एनसेलको शेयर कारोबार गैरकानूनी, प्राधिकरणले स्वीकृती दिएन

काठमाडौं, १३ वैशाख । एनसेलको अरबौंको शेयर कारोबार कम देखाएर गरिएको कारोबार गैरकानूनी भन्दै नेपाल दूरसञ्चार प्राधिकरणले अस्वीकृत गरिदिएको छ । नियामक निकाय प्राधिकरणले शेयर खरिद विक्री कानूनसम्मत नभएकाले स्वीकृती दिन अस्वीकार गरेको हो ।
१५ मंसिर २०८० मा एनसेलको ८० प्रतिशत शेयर मलेशियाको आजिएटा बर्हाद समूहले बेलायतको स्पेक्ट्रलाइटलाई ६ अर्ब ६५ करोड रुपैयाँमा विक्री गरेको थियो । यसअघि सन् २०१६ मा आजिएटाले १ खर्ब ४३ अर्ब रुपैयाँमा उक्त शेयर खरिद गरेको थियो ।
सतीशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई सर्तसहित कम मूल्यमा विक्री गरेको देखाएपछि कर छली प्रष्ट भएको थियो । यसबारे समिति बनाएरै छानविन भयो ।
एनसेलको कर छलीसम्बन्धी विभिन्न समयका मुद्दा अदालतमा विचाराधीन छ । एनसेलमा माफिया शैलीमा रकम बाहिर लाने र कर छली गर्ने सिलसिला चल्दै आएको छ ।