१२ श्रावण २०८१, शनिबार | July 27, 2024

पद्माले किन छाडिन् मलहोत्राको अर्पाटमेन्टको फ्ल्याट नम्बर ९


1.4k
Shares

काठमाडौं, १ जेठ । देशमा घूसको लेनदेन विदेशमा हुन थालेको छ । त्यस्तो लेनदेन विदेशी बैंकमै जम्मा हुन थालेको अख्तियारले नै खोतल्यो । देशभित्र हुने कतिपय घूस जग्गा, अर्पाटमेन्टको फ्ल्याट या सुनमा हुन थालेको छ ।

त्यस्तै मध्येको हो गिरिबन्धु टी-स्टेट काण्डको तत्कालीन भूमिसुधारमन्त्री पद्मा अर्याललाई प्राप्त भएको अर्पाटमेन्टको फ्ल्याट नम्बर ९ ।

मन्त्रीबाट हटेलगत्तै पद्मा अर्याल कालिकास्थानस्थित दीपक मल्होत्राको स्वामित्वमा रहेको सिल्भर अपार्टमेन्टमा बस्न थालेकी थिइन् । व्यापारी मल्होत्राका एकजना कर्मचारीकाअनुसार उनले पद्मालाई अपार्टमेन्टको सिटू बल्कको ९ नम्बर फ्ल्याट दिएका थिए ।

व्यापारी मल्होत्राले पूर्व भूमि व्यवस्थापनमन्त्रीको हैसियतमा काम गरेबापत पद्मालाई कालिकास्थानस्थित सिल्भर अपार्टमेन्टको फ्ल्याट उपहार दिएको तथ्यहरु बाहिर आइसकेको छ । पद्मा सिल्भर अपार्टमेन्टको सिटू बल्कको ९ नम्बर फ्ल्याट छाडेर अन्तै लागेकी छिन् ।

केपी शर्मा ओली प्रधानमन्त्री र पद्मा भूमि व्यवस्थापन मन्त्री हुँदा गिरीबन्धु टि-स्टेटको ३ सय ४४ बिघा जग्गाको हदबन्दी फुकुवा गर्ने प्रक्रिया अघि बढेको थियो । यसमा ठूलै लेनदेन भएको थियो ।

तत्कालीन मन्त्री पद्मा अर्याल , सचिव टेकनारायण पाण्डे, भूमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक शेषनारायण पौडेलले बिचौलियासँग सेटिङ मिलाएर गिरीबन्धु टि-स्टेट हदबन्दी फुकुवा र खरिद बिक्री गर्ने बाटो खुलाउने प्रक्रिया अगाडि बढाएको आरोप लाग्दै आएको छ । यससम्बन्धी कागजात छानविनका लागि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले तानेको छ ।

विश्वस्त स्रोतका अनुसार व्यापारी दीपक मल्होत्रा र बिचौलिया तारा सापकोटाले कानून संशोधन गराउनेदेखि बिक्री गराउनेसम्मको सेटिङ मिलाएका थिए । बिचौलिया सापकोटा जग्गाको हदबन्दी फुकुवा गर्ने र टि(स्टेटको जग्गा बिक्रीवितरण गर्न पाउने गरी भूमि ऐन संशोधन गर्दा सरकारका उच्च पदस्थलाई १ अर्ब बुझाएको भन्दै हिड्ने गर्छन् । उक्त घुस रकम व्यापारी मल्होत्रा र गिरीबन्धु टि(स्टेटका मालिक छत्र गिरीले व्यवस्थापन गरेको बिचौलिया सापकोटाले सुनाउने गरेका छन् ।

तत्कालीन भूमि व्यवस्थापन मन्त्रालयका जग्गा प्रशासन शाखाका उपसचिव काजी बिष्टले हदबन्दी फुकुवाको निर्णयले सबैजना ललिता निवासकाण्डमा जस्तै तानिने भनेर रोक्न खोजेपछि उनको तत्कालै उद्योग मन्त्रालयमा सरूवा गरिएको थियो ।

भूमि सम्बन्धी ऐन नै संशोधन गरेर यति धेरै चलखेल भएको कुरा बाहिर आएको र पूर्व मन्त्री पद्मा मल्होत्राको अपार्टमेन्टमा गएर बसेपछि व्यापारी मल्होत्राले फ्ल्याट उपहार दिएको शंका सुरू भएको थियो ।

दीपक मल्होत्राले पूर्वमन्त्री पद्मा अर्याललाई फ्ल्याट उपहार दिएको चर्चा व्यापक हुन थालेपछि पद्माले सिल्भर अपार्टमेन्टको सिटू बल्कको ९ नम्बर फ्ल्याट छाडेर हिडेकी छिन् । अपार्टमेन्ट व्यवस्थापन स्रोतका अनुसार अर्यालले एक हप्ता अगाडि उक्त फ्ल्याट छाडेर हिडेकी हुन् ।

उक्त फ्ल्याट मीनाकुमार अग्रवालको नाममा रहेको छ । पूर्व मन्त्री पद्मालाई उपहार स्वरूप बस्ने दिइएको भनिएको त्यो फ्ल्याट अर्कै व्यापारीको नाममा राखेर उनलाई दिइएको अपार्टमेन्ट स्रोतको भनाइ छ । तर, पद्मा उपहार स्वरूप दिइएको भनिएको कालिकास्थानस्थित सिल्भर अपार्टमेन्टको सिटू बल्कको ९ नम्बर फ्ल्याट रहस्यमय ढंगले छाडेर हिडेकी छिन् ।

यता पूर्वमन्त्री अर्याल भने उक्त अपार्टमेन्टमा आफन्त रहेकाले गएर बसेको दाबी गर्छिन् । अहिले आफू हरि पौडेलको घरमा भाडामा बसेको बताउँदै उनले आफन्त रहेको अपार्टमेन्टको फ्ल्याटमा गएर केही दिन बसेको कुरालाई इस्यु नबनाउन भनिन् । ‘अपार्टमेन्टमा भाइ पर्ने बस्ने गरेकाले केही दिन गएर बसेको दाबी गरिन् ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया