क्यानडाविरुद्ध नेपालको रोमाञ्चक जीत

काठमाडौं, २५ माघ । खेलमा नतिजा जतापनि जानसक्छ । हारिसकेको भनिएको टिम पनि जित्न सक्छ । त्यस्तै भयो क्यानडाविरुद्धको एकदिवसीय क्रिकेटमा बिहिबार ।
त्रिवि क्रिकेट मैदानमा भएको प्रतिष्पर्धामा क्यानडा जीतको नजिक पुगिसकेको थियो । तर, नेपाली बलरहरुले क्यानडाका ब्याट्सम्यानहरुलाई एकपछि अर्को गर्दै आउट गरेपछि नेपालले ७ रनको रोमाञ्चक जित निकाल्यो ।
नेपालले ५० ओभरमा सबै विकेट गुमाएर २२४ रन बनाएको थियो । क्यानडा जवाफी ब्याटिङमा उत्रिएर नेपाली बलरहरुसामु कडा रुपमा उत्रियो । तर, खेलमा जीतको नजिक पुगेको क्यानडालाई १३ बल बाँकी रहँदा नेपाली बलरहरुले अल आउट गरे ।
नेपालको जितमा कप्तान रोहित पौडेलले ४ विकेट लिए । ललित राजवंशी दुई विकेट लिन सफल भए । सोमपाल कामी, रिजन ढकाल, पवन सर्राफ र कुशल मल्ल एक-एक विकेट लिन सफल भए ।