२३ भाद्र २०८१, आइतबार | September 8, 2024

मानव तस्करको तारोमा प्रहरी : प्रकाश रायमाझी


February 3, 2024
6.1k
Shares

काठमाडौं, २० माघ । राजनीतिक विश्लेषक प्रकाश रायमाझीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत अध्यागमनका कर्मचारीहरू कमाउ धन्दामा लागेको टिप्पणी गरेका छन् ।

विमानस्थलका सुरक्षा प्रमुख डिआइजी अर्जुन चन्द ठकुरीले राजीनामा दिएपछि रायमाझीले यस्तो बताएका हुन् । विमानस्थलमा कार्यरत अध्यागमनका कर्मचारीहरूको कमाउ धन्दामा मनोमानी रहेको भन्दै उनले मानव तस्करी र अन्य सेटिङ भएको पनि आरोप लगाएका छन् ।

शनिबार एक विज्ञप्ती जारी गर्दै रायमाझीले लेखेका छन्,“अपराध रोक्न खोज्ने प्रहरीहरू आँखाको तारो बन्ने गर्छन् । गृहमन्त्रीदेखि गृहसचिवसम्मको सेटिङमा हुने यस्ता अपराधको छानबिन र नियन्त्रण गर्ने हो भने विमानस्थलमा कार्यरत डीआइजीले होइन गृहमन्त्रीले राजीनामा पहिला दिनुपर्छ ।”

लाचार छानबिन समिति बनाएर सरकारले प्रहरी संगठनको मनोबल गिराउने काम गरेको समेत रायमाझीले आरोप लगाएका छन् । रायमाझीले लेखेका छन्, “कमिसनखोर झारे समिति बनाएर सुरक्षाकर्मीलाई दोष ??? प्रहरी संगठनको मनोबल गिराउने ???”

उनले आफ्नै संगठनको पक्षमा अडान लिन नसकेको गुनासो गर्दै प्रहरी अधिकारीहरूको नैतिकता नभएको पनि टिप्पणी गरेका छन् । “संगठनको पक्षमा अडान लिन नसक्ने लाल्ची प्रहरी अधिकारीहरूको नैतिकता खै ???”–उनले लेखेका छन् ।

विमानस्थलमा प्रहरीले अध्यागमन कार्यालयका कर्मचारीमाथि हातपात गरेको घटना चर्चामा रहँदै सुरक्षा प्रमुख डिआईजी चन्दले आज राजीनामा दिएका हुन् । व्यक्तिगत कारणले राजीनामा दिएको भनिएपनि विमास्थल सुरक्षामा खटिएको प्रहरीको भूमिकामाथि प्रश्न उठाइरहँदा चन्दले निर्णय लिएका हुन् । चन्दको कार्यकाल अझै १४ महिना रहेको छ । उनी आइजीवी वसन्त कुँवरका ब्याचका हुन् ।

प्रतिक्रिया