१२ श्रावण २०८१, शनिबार | July 27, 2024

पक्राउ परेका चौधरी र थापा ग्रान्डी अस्पताल भर्ना


February 3, 2024
166
Shares

काठमाडौं,२० माघ । बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा हडपेको कसुरमा पक्राउ परेका तीनमध्ये ६० वर्षीय अरुणकुमार चौधरी र ८० वर्षीय अजितनारायण सिंह थापा ग्रान्डी अस्पतालमा भर्ना भएका छन् । उनीहरूसहित ४५ वर्षीय सञ्जय ठाकुरलाई प्रहरीले किर्ते तथा ठगी कसुरमा अनुसन्धान अघि बढाउन बिहीबार पक्राउ गरेको थियो । पक्राउ पर्नेमा चौधरी च्याम्पियन फुटवेयरका सेयरधनी तथा सञ्चालक हुन् । उनीमाथि बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा हडपेको मुख्य अभियोग लागेको छ । थापा भने तत्कालीन बाँसबारी छालाजुत्ता कारखानाका कार्यकारी अध्यक्ष हुन् ।

च्याम्पियन फुटवेयरले ८ लाख लगानी गरी हडप्यो १० रोपनी

पक्राउ परेका महोत्तरी जिल्ला महोत्तरी गाउँपालिका–१ का सञ्जय ठाकुर भने च्याम्पियन फुटवेयर–सीजी चाँदबाग रेसिडेन्सीका सञ्चालक हुन् । उनीहरूलाई पक्राउ गरेपछि अदालतले चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । त्यसपछि चौधरी र थापा बिरामी भएको भन्दै चिरायु अस्पताल लगियो । चिरायुले उच्च रक्तचापका बिरामी भएको पुष्टि गरेपछि शुक्रबार ग्रान्डी लगिएको हो ।

मालपोत कार्यालय डिल्लीबजारमा बाँसबारी छाला तथा जुत्ता कारखानाको नाममा स्रेस्ता कायम भएको काठमाडौं जिल्ला साबिक नगर २२९छ० कि।नं ५० को १८–३–२–० जग्गा तत्कालीन श्री ५ को सरकारको निर्णयबिना नै सञ्चालक समितिलाई बेचबिखन गर्ने कुनै अधिकार नभएको अवस्थामा च्याम्पियन फुटवेयरलाई दिइएको सीआईबीको
आरोप छ ।

१० भदौ २०४३ बाँसबारी छालाजुत्ता कारखानाका तर्फबाट कार्यकारी अध्यक्ष अजितनारायण सिंह थापाले अरुण चौधरीसमेत सञ्चालक रहेको च्याम्पियन फुटवेयर नामक कम्पनी खडा गरी सो कम्पनीको जारी पुँजी ५० लाखको २५ प्रतिशत सेयर लिनेगरी क्यानभास जुत्ता उत्पादन गर्ने भनी कारखानाको नाममा स्रेस्ता कायम रहेको जिल्ला काठमाडौं साबिक नगर २२९छ० कि।नं। ५० को १८–३–२–० जग्गामध्येको १० रोपनी जग्गाको हक हस्तान्तरण गरेको थियो । च्याम्पियन फुटवेयरको जारी पुँजी ५० लाख रहेकामा सो पुँजीको २५ प्रतिशत सेयर लिनेगरी तत्कालीन सञ्चालक समितिले निर्णय गरेबमोजिम १२ लाख ५० हजार रुपैयाँ मात्र लगानी गर्नुपर्नेमा २६ लाख बाँसबारी छालाजुत्ता कारखानाले लगानी गरेको देखिएको छ । सम्झौताभन्दा बढी लगानी गरी तत्कालीन श्री ५ को सरकारलाई हानी नोक्सानी पु¥याई आफूहरूले आर्थिक लाभ लिएको सम्बन्धमा साबिक मुलुकी ऐन, २०२० को किर्ते कागज र ठगीको महललाई निरन्तरता दिएको मुलुकी अपराध संहिता, २०७४ को दफा २४९ र २७६ बमोजिमको कसुर अनुसन्धानका लागि उनीहरूलाई पक्राउ गरेको सीआईबीको भनाइ रहेको छ ।

सीआईबीको अध्ययनले ५१ प्रतिशत सेयरवालाका रूपमा रहेको अरुणकुमार पक्षले ५१ प्रतिशत लगानी गर्नुपर्नेमा ८ लाख मात्रै लगानी गरेर १० रोपनी जग्गा हडपेको देखिएको छ । अनुसन्धान गरी अदालतले पुष्टि गरेपछि मात्र पक्राउ गर्नुपर्नेमा व्यवसायीलाई हतोत्साही पार्नेगरी पक्राउ गरेको भन्दै बिहीबार नै नेपाल उद्योग परिसंघ र नेपाल उद्योग वाणिज्य महासंघले विरोध गरेको थियो । २०४३ सालमा बाँसबारी छालाजुत्ता कारखाना र चौधरी परिवारबीच लगानी प्रवद्र्धन सम्झौता भएपछि सरकारी जग्गा निजी स्वामित्वमा पु¥याउने खेल सुरु भएको सीआईबीको दाबी छ । यसका लागि १० भदौ २०४३ मा थापाले सञ्चालक समितिको बैठक बसालेर चौधरी परिवारसँग मिलेर च्याम्पियन फुटवेयर लिमिटेड नामक कम्पनी खडा गरेको सीआईबीका वरिष्ठ प्रहरी उपरीक्षक ९एसएसपी० दिनेश आचार्यले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

च्याम्पियन फुटवेयर लिमिटेड खोल्न बाँसबारी छालाजुत्ता कारखानाका थापा र चौधरी परिवारका लुनकरणदास चौधरीबीच प्रवद्र्धन सम्झौता भएको समेत सीआईबीको अनुसन्धानबाट खुलेको बताइएको छ । ५१ प्रतिशत सेयर चौधरी परिवारको, २५ प्रतिशत बाँसबारी छालाजुत्ताको र बाँकी २४ प्रतिशत सर्वसाधारणको रहने सम्झौता भएको कागजातबाट देखिएको सीआईबीले जनाएको छ । २७ कात्तिक २०४३ मा च्याम्पियन फुटवेयर लिमिटेड कम्पनी रजिस्ट्रार कार्यालयमा दर्ता भएको थियो । ५ भदौ २०४४ मा बाँसबारी काराखानाको जग्गाको मूल्यांकन प्रतिरोपनी २ लाख ५० हजार गरेर १५ लाख रुपैयाँबराबरको ६ रोपनी जग्गा च्याम्पियनलाई हक हस्तान्तरण गरेको पनि आचार्यले बताए ।

बाँसबारी छालाजुत्ता कारखानाको कुल १८ रोपनी ३ आना २ पैसा जग्गा थियो । १८ मंसिर २०४४ मा बाँसबारी कारखानाको थप ४ रोपनी जग्गाको स्वामित्व च्याम्पियनमा सारिएको थियो । बाँसबारी जुत्ता कारखानाको तत्कालीन समितिले १० रोपनी जग्गा दिएर पनि २६ लाख रुपैयाँ लगानी गरेको तर चौधरीहरूले ८ लाख मात्र लगानी गरेको देखिएको सीआईबीको भनाइ छ ।

च्याम्पियन फुटवेयर कम्पनीको चालू पुँजी ५० लाख रुपैयाँ मात्र रहेकाले बाँसबारी खारखानाले आफ्नो २५ प्रतिशत सेयर हिस्साका लागि साढे १२ लाख रुपैयाँ मात्र लगानी गर्नुपर्नेमा २६ लाख किन लगानी ग¥यो भने प्रश्न उठेको छ । ५१ प्रतिशत सेयरवाला चौधरी परिवारले त जम्मा ८ लाख रुपैयाँ मात्रै लगानी गरेको भेटिएको सीआईबीले पत्रकार सम्मेलनमा स्पष्ट पारेको थियो । सर्वसाधारणका लागि २४ प्रतिशत सेयर जारी गर्नुपर्नेमा सोको प्रक्रिया नै अगाडि नबढाएकाले सो सम्झौता बाँसबारी जुत्ता कम्पनीको जग्गा हडप्ने उद्देश्यले प्रेरित देखिएको सीआईबीको निष्कर्ष रहेको छ ।

२०४३ सालमा खुलेको च्याम्पियन फुटवेयर २०४६ सालमै बन्द भएको थियो । २३ असार २०४९ मा अर्थ मन्त्रालयले बाँसबारी छालाजुत्ता कारखानालाई निजीकरण गर्ने निर्णय गरेको र त्यसपछि च्याम्पियन फुटवेयरले बाँसबारीको २५ प्रतिशत सेयर मात्रै किन्ने प्रस्ताव गरेको पनि देखिएको छ ।

बाँसबारीको २५ प्रतिशत सेयरको लिलामीको सूचना निकालेपछि ३६ लाख रुपैयाँमा अरुण चौधरीले खरिद गरेका देखिएको एसएसपी आचार्यले पत्रकार सम्मेलनमा उल्लेख गरे । ११ साउन २०५२ मा चौधरी परिवारमा बाँसबारीको सेयर गएको कागजातबाट देखिएको पनि उनले बताए ।

४ पुस २०५४ मा भने च्याम्पियन फुटवेयरलाई निजी कम्पनी प्रालिमा दर्ता गरिएको थियो । पब्लिक कम्पनीलाई १० वर्षपछि निजी कम्पनीका रूपमा परिणत गर्ने काम गरी जग्गाको स्वामित्व चाँदबाग रिसेडेन्सीको स्वामित्वमा पु¥याइएको सीआईबीले जनाएको छ ।

आफ्ना भाइ पक्राउ परेपछि नेपाली कांग्रेसका सांसद तथा चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले बाँसबारीको जग्गा प्रक्रियासंगत लिएको र सरकारले प्रतिशोध साँधेको आरोप लगाए । संसद्को राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा सांसद चौधरीले व्यापारीविरुद्ध सरकार लागेको आरोप लगाएका हुन् । राजधानीबाट

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया