३१ भाद्र २०८१, सोमबार | September 17, 2024

काँग्रेसले हिन्दुराष्ट्रलाई मुद्दा बनाउला ?


February 18, 2024
415
Shares

समाचार विश्लेषण । नेपाली काँग्रेसको महाधिवेशनको मुखमा हिन्दुराष्ट्रको मुद्दा उठाइयो २२ केन्द्रीय सदस्यहरुबाट । ती केन्द्रीय सदस्य सभापति शेरबहादुर देउवा र डा. शेखर कोइराला दुवै पक्षका छन् ।

हिन्दूराष्ट्र अभियान नै चलाइएको छ काँग्रेसमा । उक्त अभियानमा लोकेश ढकाल पनि छन् जो प्रकाशमान सिंहसँग नजिक मानिन्छन् । गगन थापा, विश्वप्रकाश शर्मा, कृष्णप्रसाद सिटौला पक्षधरबाहेक मुख्य गुटका नेताहरु हिन्दुराष्ट्रको पक्षमा समेत उभिएका छन् ।

काँग्रेसभित्र पहिलोपटक यति धेरै संख्यामा केन्द्रीय सदस्यहरुले हिन्दुराष्ट्र अभियानमा आफूलाई उभ्याए । महासमितिको बैठकमा यसले औपचारिक छलफलका लागि प्रवेश नपाएपनि कुरा उठ्ने देखिएको छ ।

काँग्रेस सभापति शेरबहादुर देउवा पनि हिन्दुराष्ट्रको पक्षमा लचिलो छन् । डा. शेखर कोइराला र डा. सशांक कोइरालाले त यसको पक्षमा लचकता विगतमा नै देखाएका हुन् । तैपनि, काँग्रेसभित्र हिन्दुराष्ट्रको पक्षमा औपचारिक मुद्दा बनाउने निर्णय आउने सम्भावना कम छ । यसका धेरै कारणहरु छन् ।

पहिलो कारण हो काँग्रेसको पदाधिकारी र शक्तिशालीमध्ये अधिकांश धर्मनीरपेक्ष पक्षधर । धनराज गुरुङ, गगन थापा र विश्वप्रकाश शर्मा धर्मनीरपेक्षका कट्टर पक्षधर हुन् । उनीहरुलाई काँग्रेसको भावी नेतृत्वकर्ताका रुपमा पनि लिने गरिएको छ । नेतृत्वतहमा पकड धर्मनीरपेक्ष पक्षधरकै छ ।

काँग्रेसको निर्णायक तहमा रहेका सभापति देउवा हिन्दुराष्ट्रको पक्षमा आउने सम्भावना छैन । उपसभापति पूर्णबहादुर खड्का मौन छन् यस मुद्दामा । उपसभापति धनराज गुरुङ र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा नै हिन्दुराष्ट्रको विपक्षमा खुल्नुले अर्को महाधिवेशन अघि काँग्रेसबाट धर्मनीरपेक्ष छाड्ने निर्णय आउने सम्भावना देखिदैन ।

दोस्रो कारण हो सत्तारुढ गठबन्धन । गठबन्धनका दलहरु नेकपा माओवादी केन्द्र, नेकपा एस र जसपा धर्मनीरपेक्ष पक्षधर हुन् । उनीहरुभित्र हिन्दुराष्ट्रको मुद्दा निकै कमजोर छ । काँग्रेसले हिन्दुराष्ट्रलाई मुद्दा बनाएमा गठबन्धन नै भत्कन सक्छ ।

तेस्रो कारण हो नयाँ दलका रुपमा उदाएको रास्वपा धर्मनीरपेक्षको पक्षमा उभिनु । काँग्रेसले हिन्दुराष्ट्रको पक्षमा जाने निर्णय लिएमा धर्मनीरपेक्ष पक्षधरहरु काँग्रेस छाड्ने भय नेतृत्वलाई छ । रास्वपा हिन्दुविरोधी दलका रुपमा उभिइसकेको छ । स्वर्णिम वाग्लेले त हिन्दुवादी र राजावादी रास्वपामा नअट्ने बताइसकेका छन् ।

चौंथो कारण हो बाह्य । विशेषगरी पश्चिमा शक्ति काँग्रेसभित्र हिन्दुराष्ट्रको मुद्दालाई कमजोर भएको देख्न चाहन्छ । काँग्रेसभित्र हिन्दुराष्ट्रको मुद्दा नै आधिकारिक भएमा ती शक्तिको साथ नहुन सक्छ । त्यसले पुग्ने क्षति थेग्न काँग्रेसलाई कठिन पर्न सक्ने अवस्थाको चित्रण गरिन्छ ।

काँग्रेसभित्र हिन्दुराष्ट्रको मुद्दा रणनीतिक तरिकाले उठाइएको हुनसक्छ । तर, उसले हिन्दुराष्ट्रको मुद्दा नै उठाउने सम्भावना देखिदैन ।

प्रतिक्रिया