सामाजिक सुरक्षा योजना र श्रम कानुन कार्यन्वायनमा युनिकमको जोड

काठमाडौं,२४ वैशाख । नेपाल व्यापार कर्मचारी सङ्घ (युनिकम नेपाल)ले श्रम कानुन र सामाजिक सुरक्षा योजना कार्यन्वायनमा जोड दिएको छ । रोजगारादाता र प्रतिष्ठानहरुसँगको मित्रवत सम्बन्धलाई अझ सुदृढ बनाउँने प्रतिवद्धतासहित सम्पन्न तेस्रो राष्ट्रिय महाधिवेशनबाट युनिकम नेपालले श्रम ऐन कार्यन्वायनका सन्दर्भमा सरोकारवाला पक्षलाई जिम्मेवार हुन आग्रह गरेको हो ।
श्रम कानुन कार्यन्वायनलाई जोडतोडका साथ उठाएको तेस्रो महाधिवेशनले चार बुँदे घोषणापत्र समेत जारी गरेको छ । जारी घोषणा पत्रमा भनिएको छ –‘तीनै तहका सरकारसँग समन्वयमा श्रमिक र रोजगारादाताबी श्रम ऐन कार्यन्वायनका लागि सरोकारवाला पक्षलाई जिम्मेवार बनाउन यो महाधिवेशन माग गर्दछ ।’ नेपाल सरकारले लागु गरेको सामाजिक सुरक्षा योजना व्यवहारिक रुपमा कार्यन्वायन गर्नुपर्ने समेत युनिकमले जारी घोषणा पत्रमा उल्लेख गरेको छ ।
बैशाख २१ र २२ मा सम्पन्न महाधिवेशनबाट गजेन्द्रबहादुर पौडेलको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति सर्वसहमत चयन भएको छ । नयाँ समितिको बरिष्ठ उपाध्यक्षमा रविन शर्मा भुसाल, महिला उपाध्यक्ष गोमा नेपाल, उपाध्यक्ष चिरञ्जीवि पौडेल, महासचिवमा लेखनाथ दाहाल,उपमहासचिव रमन घिमिरे, सचिव मिनराज पौडेल र कोषाध्यक्षमा दुर्गाप्रसाद भट्ट निर्वाचित भएका छन् । त्यस्तै सदस्यहरुमा सिता विक, सविता श्रेष्ठ, खेमकुमारी आचार्य,प्रदीप बञ्जरा, देवीराम तिवारी, जक्त बहादुर श्रेष्ठ, लेखनाथ गैरे, दिपक बाँस्तोला, इश्वरानन्द कर्ण, प्रदीप शाह र मोहनचन्द्र दाहाल निर्वाचित भएको नव निर्वाचित महासचिव लेखनाथ हाहालले जानकारी दिए । यो कार्यकाल चार वर्षको हुने छ ।
महाधिवेशनमा प्रति ५० सदस्य बराबर १ जना प्रतिनिधि छनोट हुने र सोही प्रतिनिधिहरुको भेलाले नयाँ नेतृत्व चयन गर्ने बैधानीक व्यवस्था रहेको महासचिव दाहालले बताए । हाल सम्म युनिकम नेपालका ३५ जिल्ला समिति र सात वटै प्रदेश समितिहरु गठन भइसकेका छन् । मार्केटिङ,डिपार्टमेन्ट, थोक तथा खुद्रा, मेडिकल, लगायत १० वटा विषयगत क्षेत्रमा आबद्ध कर्मचारीका सङ्गठनहरू र ६ हजार भन्दा बढी सदस्यता युनिकममा आबद्ध रहेको दाहालले बताए ।
श्रमिकका अधिकार सुनिश्चित गर्दै रोजगारदाता कम्पनीसँगको समन्वय सहकार्यमा आगामी दिनमा सबै जिल्लामा संगठन विस्तार गर्ने योजना रहेको नव निर्वाचित अध्यक्ष गजेन्द्रबहादुर पौडेले बताए । झापाबाट सुरु भएको यो अभियान अहिले देशव्यापी बनाउदै लगेको अध्यक्ष पौडेले बताए । ‘यो अभियान विचारले विभाजन छैन’, उनले भने–‘संस्थामा राजनीतिक दृष्टिकोणले सबैको विचार फरक–फरक भएपनि यो संस्थाका गतिविधिमा स्वतन्त्रता प्रस्तुत गर्न सक्नु नै हाम्रो सफलता हो ।’
विभिन्न व्यापार व्यवसायमा आबद्ध कर्मचारीहरूको सेवा सुविधा, नियमित पारिश्रमिक र रोजगारीको सुनिश्चितताका लागि काम गर्दै आएको युनिकमलाई संस्थागत गर्दै यहाँसम्म ल्याउन सबैले सकारात्मक भूमिबाट सम्भव भएका उनको भनाइ छ । सदस्यहरूका लागि नेतृत्व क्षमता विकासका विविध आयाममा तालिम समेत गर्दै आएको युनिकमले सबै व्यापारी तथा कर्मचारीहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउनका लागी सम्बन्धित निकायसँग अवश्यक संवाद गर्ने जनाएको छ ।