४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

यसकारण नेपाल हिमालय सीमापार संघको अध्यक्षमा शेर्पाको उम्मेदवारी


February 7, 2024
31.3k
Shares

काठमाडौं,२४ माघ । नेपाल हिमालय सीमापार वाणिज्य संघको २४औं वार्षिक साधारण सभा तथा १२ औं अधिवेशन आगामी माघ २७ गतेबाट काठमाडौंमा सुरु हुँदैछ । विशेषगरी नेपाल चीन व्यापारको ठुलो मेरुदण्ड बोकेको यो संघको आगामी नेतृत्व कसले गर्ला त्यो भने हेर्न बाँकी नै छ ।

संघको अनुसार अध्यक्ष पदका लागि २ जनाको उम्मेदवारी परेको छ । निर्वाचन समितिले मनोनयन दर्ता गर्दै उम्मेदवारहरुको नामावली सार्वजनिक गरेको छ । जसअनुसार अध्यक्षको लागि लोप्साङ शेर्पा र रामहरी कार्कीको उम्मेदवारी परेको छ ।

आखिर को हुन् त अध्यक्ष पदमा उम्मेदवारी दिएका लोप्साङ शेर्पा ?

सिन्धुपाल्चोक जिल्लाको उत्तरी भेग चीनको सिमानामा रहेको भोटेकोशीमा २०४२ सालमा जन्मिएका शेर्पा अत्यन्तै मिलनसार, मृदुभासी स्वभाव र व्यापारमा राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा राम्रो दख्खल भएका व्यक्तिका रुपमा परिचित छन ।

माध्यमिक र उच्च माध्यमिक तह काठमाडौंमा अध्ययन गरेका शेर्पाले स्नातक तह भने चीनको सन यात सेन युनिभर्सिटीमा अध्ययन गरेका हुन । उम्मेदवार शेर्पाले ढेड दशक भन्दा लामो नेपाल–चीन व्यापारमा राम्रो सम्बन्ध स्थापित मात्रै गरेका छैनन् २०६४ साल देखि तातोपानी नाकामा नेपालतर्फको चीनियाँ भाषामा अनुवादकको रुपमा सक्रिय भुमिका निर्वाह गर्दै आएका छन् ।

चीनबाट सामानहरुको आयातमा मात्र होइन शेर्पाले नेपाल–चीनबीचको सुमधुर सम्बन्ध कायम राख्न पनि महत्वपुर्ण भुमिका खेल्दै आएका छन् । शेर्पाले विगतमा नेपाल हिमालय सीमापार कार्य समितिमा सचिव, सल्लाहाकार र विदेश विभागमा समेत रहेर आफनो दख्खलता देखाइसकेका छन । शेर्पा हाल चीनबाट आयात गरिने सामानहरुको नमस्ते लजिस्टिकको अध्यक्षको रुपमा कार्यरत छन ।

अध्यक्ष पदमा उम्मेदवारी दिएका शेर्पाको यी हुन् नयाँ एजेण्डा र रणनीति

नेपाल चीन व्यापार सम्बन्धी राम्रो अनुभव र सक्रिय युवा व्यवसायी लोप्साङ शेर्पाले अन्य उम्मेदवारको भन्दा फरक र बेग्लै किसिमको एजेण्डा र रणनीतिहरुसहित चुनावी मैदानमा उत्रिएका छन ।

शेर्पाको अनुसार,“सिमित व्यक्तिहरुको खल्तीको संस्था हो भन्ने भ्रमलाई तोड्दै चीन नेपाल व्यापार व्यवासाय गर्ने सच्चा व्यवसायहरुको हितको निम्ति नेपाल र चीनमा व्यवसायीहरुले भोगेका समस्याहरुलाई समन्वय सहकार्य गर्दै संस्थाको विधानअनुसार समूहिक रुपमा नेतृत्व प्रधान गर्न उनले उम्मेदवारी दिएका हुन् । त्यसैगरी संघको गतिविधिलाई अझ प्रभावकारी रुपमा अगाडि बढाउन र नेपाल–चीन व्यापार सम्बन्धलाई अझ व्यापक बनाउन आफूले अध्यक्षमा उम्मेदवारी दिएको शेर्पाले स्पष्ट पारेका छन् ।

पछिल्लो समय यस संस्थामा केही व्यक्तिहरुको ज्यादती र व्यक्तिबादीहरुको एकलौटीका कारण संस्थामा असन्तुष्टि चुलिँदै गएको छ । यस किसिमको ज्यादती र व्यक्तिबादीहरुको एकलौटीलाई चिर्नका लागि पनि शेर्पाको उम्मेदवारी अनिवार्य रहेको संस्थाका केही पदधिकारीहरु बताउँछन् । यस संस्थामा भएको विकृतीहरु खुलेर बोल्न नसकिरहेको र नयाँ नेतृत्व आएपछि सबैको असली रुप पर्दाफास गर्ने पनि नाम नखुलाउने शर्तमा एक पदाधिकारीले नेपालीपेनसँग बताए ।

प्रतिक्रिया