४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

भानु माबिको ‘पूर्व विद्यार्थी भेला’ सम्पन्न


February 17, 2024
27.5k
Shares

काठमाडौं,५ फागुन । तनहुँको बन्दीपुरस्थीत भानु माध्यमिक विद्यालयमा अध्ययन गरी काठमाडौं बसोबास गरेका पूर्व विद्यार्थीहरुको भेला सम्पन्न भएको छ । पद्योदय माध्यमिक विद्यालय,भृकुटीमण्डपमा शनिबार सम्पन्न भेलामा पूर्व विद्यार्थीहरुको बाक्लो उपस्थिति थियो ।

विद्यालयका पूर्व विद्यार्थी मेघकुञ्ज राजभण्डारीको अध्यक्षता भएको कार्यक्रममा प्रमुख अतिथि चिजकुमार श्रेष्ठ थिए । भेलालाई सम्बोधन गर्दै समाजसेवी समेत रहेका श्रेष्ठले पछिल्लो समय भानु माबिको शिक्षाको स्तर खस्किदै गएको भन्दै चिन्ता व्यक्त गरे । उनले भने,“भौतिक संरचनामा विकास भएको छ,तर विद्यालयको पढाई खस्केको छ ।”

भेलाका संयोजक एंव पूर्व शिक्षक दिनेशमान श्रेष्ठले देशभर छरिएर रहेका भानु माबिका विद्यार्थीलाई संगठित गरी उनीहरु बीचको सामिप्यता,भातृत्व र सद्भावको वातावरण तय गर्ने ‘पूर्व विद्यार्थी समाज गठन’को  उद्देश्य रहेको सुनाए । उनले भने,“समाजले पूर्व विद्यार्थी र विद्यालयबीच सम्पर्क सुत्रको रुपमा भूमिका निर्वाह गर्ने आशा गरेका छौं ।”

पूर्व विद्यार्थीहरुको सीप र स्रोतसाधनलाई उपयोग गर्दै विद्यालयको शैक्षिक स्तरोन्नती तथा विद्यार्थी वृत्तिविकासमा सहयोग गर्ने,जेहेन्दार र आर्थिक विपन्न विद्यार्थीहरुको अध्ययनलाई निरन्तरता दिन सहयोग गर्ने अपेक्षा समाजले लिएको छ । कार्यक्रमको सञ्चालन गर्दै पुर्व शिक्षक ऋषिराम शर्माले विद्यालयको भौतिक तथा शैक्षिक विकासको लागि समाजले सहकार्य र सहयोगी भूमिका निर्वाह गर्ने बताए ।

प्रधानध्यापक विज्ञान भट्टराईले पूर्व विद्यार्थीहरुको सीप र स्रोतसाधनलाई उपयोग गर्दै विद्यालयको शैक्षिक स्तरोन्नती तथा विद्यार्थी वृत्तिविकासमा सहयोग हुने अपेक्षा रहेको बताए । जेहेन्दार र आर्थिक विपन्न विद्यार्थीहरुको अध्ययनलाई निरन्तरता दिन समाजले सहयोग पुराउने उनको विश्वास छ ।

भेलामा समाज गठन गर्न सदस्यता शुल्क,योग्यता,विद्यालयको भौतिक तथा शैक्षिक उन्नतीका लागि सुझाव माग गरिएको थियो । र,बन्दिपुर बाहेक अन्य समाजको संरचनाबारे पनि सुझाव संकलन गरिएको थियो ।

कार्यक्रममा पूर्व विद्यार्थीहरु डा.अम्बिका मोहन जोशी,मोहन बहादुर कायस्थ,रेशम गुरुङलगायतले आफ्नो धारणा राखेका थिए ।

 

प्रतिक्रिया