४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

जुन काण्डमा विकल र सुनिल त्यहाँ मुख्यसचिव अर्याल


581
Shares

काठमाडौं, २७ चैत्र । यतिबेला अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हिरासतमा छन् आइटी माफिया विकल पौडेल र सुनिल पौडेल । उनीहरुले एक दशकभन्दा बढी नेपालको आइटी क्षेत्रमा ताण्डव नै मच्चाएको खुलासा भइरहेको छ । प्रिन्टिङ प्रेस खरिद, इम्बोस्ड नम्बर प्लेट, टेलिकम क्षेत्र देखि आइटीका हरेक निकायको अरबौं भ्रष्टाचारमा विकल त मतियार नै भएको अख्तियारले पाएको छ । उनले विश्वासपात्रका रुपमा सुनिललाई समेत बढाएर नेपाल टेलिकमको महाप्रबन्धक सम्म बनाए ।

सबै राजनीतिक दलका शीर्ष नेतासम्म पहुँच बनाएका विकलले कर्मचारी सरुवा बढुवा सम्म गर्ने सामथ्र्य राखे । उनी जोडिएको हरेक काण्डमा मुख्यसचिव बैकुण्ठप्रसाद अर्याल जोडिएका छन् ।

सुनिल र विकल झन्डै ३ महिनादेखि अख्तियारको हिरासतमा छन् । उनीहरुले घूसको लेनदेन गरेको विदेशी बैंकहरुको खाताबारे समेत अनुसन्धान चलिरहेको छ । यसले धेरै तथ्यहरु बाहिर आउने बुझिएको छ ।

सुनिल पौडेललाई भ्रष्टाचार मुद्दा लागेको नेसनल पेमेन्ट गेटवे सिस्टममा मुख्यसचिव अर्याल जोडिएका छन् । उनलाई अख्तियारले नेसनल पेमेन्ट गेटवे सिस्टममा बयान लिइसकेको छ । नेसनल पेमेन्ट गेटवे सिस्टममा तत्कालीन सञ्चार सचिव अर्यालमाथि पनि अनुसन्धान भइरहेको विशेष अदालतमा दर्ता गरेको अख्तियारको अभियोग पत्रमा उल्लेख गरेको छ । सुनिललाई भ्रष्टाचार मुद्दा दायर गरेर मुख्यसचिव अर्यालमाथि अनुसन्धान जारी राखेको अख्तियारले विशेष अदालतलाई जानकारी गराएको छ ।

विकल पौडेललाई सुरक्षण मुद्रण केन्द्रको खरिदमा अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको छ । सुरक्षण मुद्रण केन्द्रको ठेक्का बदमासीमा पनि तत्कालीन सञ्चार सचिव र हालका मुख्यसचिव अर्याल जोडिएका छन् । मन्त्रिपरिषद्को बैठकले विकललाई सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकबाट बर्खास्त गर्दा मुख्यसचिव अर्याललाई केही गर्न सकेको छैन । उनलाई ठूलै शक्तिको साथ रहेको बुझिएको छ ।

अर्यालले कानुन नै फेरेर विकललाई सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा फेरि ल्याउन भूमिका खेले । सुनिललाई नेपाल टेलिकमको प्रबन्ध निर्देशक बनाउने खेल समेत खेलका थिए । यसमा कांग्रेस नेतृ आरजु राणा देउवासँगको साथ मिलेको थियो ।

विकललाई सुरक्षण मुद्रणमा दोहोऱ्याएर लगेपछि अन्तःशुल्क स्टिकर ठेक्कामा विकल र अर्याल मिलेर अनियमितता गरेको खुल्यो । सुनिललाई टेलिकमको एमडी बनाएपछि अर्यालले बिलिङ सिस्टम चिलिम बनाएको फेला पऱ्यो । सुनिल र विकलविरुद्ध त्यस्तै प्रकृतिको केसमा भ्रष्टाचार मुद्दा दायर भएर निलम्बनमा पर्दा अर्याल भने बयानमा मात्रै सीमित छन् ।

विकललाई सुरक्षण मुद्रण केन्द्रको कार्यकारीमा दोहोऱ्याउदा अर्यालले ‘घूस’ लिएको तथ्य सार्वजनिक भइसकेको छ ।सुनिललाई टेलिकमको एमडी बनाउँदा पनि उनले राम्रै लाभ लिएको विषय उठेको छ । विकलसँगको ‘घूस’ लेनदेनमा अख्तियारले मुख्यसचिव अर्यालसँग बयान लिइसकेको छ । सुनिल जोडिएको बिलिङ सिस्टम र विकल जोडिएको अन्तस्शुल्क स्टिकरमा पनि अर्यालले अख्तियार पुगेर बयान दिइसकेका छन् ।

टेरामक्स खरिद घोटालासहित मुख्यसचिवको हैसियतामा अर्यालले अहिलेसम्म ६ पटक अख्तियारको मुख्य कार्यालय टंगाल पुगेर बयान दिएका छन् । अब उनलाई सातौंपटक बयान लिने अख्तियारको तयारी देखिन्छ । अख्तियार धाइरहने मुख्यसचिवसँगको सहयात्रा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जारी राखेका हुन् ।

अकुत सम्पत्ति आर्जनको उजुरीमा अख्तियारको हिरासतमा रहेका सुनिल र विकल जस्तै अकुतको उजुरी र छानबिन मुख्यसचिव अर्यालमाथि पनि भइरहेको छ । अकुतसहित दर्जनौं अनियमितता मुछिएका उनलाई उन्मुक्ति दिने खेलहरु भएपनि सफल नहुने देखिएको छ ।

घटनाक्रमले जुन काण्डमा सुनिल र विकल मुछिएका छन् त्यहाँ मुख्यसचिव बैकुण्ठपसाद अर्याल जोडिएको देखिन्छ। अख्तियारको छानबिन र उनीसँगको पटकपटकको बयानले पनि उनीमाथिको आशंकामा थप आधार देखिछ ।

प्रतिक्रिया