५ माघ २०८१, शनिबार | January 19, 2025

एनसेल कर छली सामसुम पार्न यस्तो छ ग्रान्डडिजाइन


498
Shares

काठमाडौं, १८ चैत्र । देशका प्रभावशाली नेता, कर्मचारी र व्यवसायी समेत संलग्न रहेको एनसेल कर छली प्रकरण सामसुम पार्ने ग्रान्डडिजाइन अनुसार काम बढिरहेको छ । एनसेल कर छली प्रकरणका प्रमाण नष्ट गर्नकै लागि नियुक्ति र कारबाही चलेको छ ।

एनसेल कर छली सामसुम पार्ने डिजाइन अनुसार नेपाल दूरसञ्चार प्राधिकरणमा भूपेन्द्र भण्डारीको नियुक्ति भएको खुल्दै गएको छ । उनले एनसेल कर छलीमा प्रमाणहरु नष्ट गर्ने गतिविधि बढाएका छन् ।

प्राधिकरणको सेट नै भ्रष्टाचार मुद्दामा परेको छ । योसँगै भण्डारीलाई नयाँ टिम ल्याउने बाटो खुलेको छ । अब उनले एनसेल कर छलीलाई अझ साकार बनाउने गतिविधि बढाउने भएका छन् । उनलाई सरकारको नेतृत्वकर्ताकै साथ छ ।

एनसेल कर छली प्रकरणको अध्ययन प्रतिवेदन सरकारलाई बुझाइएपनि अझै सार्वजनिक गरिएको छैन । अध्ययन प्रतिवेदन सार्वजनिक गर्नुको साटो ध्यान अन्यत्र मोडेर एनसेल प्रकरण सामसुम पारिने खेल भइरहेको छ ।

एनसेल कर छली मिलाउनका लागि भूपेन्द्र भण्डारीलाई सुरुमा सञ्चार विज्ञका रुपमा सञ्चार मन्त्रालय छिराइएको थियो । उनी एनसेलका पूर्व सल्लाहकार हुुन् । एनसेल कर छली गर्ने समूहकै कम्पनीको सीइओ भएर बुरुण्डीमा काम गरेका थिए ।

भण्डारीलाई एनसेल कर छली प्रकरण छोप्न नै ल्याएर सेयर खरिद विक्रीसम्बन्धी प्रतिवेदन लुकाइएको छ । यसको खोजविन गर्नुको साटो भण्डारी नक्कली कागजपत्रको खेलमा लागेका छन् ।

नियामक निकाय प्राधिकरणले सेयर खरिद विक्रीको सक्कल कागजपत्र माग्नुपर्नेमा अझै मागेको छैन । छापसहितको कागजपत्र माग्नुपर्नेमा भण्डारीबाट त्यसो भएको छैन । उनी ध्यान अन्यत्र मोड्न नयाँ टेलिकम कम्पनी ल्याउनुपर्ने जोडबल गर्दैछन् ।

एनसेलले राज्यका महत्वपूर्ण अङ्ग देखि विभिन्न निकायलाई प्रभावित गर्न थालेको छ । उसले कर छली प्रकरण सामसुम पार्न ठूलो धनराशी दुरुपयोग गरिरहेको तथ्य नेपाल पेनले फेला पारेको छ । एनसेलले विरोध हुन नदिन विभिन्न ढंगले रणनीति बुन्दै आएको छ ।

 

प्रतिक्रिया