३१ भाद्र २०८१, सोमबार | September 17, 2024

आरजु र रेशमलाई टीकापुर जग्गाकाण्डमा पक्राउ गर्ने तयारीमा सीआइबी


1.6k
Shares

काठमाडौं, ३० वैशाख । देशमा ठूला जग्गाकाण्ड, शरणार्थी काण्डमा हस्तीहरुमाथि कारबाही भइसकेको छ । अब त्यस्तै अर्को काण्डमा हाइप्रोफाइलमाथि नेपाल प्रहरीको सीआइबीले अनुसन्धान बढाएको छ ।

विश्वस्त स्रोतका अनुसार कैलालीको टीकापुरस्थित ३० बिघा सरकारी जग्गा हिनामिना काण्डमा सीआइबीले अनुसन्धान बढाउँदा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नी आरजु देउवा र नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीमाथि निगरानी बढाएको छ ।

सीआइबीका निर्देशकमा एआईजी श्यामलाल ज्ञवाली आइसकेपछि टीकापुर जग्गा घोटाला काण्डले प्राथमिकता पाएको हो । टीकापुर जग्गा घोटाला काण्डमा सिआईबीले विशेष अपरेशन सञ्चालन गर्न लागेको बुझिएको छ ।

टीकापुर क्षेत्रको विकास गर्न भनेर स्थापित टीकापुर विकास समिति र पहुँचवालाहरुको मिलेमतोमा उक्त क्षेत्रमा ठूलो मात्रामा सरकारी जग्गा हिनामिना भएको पत्ता लागेको छ । उक्त काण्डमा कांग्रेस नेतृ आरजु देउवा देखि नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीसम्म संलग्न रहेको सिआईबी स्रोतको दाबी छ । आरजु र रेशम सिआईबीको निगरानीमा रहेको स्रोतले बतायो ।

टीकापुर बजार क्षेत्रमा करिब ६ सय रोपनी सरकारी जग्गा हिनामिना भएको प्रारम्भिक निष्कर्ष छ । उक्त जग्गा राजनीतिक पहुँच र मिलेमतोमा हिनामिना भएको आरोप लाग्ने गरेको हो । राजनीतिक र सामाजिक पहुँचका आधारमा आरजुको नाममा करिब ४ कठ्ठा र रेशमको नाममा ५ कठ्ठा सरकारी जग्गा पुगेको सिआईबी स्रोतको दाबी छ ।

टीकापुरमा पञ्चायत कालदेखि प्रजातन्त्र, लोकतन्त्र हुँदै गणतन्त्रकालसम्म आइपुग्दा पहुँच र प्रभाववालाले सरकारी जग्गा हिनामिना गरेको देखिन्छ । प्रभावशाली व्यक्तिहरु कै नाममा समेत उक्त सरकारी जग्गा पुगेकाले सिआईबीको अपरेशन रोचक मोडमा पुग्न सक्ने अनुमान लगाउन सकिन्छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत टीकापुरको सरकारी जग्गा घोटाला काण्डमा एक चरणको भ्रष्टाचार मुद्दा दायर गरिसकेको छ । अख्तियार अर्को चरणमा प्रवेश गर्न लाग्दा उक्त काण्डमा सिआईबी तातेको हो । सिआईबीको टोली टीकापुर पुगेरै स्थलगत अध्ययन गर्ने तयारी गरिरहेको छ । त्यसका लागि एआईजी ज्ञवाली सक्रिय भएको स्रोतले बतायो ।

पछिल्लो समय नक्कली लाइसेन्स र बालमन्दिरको जग्गा किर्ते काण्डमा हात हालेको सिआईबीले टीकापुरको सरकारी जग्गा हिनामिना काण्डमा समेत अग्रसरता देखाएको छ । नक्कली भुटानी शरणार्थी काण्डलाई पटाक्षेप गरेका एआईजी ज्ञवाली नक्कली लाइसेन्स काण्डदेखि टीकापुर काण्डको जरोकिलो पत्ता लगाउन लागिपरेका छन् । उनकै नेतृत्वमा सिआईबीले टीकापुरको सरकारी जग्गा हिनामिना काण्ड निष्कर्षमा पुग्ने विश्वास लिइएको छ ।

टीकापुरको सरकारी जग्गा हिनामिना काण्डमा केही दिनभित्रै ‘ठूला माछा’ समातिए अचम्म नहुने टिप्पणी हुन थालेको छ । त्यसका लागि एआईजी ज्ञवालीले सक्रियता बढाएको बुझ्न सकिन्छ । ज्ञवालीलाई उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको पनि बलियो साथ रहेको बुझिन्छ । लामिछानेले नै हाइप्रोफाइलहरुमाथि छानबिन बढाउन निर्देशन दिएको विश्वस्त स्रोतले बतायो ।

प्रतिक्रिया