३ आश्विन २०८१, बिहिबार | September 19, 2024

प्रचण्डले बहुमत पाउनेमा सत्ता गठबन्धनभित्रै आशंका


1.7k
Shares

काठमाडौं, २७ फागुन । प्रधानमन्त्री प्रचण्डले सत्ता गठबन्धन बदलेपछि पनि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा आत्तिएका छैनन् । प्रचण्डले संसदमा विश्वासको मत लिन नसक्नेमा देउवा ढुक्क छन् ।

सत्ता गठबन्धनमा रहेका दलहरु नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी र नेकपा एसको सांसद संख्या जोड्दा प्रचण्डलाई बहुमत देखिन्छ । तर, देउवा किन प्रचण्डले विश्वासको मत लिन नसक्नेमा ढुक्क छन् भन्ने चासो रहेको छ ।

सत्ता गठबन्धनभित्रै प्रचण्डले विश्वासको मत लिन नसक्ने चर्चा चलिरहेको छ । नेकपा एसका नेता मेटमणि चौधरीले प्रचण्डले विश्वासको मत लिन नसक्ने अभिव्यक्ति दिए । यसले तरंग नै ल्याएको छ ।

काँग्रेस सभापति देउवाले नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई प्रधानमन्त्री प्रस्ताव गरिसकेका छन् । तर, नेपालको दल नेकपा एस गठबन्धनमा रहेको छ । कुनैपनि बेला सत्ताको खेल यताउता हुनसक्छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले नयाँ गठबन्धन बनाउँदा महत्वपूर्ण मन्त्रालय दाबी गरेका छैनन् । गृह, अर्थ, रक्षा, सञ्चार, परराष्ट्र, जलस्रोत जस्ता मन्त्रालय एमालेको प्राथमिकतामा परेन । जबकि हरेक पटक सत्ता गठबन्धन गर्दा एमाले महत्वपूर्ण मन्त्रालयको दाबी गर्दथ्यो । एमालेको यो लचकतालाई पनि प्रचण्ड सरकार लामो नजाने संकेतका रुपमा लिइएको छ ।

कुनैपनि बेला जसपा, नेकपा एसले सत्ता गठबन्धन छाड्न सक्छन् । यसकारण पनि प्रचण्डलाई अबको दिन सजिलो छैन ।

प्रतिक्रिया