राथमिकतामा राखेर छिटोभन्दा छिटो समाधान गर्ने सर्वसुलभ शासन व्यवस्थाको महानगरपालिकाबाट जनअपेक्षा छ । आफ्नो पेट काटेर व्यवसाय कर,घर बाहाल कर, जग्गा कर लगायत हामीले तिरेको रकम कहाँ गयो ? त्यसको हिसाब किताब हामीले जान्न पाउनु पर्दैन ?? यसमा अख्तियारले छानबिन गर्न मिल्दैन् ??? विकृति र विसंगतिले महानगरपालिकालाई गाँजेको छ भ्रष्टाचारमा चुर्लुम्म डुबेको त्यहाँ कर्मचारी छन् । भ्रष्ट मानसिकता लोभी लालची घुसखोर जनप्रतिनिधि यो महानगरको विडम्बना पनि यही हो।
(लेखक रायमाझी राजनीतिक विश्लेषक हुन् । )

प्रतिक्रिया