१२ श्रावण २०८१, शनिबार | July 27, 2024

देशलाई मध्यावधि चुनावमा लाने खेल


1.2k
Shares

काठमाडौं, २७ वैशाख । दुईपटक संसद विघटन गरेर मध्यावधि चुनाव गर्ने विगतको प्रयास असफल भएपनि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमा यही शैली पुनः पलाएको छ । यसपटक उनी आफू प्रधानमन्त्री भएको अवस्थामा नभई अर्काको काँधमा मध्यावधिको भारी बोकाउन चाहिरहेका छन् । यही खेल अनुसार रणनीतिक गतिविधि गरिरहेका छन् । ओलीले मध्यावधिका लागि उपयुक्त मौका पनि देखिरहेका छन् । ठिक यही बेलामा उदीयमान भनिएका दलका नेताहरु विस्तारै बदनाम हुन थालेका छन् । रवि लामिछानेको लोकप्रीयता घट्न थालेको छ ।

इलामको चुनावले रविको हैसियत देखाइदिएको छ । यो घटनाले राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ता झस्किएका छन् । उनीहरु आत्तिइसकेका छन् । राजनीतिक अनुभव र धैर्यता नभएकाहरु रास्वपामा छिरेका छन् । कतिपय दलका असन्तुष्ट पनि पसेका छन् । तिनको स्वभाव जहिले पनि असन्तुष्ट नै हुने हो । अर्कोतर्फ, समस्या पर्दा समाधान भन्दा भाग्ने स्वभावकाहरुको जमात रास्वपामा देखिन्छ । यसको असर देखिन थालिसकेको छ ।

विभिन्न काण्डमा मुछिएकाले अहिले साना दलहरुलाई धक्का पर्न थालेको छ । उनीहरु आन्तरिक झगडा र समस्यामा अल्झिन थालेका छन् । ठूला दलको टकरावको फाइदा उठाएर महत्वपूर्ण मन्त्रालय हात पार्न पल्किएका साना दलका नेतामा महत्वाकांक्षा ह्वात्तै बढ्यो । रवि लामिछाने, माधवकुमार नेपाल देखि उपेन्द्र यादवसम्मले प्रधानमन्त्रीको सपना देख्न थाले । तर, उपेन्द्रको पार्टी फुटेपछि धेरैको सपना चकनाचुर भएको छ । अब कुनैपनि बेला मध्यावधितर्फ देशलाई धकेल्ने खेल चलेको छ । ओली यही चाहन्छन् । देउवाले पनि मानेमा देश मध्यावधिमा जाने निश्चित छ ।

ओलीले जसपा, नेपाल फुटाएको चर्चा चलिरहेको छ अहिले । उनको खेलले रवि लामिछानेको लोकप्रीयता घट्दै गएको छ । नागरिक उन्मुक्ति पार्टीमा पति पत्नीको झगडा चर्किने गरी रणनीति चाले । यसरी जातीय, साम्प्रादायिक र क्षेत्रीय मुद्दा बोकेका दलहरु या त कमजोर भए या त फुट्न थाले । अहिलेको फुट र विवादले साना दलहरु छिन्नभिन्न हुँदैछन् । यसले कसैको पनि सरकार गठन गर्न बहुमत नपुग्ने अवस्था आउन सक्छ । यो भनेको देश मध्यावधिमा धकेलिनु हो । ओली यही चाहन्छन् । ओलीले २०७४ को चुनावपछि पनि मध्यावधिको प्रयास गरेका थिए । उनले दुई पटक संसद विघटन गरी मध्यावधिमा लान खोजे देशलाई । तर, अदालतको आदेशले देश मध्यावधिमा जानबाट रोकियो । ओली अहिले पनि योजनावद्ध तरिकाले मध्यावधिमा देशलाई धकेल्ने खेलमा छन् । उनी मध्यावधि चुनाव भएमा एमालेलाई सफलता मिल्ने आशामा छन् ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया