९ माघ २०८१, बुधबार | January 23, 2025

मन्त्रिमण्डमा को हट्लान् को आउलान्


January 30, 2024
415
Shares

काठमाडौं, १६ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यसै महिना मन्त्रिमण्डल हेरफेर तथा पुर्नगठन गर्ने भएका छन् । यसको संकेत उनले आफ्नो एक वर्ष कार्यकाललगत्तै दिएका थिए ।

मन्त्रिहरुको कार्यमूल्यांकन गरी हेरफेर तथा हटाउने तयारी चलिरहेको छ । माओवादीबाट मन्त्री बनेकामा नारायणकाजी श्रेष्ठको मन्त्रालय हेरफेर हुने बुझिएको छ । उनी गृहबाट अन्यत्र लगिने वा हटाइने सम्भावना छ ।

शक्तिबहादुर बस्नेत, रेखा शर्मा, सुदन किराँती पनि हटाइने सूचीमा रहेका छन् । बस्नेतको अर्को मन्त्रालयमा सरुवा हुने सम्भावना रहेपनि शर्मा र किराँती हटाइने बुझिएको छ ।

नेपाली काँग्रेसबाट मन्त्री बनेकामध्ये पूर्णबहादुर खड्का, डा. प्रकाश शरण महत र एनपी साउद मात्र रहनेछन् । धनराज गुरुङ, मोहन बस्नेत, सीता गुरुङ, रमेश रिजाल, सुरेन्द्रराज आचार्यको ठाउँमा नयाँ मन्त्री ल्याइने बुझिएको छ ।
नेकपा एसबाट मन्त्री बनेका सबै परिवर्तन गरिदैछन् । वेदुराम भुषाल र प्रकाश ज्वाला फिर्ता हुने बुझिएको छ ।

जसपाबाट मन्त्री बनेकामध्ये अशोक राई, वीरेन्द्र प्रसाद महतो र अनिता देवीमध्ये कम्तिमा एकजना फिर्ता बोलाउने तयारी भइरहेको छ । उपप्रधानमन्त्री पाएमा उपेन्द्र यादव आफै सरकारमा जाने सम्भावना छ । तर, सरकारमा कुनैपनि उपप्रधानमन्त्री नराख्ने नीति ल्याउने तयारी चलिरहेको छ । त्यस्तो अवस्थामा पूर्णबहादुर खड्का, नारायणकाजी श्रेष्ठ पनि मन्त्रिपरिषद्मा रहनेछैनन् ।

नागरिक उन्मुक्ति पार्टीकी रञ्जिता श्रेष्ठको ठाउँमा नयाँ मन्त्री लाने तयारी भएको छ । महेन्द्र राय यादव, डिगबहादुर लिम्बू, शरद सिंह भण्डारीलाई पनि फिर्ता बोलाउने गृहकार्य उनीहरुको दलभित्र चलिरहेको छ ।

नयाँ मन्त्रीमा काँग्रेसबाट आरजु देउवा, चन्द्र भण्डारी, गगन थापा, उदय शमशेर राणालगायतको चर्चा छ । माओवादीबाट वर्षमान पुन, जर्नादन शर्मा, हितराज पाण्डेलगायत मन्त्रीको दौडमा छन् ।

प्रतिक्रिया